म सिक्छु, म लेख्छु
कहिलेकाहीँ यस्तो लाग्छ, यो संसारको सबभन्दा 'उल्लू' मान्छे मै हुँ!
कम्तिमा सेतोपाटी न्यूजरूमको सबभन्दा उल्लू पत्रकार त पक्कै मै हुँ!
मैले आफूलाई 'उल्लू' भनेर यही नामधारी पन्छीलाई हेप्न खोजेको होइन। छिट्टै कुरा नबुझ्ने, जुन कुरा पनि सप्रसंग व्याख्या र पृष्ठभूमिसहित बुझाउनुपर्ने बोधो दिमाग भएको मान्छेलाई 'उल्लू' भन्ने जुन चलन छ, त्यही आधारमा मैले यो शब्द प्रयोग गरेको हुँ।
व्यवहारमा त सायद, चकमन्न रातमा पनि चकाचौंध देख्न सक्ने त्यो पन्छी हामीभन्दा कता हो कता चलाख!
न्यूजरूममा मैले प्रदर्शन गरेको उल्लूपनका कयौं उदाहरण छन्। सबै उदाहरण त लेखेरै साध्य छैन।
तिनैमध्ये हालैको एउटा उदाहरणबाट स्टोरी सुरू गर्न चाहन्छु —
हाम्रो बिजनेस टिमका साथीहरूले एकदिन समाचार लेखे — 'नेप्सेमा दोहोरो अंकको करेक्सन'।
मैले ग्रुप मेसेजमा समाचारको लिंक हाल्दै सोधेँ, 'दोहोरो अंकको करेक्सन भनेको के हो?'
त्यो समाचार सेयर बजार घटेको विषयमा थियो। त्यसैले यो पनि सोधेँ, 'के सेयर कारोबार घट्नु भनेको करेक्सन हुनु हो? यसको मतलब त बढ्नु गलत भयो, अनि घट्नु चाहिँ करेक्सन, कसो?'
चार मिनेटपछि बिजनेस टिमका साथीहरूले जबाफ लेखे, 'दुई–तीन दिन लगातार बढेपछि अर्को दिन घट्दा करेक्सन लेख्न मिल्छ दाइ!'
म एक्लै फिस्स हाँसे, अनि हाँसोको इमोजीसहित लेखेँ, 'म जस्तो उल्लूले त यो कुरा बुझ्दैन नि! घट्यो वा बढ्यो भनेर लेख्नु नै राम्रो। हरेक उल्लूले सजिलै बुझ्छ।'
साथीहरूले मेरो मेसेजमा 'लभ' मारे, अनि समाचारको हेडलाइन सच्याए।
यहाँ बिजनेस टिमका साथीहरूले प्रयोग गरेको 'करेक्सन' शब्द प्राविधिक रूपमा सही नै हो, तर यही शब्द पढेर मजस्तो अप्राविधिक मान्छेको दिमाग रिंगिन्छ भने त्यसबाट छुट्कारा किन नलिने?
यस्ता प्राविधिक विषयमा समाचार वा स्टोरी लेख्दा जटिल शब्दहरू प्रयोग नगरी बोलीचालीको भाषामा व्याख्या किन नगर्ने?
ताकि, मजस्ता उल्लूले पनि सजिलै पढ्न सकून्, सजिलै बुझ्न सकून्!
मैले यहाँ 'उल्लू' शब्द जसरी प्रयोग गरेको छु, त्यो मेरो आफ्नो सिर्जना होइन। मैले यो एक जना विदेशी पत्रकारबाट सापट लिएको हुँ।
मलाई यो शब्द यो रूपमा प्रयोग गर्न सिकाउने विदेशी पत्रकार हुन् — एलन जोन।
एलन सिंगापुरका पत्रकार हुन्।
सिंगापुरको राष्ट्रिय दैनिक 'द स्ट्रेट्स टाइम्स' मा करिब चालीस वर्ष पत्रकारिता गरेका उनी सन् २०१५ मा रिटायर्ड भए। रिटायर्ड हुँदा अखबारका सेकेन्ड–म्यान थिए। उनले करिअरको धेरैजसो समय समाचार सम्पादनमा बिताए। रिपोर्टरहरूले लेखेका स्टोरी सपार्न र सिँगार्नमै उनको टक बस्यो।
उनी अहिले सिंगापुरमा बसेर हङकङको 'साउथ चाइना मर्निङ पोस्ट' का लागि समाचार सम्पादन गर्छन्। स्ट्रेट्स टाइम्समा युवा पत्रकारहरूलाई तालिम दिन पनि गइरहन्छन्।
एलनसँग मेरो पहिलो भेट सन् २०१५ मा भएको थियो। उनी भर्खर पूर्णकालीन पत्रकारिताबाट रिटायर्ड भएर 'एसियन जर्नालिजम फेलोसिप' को निर्देशकका रूपमा हामीलाई गाइड गर्न आएका थिए। पछि २०१७ र २०२४ मा त्यही फेलोसिपका अन्य कार्यक्रममा भेट्दा मैले एलनसँग लामो सवालजबाफ गर्ने मौका पाएँ।
त्यसबाहेक यो स्टोरीकै लागि ह्वाट्स एपमा छुट्टै कुराकानी पनि गरेको छु।
अरूको पत्रकारिता र लेखनबाट नै हाम्रो पत्रकारिता र लेखन सिसाकलमझैं तिखारिन्छ भन्ने मेरो बुझाइ छ। त्यसैले पत्रकारिता र लेखनसँग जोडिएका विभिन्न विषयमा अन्तर्राष्ट्रिय पत्रकारहरूसँग सिक्न यो शृंखला सुरू गरेको छु।
म सिक्छु; अनि जे सिक्छु, त्यो लेख्छु।
यसअघि शृंखलाको पहिलो अंकमा बिबिसी लन्डनमा वातावरण/जलवायु विशेषज्ञका रूपमा कार्यरत ग्लोबल रिपोर्टर नवीनसिंह खड्कासँग कुरा गरेको थिएँ।
यो अंक त्यसैको निरन्तरता हो।

न्यूजरूममा बिताएका चालीस वर्षमा एलनले थुप्रै पत्रकार भोगेका छन्।
पत्रकारहरूको करिअर शून्यबाट सयमा उक्लेको देखेका छन्, सयबाट शून्यमा झरेको देखेका छन्। करिअर बनेको देखेका छन्, बिग्रेको पनि देखेका छन्।
एलनसँगको मेरो सिकाइ पत्रकारको करिअरमा आउने यस्तै उतारचढावमा केन्द्रित छ।
मेरो पहिलो सिकाइ — पत्रकारहरूले करिअरमा के गल्ती गर्छन्? सयबाट शून्यमा कसरी झर्छन्?
एलनले आफ्नो अनुभवका आधारमा मुख्य तीनवटा गल्ती औंल्याए।
पहिलो गल्ती —
अक्सर केही वर्ष काम गर्नासाथ, केही राम्रा स्टोरी लेख्नासाथ, केही गन्यमान्यसँग चिनजान हुनासाथ र केही ठूला कार्यक्रमको निम्तो पाउनासाथ धेरै पत्रकार आफूलाई 'खतरै' ठान्न थाल्छन्। म जस्तो लेख्ने त कोही छैन भन्ने दम्भले उसको दिमागलाई दबोच्न थाल्छ।
जब यस्तो दम्भ आउँछ, ऊ सानोतिनो विषयमा ध्यान दिन छाड्छ।
उसको पत्रकारिताप्रति उत्साह घटेको हुँदैन, काम गर्ने जाँगर तुहिएको हुँदैन, स्टोरी खोज्ने हुटहुटी मरेको पनि हुँदैन; तर आँखामा पर्दा चढेको हुन्छ।
ऊ सानोतिनो विषयलाई स्टोरी नै ठान्दैन। सधैं सरकार हल्लाउने, देशमा तरंग ल्याउने ठुल्ठूलो विषयको खोजीमा लागिरहन्छ। पत्रकारिताको भाषामा भन्दा ऊ सधैं 'स्कुप' मार्ने रनाहामा हुन्छ।
पत्रकारले यस्तो रनाहा पाल्नु नराम्रो पक्कै होइन। म खतरा स्टोरी लेख्छु भन्ने सोचाइ त हरेक पत्रकारमा हुनैपर्छ। समस्या तब सुरू हुन्छ, जब पत्रकारले म खतरा स्टोरी मात्र लेख्छु, त्योबाहेक सानोतिनो विषयमा अल्झिने काम मेरो होइन भनेर सोच्न थाल्छ।
'सरकार हल्लिने वा देशभरि तरंग ल्याउने स्टोरी कहिलेकाहीँ मात्र हात पर्ने हुन्। त्यस्ता स्टोरीका पछाडि दौडेर अरू कुरा बेवास्ता गर्दा पत्रकारको बाइलाइन स्वाभाविक रूपले घट्दै जान्छ,' एलनले भने, 'जब बाइलाइन घट्दै जान्छ, उसको चर्चा कम हुन्छ। जब चर्चा कम हुन्छ, उत्साह र उत्प्रेरणा मर्दै जान्छ। यसले खतरा पत्रकार पनि सयबाट शून्यमा झर्न कत्ति बेर लाग्दैन।'
यसको समाधान के त?
जबाफमा एलनले भने, 'हरेक पत्रकारले बुझ्नुपर्यो — मेरो स्टोरीले ठूलो राजनीतिक हलचल ल्याउनुपर्दैन। ठूलो रहस्य खोल्नुपर्दैन। ठूलो स्कुप मार्नुपर्दैन। ठुल्ठूलो तहल्का पिट्ने स्टोरी मात्र लेख्छु भनेर पर्खेर बस्ने मान्छे कहिल्यै राम्रो पत्रकार बन्न सक्दैन।'
उनका अनुसार राजनीतिक हलचलका स्टोरीले भन्दा आममान्छेका कथाले समाजलाई बढी छुन्छ। समाजमा परिवर्तन ल्याउने त्यस्तै स्टोरीले हो।
आममान्छे के गरिरहेका छन्? उनीहरूको संघर्ष के छ? दुःख के छ? उनीहरूको विगत कस्तो थियो? वर्तमान कस्तो छ? उनीहरू के सपना देखिरहेका छन्? जिन्दगीमा के प्रगति गरेका छन्? प्रगति गर्न नसकेका भए किन सकेनन्? केले अवरोध ल्यायो? अवरोधको कारण सरकार हो कि प्रशासन? नीति हो कि भ्रष्टाचार?
आममान्छेको जीवनसँग जोडिएका यस्ता कथाले समाज र सरकार दुवैको आँखा खोल्ने एलनको भनाइ छ।
'एउटा मान्छेको कथाले अर्को मान्छेलाई प्रेरित गर्छ, आड दिन्छ। दुःख भोग्ने मै मात्र होइन रहेछु भन्ने थाहा दिन्छ। हामी सबै उही समस्यासँग जुधिरहेका रहेछौं, उही डुंगामा सवार रहेछौं भन्ने अनुभूति गराउँछ,' उनले भने, 'सरकारी नीति, प्रशासनिक अड्चन वा भ्रष्टाचारले आममान्छेको प्रगतिमा बाधा ल्याइरहेको रहेछ भने त्यसलाई सुधार्न दबाब पनि दिन्छ।'
उदाहरणका लागि —
सहरको एउटा कुनामा कुनै आममान्छेले सामान्य पसल वा रेस्टुरेन्ट खोल्यो। त्यो रेस्टुरेन्टसँग उसको सपना जोडिएको हुन्छ। रेस्टुरेन्ट खोल्दा के–कस्ता अड्चन आए? प्रशासनिक अड्चन कति आए? आर्थिक अड्चन कति आए? सरकारी कर्मचारीलाई घुस खुवाउनुपर्यो कि परेन? प्रहरी आएर दुःख दिन्छ कि दिँदैन? टोले गुन्डाहरूले सताउँछन् कि सताउँदैनन्? बैंकसँग ऋण लिनुपर्यो कि परेन? ऋण लिँदा सहज–असहज के भयो? रेस्टुरेन्टलाई चाहिने सरसामग्री खरिदमा गाह्रो–साह्रो के छ?
यस्ता प्रश्नको जबाफ खोज्दै लेखिने समाचारले आममान्छे र उसको रेस्टुरेन्टको कथा मात्र भन्दैन, रोजीरोटीसँग जोडिएको बृहत् तस्बिर देखाउँछ।
सरकारी नीति, प्रशासनिक अड्चन, भ्रष्टाचार र बैंकिङ अवस्था पनि उजागर गर्छ।
'राजनीतिक उथलपुथल, अनियमितता र भ्रष्टाचारका कथाले दीर्घकालीन रूपमा समाज परिवर्तन गर्छ कि गर्दैन म भन्न सक्दिनँ। आममान्छेको कथाले भने सरकार नहल्लिए पनि समाजमा ऊर्जा भर्ने काम पक्कै गर्छ। यसले नदेखिँदो किसिमले समाजमा परिवर्तन ल्याइरहेको हुन्छ,' एलनले भने।
सबभन्दा ठूलो कुरा त, आममान्छेको कथा खोज्न र लेख्न सजिलो छ। यस्ता समाचार लेख्ने पत्रकारको बाइलाइन कहिल्यै कम हुँदैन। उसको चर्चा र उत्साहमा कहिल्यै कमी आउँदैन। त्यही उत्साहले अन्य ठुल्ठूला घटना खोज्ने जाँगर पनि दिन्छ।
त्यसैले, एलनको शब्दमा भन्दा, 'पत्रकारको काम आँखैअगाडि भइरहेका साना गतिविधिमा ध्यान दिइरहने र ती गतिविधिमा स्टोरी लेखिरहने हो। आँखाले नदेख्ने ठूला घटनाको खोजीमा मात्र निरन्तर लागेर सारा ऊर्जा र समय त्यसैमा बर्बाद गर्ने होइन।'
दोस्रो गल्ती —
पत्रकारितामा भिज्दै जाँदा पत्रकारहरू दैनिक काममा यति व्यस्त हुन्छन्, उनीहरूमा नयाँ सिप सिक्ने, पढ्ने वा ज्ञानको दायरा विस्तार गर्ने जाँगर कम हुन्छ।
उनीहरू आफूले जानेको कुरालाई नै 'अन्तिम सत्य' मान्न थाल्छन्। यसले पत्रकारको क्षमता संकुचित गराउँछ। विषयवस्तु छनौट, रिपोर्टिङ र लेखनमा नयाँपन आउँदैन।
'राम्रो पत्रकारको गुण भनेको सधैं सिक्ने हो,' एलनले भने, 'मेरो अनुभवमा १० जना पत्रकारमध्ये एक जना मात्र यस्ता हुन्थे, जो आफूले लेखेको स्टोरी कसरी सम्पादन भयो र कसरी छापियो भन्नेमा सचेत रहन्थे। उनीहरू छापिएको स्टोरी पढेर मसँग कुरा गर्न आउँथे। किन त्यसरी सम्पादन गरियो, किन त्यसरी लेखियो भनेर मसँग बहस गर्थे।'
उनले अगाडि भने, 'हामी हरेक पत्रकारलाई उनीहरूको स्टोरी किन त्यसरी सम्पादन गरियो भनेर बुझाउँदै हिँड्दैनौं। तर पत्रकार स्वयं कुरा गर्न आउँछन् भने खुसी खुसी बुझाउँछौं। त्यस्ता पत्रकारले पुराना गल्ती दोहोर्याउँदैनन्। हरेक स्टोरीसँगै उनीहरूको लेखाइ माझिँदै जान्छ।'
तेस्रो गल्ती —
पत्रकारहरूमा आफूबाहेक अरूले लेखेको पढ्दै नपढ्ने समस्या पनि हुन्छ।
बरू लेखकहरू संसारभरका किताब पढिरहेका हुन्छन्। अरूको लेखनबाट सिकिरहेका हुन्छन्। कसरी राम्रो लेख्ने भनेर घोत्लिरहेका हुन्छन्। पत्रकारमा भने देशभित्र र बाहिरका रिपोर्टिङ पढेर सिक्ने त परै जाओस्, आफ्नै सहकर्मी साथीहरूको स्टोरी पढ्ने जाँगर पनि कम हुन्छ।
'पत्रकार भनेको अरूको लेखाइ पढेर प्रशंसा गर्न हिच्किचाउने प्राणी हो। हामी आफूसँग सरोकार नभएका विषय कमै पढ्छौं। किताब पढ्ने त फुर्सतै हुँदैन,' उनले भने, 'जबसम्म हामी अरूलाई पढेर सिक्न खोज्दैनौं, तबसम्म ज्ञानको दायरा कसरी फराकिलो हुन्छ?'
सिकाइ र अध्ययनको सन्दर्भमा एलन पत्रकारितालाई चौबीस–घन्टे ड्युटी मान्छन्।
मान्छे भेट्नु, रिपोर्टिङ गर्नु र स्टोरी लेख्नु मात्र पत्रकारको काम होइन। देश–दुनियाँका खबर पढेर 'अपडेटेड' रहनु र आफूले रिपोर्टिङ गर्ने विषयसँग सम्बन्धित प्रतिवेदन र किताबहरू पढ्नु पनि उसको दैनिक कामभित्रै पर्छ।
यसबाहेक नयाँ पुस्तासँग अभ्यस्त रहन नयाँ नयाँ प्रविधि सिक्ने हुटहुटी पनि पाल्नुपर्ने एलन बताउँछन्।
उनलाई आफू सक्रिय पत्रकार भएकै बेला अनलाइनको प्राविधिक सिप नसिकेकामा थकथकी लागिरहन्छ। उनी न्यूजरूममा सक्रिय छँदै डिजिटल पत्रकारिता युग सुरू भइसकेको थियो। केही युवा पत्रकारले भिडिओ, ग्राफिक्स लगायतमा रूचि देखाइसकेका थिए। एलनले भने खासै रूचि देखाएनन्।
यसले आफू मात्र होइन, आफ्नो पुस्ताका धेरै पत्रकार पछाडि परेको उनको बुझाइ छ।
'लेखनबिना पत्रकार हुन सकिँदैन, तर राम्रो पत्रकार बन्न अब लेखन सँगसँगै प्राविधिक ज्ञान पनि जरूरी छ,' उनले भने, 'अखबार वा अनलाइनमा छापिने लामा लामा स्टोरी पढ्ने जमात आफ्नो ठाउँमा छँदैछ, त्यसबाहेक भिडिओ मात्र हेर्ने र पडकास्ट मात्र सुन्ने जमात बढ्दैछ। पत्रकारले बदलिँदो युगसँग सान्दर्भिक भइराख्ने हो भने भिडिओ पनि देखाउनुपर्छ, पडकास्ट पनि सुनाउनुपर्छ।'
अहिले टिकटक र फेसबुकमा समाचार हेर्ने ट्रेन्ड छ। मान्छे घन्टौं घन्टा टिकटकमा झुन्डिएर बस्छन्। उनीहरूसँग धैर्य कम छ। केही सेकेन्ड पनि एउटै दृश्यमा अडिँदैनन्। तिनको ध्यान खिच्ने हो भने पत्रकारले केही सेकेन्डमै आफ्नो स्टोरी भन्न सिक्नुपर्छ। शरीर र स्वरको हाउभाउका साथ स्टोरी देखाउन जान्नुपर्छ।
'जसले यो कला जान्यो, ऊ अगाडि बढ्यो,' एलनले भने।
दोस्रो सिकाइ — राम्रो पत्रकार हुन लेखनमा दक्षता चाहिन्छ कि रिपोर्टिङमा?
एलनले विभिन्न क्षमताका रिपोर्टरसँग काम गरेका छन्। कसैको लेखन उम्दा हुन्छ, रिपोर्टिङ औसत। कोही भने रिपोर्टिङमा सिपालु हुन्छन्, लेखन औसत।
उनकै शब्दमा भन्दा, 'भाँती पुर्याएर रिपोर्टिङ गर्नु र त्यसलाई सबैले बुझ्ने गरी भाँती पुर्याएर लेख्नु दुई अलग गुण हुन्। यी दुवै गुण एकै व्यक्तिमा भेट्न मुस्किल हुन्छ।'
उनले यो भनाइ यसरी व्याख्या गरे —
'मैले कति पत्रकार भेटेको छु, जसमा रिपोर्टिङ गर्ने रनाहा हुन्छ। त्यस्तो रनाहा मैले आफूमा कहिल्यै विकास गर्न सकिनँ। उनीहरू दिनभरि मान्छे भेट्छन्। आफूले फलो गरिरहेको स्टोरीको भित्री तहसम्म पुग्छन्। उनीहरूमा स्टोरी खोज्ने भोक हुन्छ। तर जब त्यही स्टोरी लेख्न बस्छन्, कहाँ हराउँछन् कहाँ? आफैले खोजेर ल्याएको सूचना सही ढंगमा पस्कने खुबी उनीहरूमा हुँदैन।'
'अर्कातिर, कति यस्ता पत्रकार भेटेको छु, जो एकदमै राम्रो लेख्छन्। जतिसुकै कठिन विषय पनि सरल ढंगले लेख्ने खुबी राख्छन्। मैले त्यस्तो राम्रो पनि जिन्दगीमा कहिल्यै लेख्न सकिनँ। तर जब रिपोर्टिङको कुरा आउँछ, उनीहरू आफूले फलो गरिरहेको स्टोरीको भित्री तहसम्म पुग्न सक्दैनन्। उनीहरूसँग सूचनाको स्रोत कम हुन्छ। निरन्तर मान्छे भेटिरहने, कुरा गरिरहने जाँगर कम हुन्छ।'
उनी व्यक्तिगत रूपमा लेख्ने दक्षता भएको पत्रकारभन्दा रिपोर्टिङ गर्न सिपालु पत्रकार मन पराउँछन्।
यसको पछाडि पनि कारण छ।
'पत्रकारले रिपोर्टिङ राम्रो गर्यो र चाहिनेजति सबै सूचना बटुलेर ल्यायो भने त्यसलाई सम्पादकले राम्रो समाचारमा ढाल्न सक्छ। रिपोर्टिङ नै कमजोर भयो भने जतिसुकै राम्ररी लेखिएको समाचारको पनि मतलब हुँदैन,' उनले भने।
'जब म कुनै स्टोरी सम्पादन गर्न बस्छु, मैले सोधेका हरेक प्रश्नको जबाफ रिपोर्टरसँग हुनुपर्छ। उसले त्यो स्टोरीसँग जोडिएका हरेक पक्ष खोतलेको हुनुपर्छ। पृष्ठभूमि खोजेको हुनुपर्छ। प्रशस्त मान्छे भेटेको हुनुपर्छ। त्यसो भयो भने म रिपोर्टरले लेखेको नराम्रो स्टोरीलाई पनि राम्रो बनाइदिन सक्छु।'
'रिपोर्टरसँग मेरो प्रश्नको जबाफ छैन, विषयवस्तु खोतलेको छैन, पृष्ठभूमि खोजेको छैन, चाहिने मान्छेहरू भेटेको छैन भने कुनै पनि सम्पादकले त्यो स्टोरी राम्रो बनाउन सक्दैन। स्टोरी भनेको सूचनाले बन्छ, रचनाले मात्र होइन,' उनले भने।
यति हुँदाहुँदै उनी प्रभावकारी ढंगले सूचना पस्कन केही न केही रचना कौशल हुनैपर्ने बताउँछन्।
'पत्रकार भएपछि एक हदसम्म लेख्न त जान्नैपर्छ। आफूले ल्याएका सूचना, पृष्ठभूमि र उद्धरणलाई कुनै तारतम्य नमिलाई बुँदागत रूपमा थुपार्ने काम मात्र गरेको छ भने त्यस्तो स्टोरी बनाउन धेरै समय लाग्छ। न्यूजरूमको व्यस्तताबीच बुँदाबाट समाचार बनाइदिने फुर्सत सम्पादकहरूलाई हुँदैन। सम्पादकले नै सबै समाचार लेखिदिने हो भने रिपोर्टरको बाइलाइन किन राख्ने?' उनले प्रश्न गरे।
'सम्पादनका क्रममा धेरै गल्ती हुने यस्तै लेखाइले हो। सूचना सही ढंगले लेखिएको छ, पृष्ठभूमि सरल छ र उद्धरण पनि ठिक ठिक उतारिएको छ भने सम्पादकलाई त्यस्तो स्टोरीमा काम गर्न जाँगर आउँछ।'
उनले यो पनि भने, 'सम्पादकका रूपमा म हरेक दिन न्यूजरूममा पसेपछि यस्तो स्टोरीको पर्खाइमा हुन्छु, जुन सूचनाले भरिएको होस् र राम्ररी लेखिएको पनि होस्। त्यस्तो स्टोरी पढ्न पाएँ भने मलाई दिन बन्यो भन्ने लाग्छ। त्यसलाई थप परिमार्जन र परिस्कृत बनाउन पाउँदा आनन्द लाग्छ। म त्यो रिपोर्टरलाई भेटेर बधाई पनि दिन्छु।'
यही सिलसिलामा उनले मलाई तेस्रो पाठ सिकाए।

तेस्रो सिकाइ — पाठकको ध्यान तान्ने गरी कसरी लेख्ने? कसरी सम्पादन गर्ने?
एलनका अनुसार कुनै पनि पत्रकारले लेख्न बस्दा एउटा आधारभूत गल्ती गर्छ — ऊ व्यावहारिकबाट बौद्धिकमा रूपान्तरण हुन्छ।
परापूर्वकालदेखि मान्छे मुखले कथा सुनाएर हुर्केको प्राणी हो। आपसी संवाद नै सूचना आदानप्रदानको परम्परागत माध्यम हो। त्यसैले मान्छे बोल्न सहज महसुस गर्छ। बोलेर कुरा सुनाउन सहज ठान्छ।
लेखन भनेको मान्छेले समयक्रममा विकास गरेको ज्ञान हो। जब मान्छेले लेखपढ गर्न जान्यो, तब मात्र लेख्ने कला सिक्यो। आज पनि हाम्रा बाजेबज्यै वा अघिल्लो पुस्ताका धेरैलाई लेख्न आउँदैन, तर कथा सुनाउन पारंगत हुन्छन्।
हो, यही कारणले जब कुनै व्यक्ति वा पत्रकार लेख्न बस्छ, उसको दिमागले 'अब म बौद्धिक अभ्यासमा लागेँ' भनेर सोच्न थाल्छ। यस्तो सोचले बौद्धिक अभ्यासका तन्तु सक्रिय हुन्छन्। बौद्धिक अभ्यास भनेको जटिल कुरा हो, विद्वानले मात्र गर्ने काम हो भन्ने दिमागलाई पर्छ। त्यसपछि मान्छे सरल रूपमा सोचेको कुरा पनि बौद्धिक ढंगले प्रस्तुत गर्न थाल्छ। सामान्य शब्दमा भन्न सकिने कुरालाई जटिल बनाउँछ। सिधा भन्न सकिने कुरालाई घुमाउन थाल्छ। लेखनको समस्या यहीँबाट सुरू हुन्छ।
एलनसँग यो समस्याको हल छ —
'तपाईं जुन स्टोरीमा काम गर्दै हुनुहुन्छ, सबभन्दा पहिला त्यो स्टोरी आफ्ना सिनियर, सम्पादक वा साथीलाई सुनाउनुस्। कसैले पनि स्टोरी सुनाउँदा घुमाइफिराइ सुनाउँदैन। जटिल शब्द प्रयोग गर्दैन। एकदमै सललल बग्ने गरी सुनाउँछ, मानौं कथा भन्दै छ।'
'यत्ति गर्न सक्नुभयो भने तपाईं लेखनको पहिलो चरणमा पास हुनुभयो। अब कम्प्युटर अगाडि बसेर त्यसरी नै स्टोरी लेख्नुस्, जसरी सुनाउनुभएको थियो। फूलबुट्टा भर्न जरूरी छैन। घटना घुमाइफिराइ गर्न जरूरी छैन। नदीजस्तै सललल बग्ने गरी सोच्नुस् र त्यसरी नै लेख्नुस्। त्यही हो राम्रो लेखाइ भनेको।'
यति भनेर यी अनुभवी पत्रकारले राम्रो लेखनका केही सूत्र सिकाए।
पत्रकारिताको परम्परागत सिद्धान्तअनुसार कुनै पनि स्टोरी लेख्दा सुरूआतमै 'फाइभ–डब्लूएच' अर्थात् के, किन, को, कहाँ, कहिले र कसरी भन्ने प्रश्नको जबाफ खुल्नुपर्छ भन्ने मान्यता छ। हामीले लामो समयदेखि यही सूत्र पछ्याउँदै आयौं। तर अनलाइन र इन्टरनेटको दुनियाँमा अब 'फाइभ–डब्लूएच' को सूत्र काफी छैन।
हतारमा रहेका अधैर्यवान पाठकलाई स्टोरी पढाउन रिपोर्टर/सम्पादकले सूचना पस्कने शैली रचनात्मक बनाउनुपर्ने उनको भनाइ छ।
'कुनै पनि स्टोरीमा फाइभ–डब्लूएच त हुनैपर्यो, त्यो समाचार लेखनको आत्मा नै भइहाल्यो। तर त्यसलाई कसरी प्रस्तुत गर्यो भने पाठकहरू सुरूदेखि अन्तसम्म बाँधिएर बस्छन् भन्नेमा रिपोर्टर/सम्पादकले ध्यान दिनुपर्छ,' उनले भने।
पाठकलाई सुरूदेखि अन्तसम्म बाँधेर राख्न उनले दुइटा सूत्र सुझाएका छन् —
पहिलो सूत्र —
स्टोरीको सुरूआतमै महत्त्वपूर्ण सूचनाहरूको हाइलाइट्स दिएर पाठकको अभिरूचि जगाउने, तर त्यो सूचनाबारे पूर्ण व्याख्या नगर्ने।
स्टोर बुन्दै जाने क्रममा एकपछि अर्को सूचना बिस्तारै खोल्ने र व्याख्या गर्ने।
'यसो गर्दा स्टोरीमा के–के पढ्न पाइन्छ भनेर पाठकले सुरूमै थाहा पाउँछन्। ती कुरा विस्तृतमा पढ्ने अभिरूचिले पाठकलाई सुरूदेखि अन्तसम्म बाँधेर राख्छ,' एलनले भने।
दोस्रो सूत्र —
स्टोरीमा भएका सूचना एकैचोटि पाठकलाई नदिने, बरू ठाउँ ठाउँमा नयाँ सूचना राख्दै पाठकलाई 'सरप्राइज' गर्ने।
यसलाई एलन '३० सेकेन्डको शैली' भन्छन्।
यसमा पत्रकारले आफूसँग भएका सूचनाको जालो बुन्नुपर्छ र प्रत्येक ३० सेकेन्डमा नयाँ सूचना दिएर पाठकलाई छक्क पार्नुपर्छ। यसरी नै सूचनाको माकुरीजालो उन्दै लैजान सक्यो भने 'अब के होला' भन्ने कौतूहलले पाठकहरू सुरूदेखि अन्तसम्म बाँधिने उनी बताउँछन्।
'यस्ता सूत्र अनेक हुन सक्छन्। हरेक स्टोरीमा एउटै सूत्रले काम गर्छ भन्ने छैन,' उनले भने, 'लेखन शैली भनेको पत्रकारले आफै अभ्यास गर्दै, सिक्दै जाने कुरा हो। जति अभ्यास गर्यो, शैली उति परिस्कृत हुँदै जान्छ। लेखनको नयाँ नयाँ आइडिया आउने यसरी नै हो।'
'पत्रकारिता वा लेखन भनेको एक्लै काम गर्ने पेसा हो। हरेक पत्रकार आफ्नो स्टोरीमा एक्लै काम गरिरहेको हुन्छ। त्यसैले लेखाइ कसरी सुधार्ने भन्ने उसको आफ्नै चुनौती हो। राम्रो पत्रकार बन्नुछ भने यो चुनौती त मोल्नैपर्छ,' उनले भने।
लेखन सूत्रकै कुरा गर्दा एलनले यो पनि सिकाए — पत्रकारितामा विज्ञहरूले प्रयोग गर्ने कानुनी, प्रशासनिक वा प्राविधिक भाषालाई स्थान दिनु हुँदैन।
उनको भनाइ छ, 'पत्रकारले आमपाठकलाई बुझाउने उद्देश्यले लेख्नुपर्छ, विज्ञहरूलाई खुसी पार्न होइन।'
उनी भोलिपल्ट बिहान निस्कने अखबारका लागि आधा रातसम्म समाचार सम्पादन गरिरहँदा आफ्ना रिपोर्टरलाई यही भन्थे र उल्लूको त्यही थेगो सुनाउँथे, जुन मैले स्टोरीको सुरूमा प्रयोग गरेँ।
उदाहरणका लागि —
उनी एकचोटि उच्च न्यायालयमा सुनुवाइ भइरहेको मुद्दाबारे स्टोरी सम्पादन गर्दै थिए।
रिपोर्टरले कानुनका दफा–उपदफा र बहसमा वकिलले प्रयोग गरेका कानुनी भाषा यस्तरी लेखेका थिए, कानुनविदले बाहेक अरूलाई बुझ्न गाह्रै थियो।
एलनले आफ्नो रिपोर्टरलाई ती दफा–उपदफा हटाउन भने। वकिलले प्रयोग गरेका कानुनी भाषा पनि सरल बनाउन लगाए।
रिपोर्टरले भने, 'यति सानो कुरा त जसले पनि बुझिहाल्छ नि!'
एलनको जबाफ थियो, 'जसले पनि बुझ्लान्, तर मजस्ता धेरै उल्लूले बुझ्दैनन्।'
एकदिन यस्तै गलफत्ती बिजनेस रिपोर्टरसँग भयो।
ती रिपोर्टरले अर्थशास्त्रका प्राविधिक शब्दावली भरमार प्रयोग गरेका थिए।
रिपोर्टरको तर्क थियो, 'आर्थिक समाचार पढ्ने जसलाई पनि यस्ता शब्दको ज्ञान हुन्छ। सरलीकरण गर्यौं भने भाव हराउँछ। अर्थशास्त्र बुझेकाहरू समाचार पढेर हाँस्ने छन्।'
जबाफमा एलनले भने, 'म पनि आर्थिक समाचार पढ्छु। तर म उल्लूलाई यसको ज्ञान छैन। तिमीले मलाई बुझाउन समाचार लेख्ने कि अर्थशास्त्रीहरूलाई?'
उनले यो पनि भने, 'मलाई अर्थशास्त्र बुझेकाहरू हाँस्लान् भन्ने त्यति चिन्ता छैन, जति चिन्ता अर्थशास्त्र नबुझ्ने आमपाठकहरू यो स्टोरी पढेर रोलान् भन्नेमा छ।'
रिपोर्टर नाजबाफ भए।
एलनले अर्थशास्त्रका प्राविधिक शब्द जम्मै हटाइदिए। र, समाचारलाई बोलीचालीको भाषामा ढाले।
'भोलिपल्ट एक जना पनि अर्थशास्त्री यो स्टोरी किन यसरी लेखेको, हाम्रो अर्थशास्त्रको भाषा किन बिगारेको भनेर गाली गर्न आएनन्,' उनले भने।
'हामी पत्रकारलाई आमपाठकको भन्दा बढी चिन्ता ठुल्ठूला विज्ञहरूको हुन्छ। पाठक रिसाए रिसाऊन्, उनीहरूले समाचार नबुझे नबुझून्; तर विज्ञहरूका अगाडि हामीलाई जान्ने साबित हुनुछ। समाचार लेखनको मुख्य समस्या यहीँबाट सुरू हुन्छ।'
सम्पादन गर्दा पनि यिनै कुरा ध्यानमा राख्नुपर्ने एलनको सुझाव छ।
उनी रिपोर्टरले ल्याएका कनिकायुक्त चामल छान्ने सम्पादकहरूको झन्झटिलो कामप्रति पूर्ण सहानुभूति प्रकट गर्छन् र भन्छन्, 'रिपोर्टरले कुनै तारतम्य नमिलाई, सूचनाहरू जथाभाबी छरेर लेखेका समाचार राम्रो बनाउनु सामान्य काम हुँदै होइन। सम्पादन गर्ने खुबी धेरैमा होला, तर छोटो डेडलाइनभित्र सारा कनिका पन्छाएर सग्लो चामल मात्र छान्ने खुबी न्यूजरूममा काम गर्ने सम्पादकसँग मात्र हुन्छ।'
'किताब सम्पादन गर्नेहरू पाण्डुलिपि दोहोर्याइ–तेहर्याइ पढ्छन्, अनि बल्ल सम्पादन गर्न थाल्छन्। न्यूजरूममा त्यस्तो फुर्सत कसैलाई हुन्न। हामी हरेक वाक्य पढ्दै जान्छौं, सच्याउँदै पनि जान्छौं। सँगसँगै, स्टोरीको लय मिलाउँदै जान्छौं। माथिको कुरा तल, तलको कुरा माथि सार्दै पनि जान्छौं। यस्तो काम न्यूजरूम सम्पादकबाहेक अरूले विरलै गर्न सक्छन्।'
'यसका बाबजुद सम्पादन भनेको पर्दापछाडि बसेर गरिने काम हो। सम्पादकले राम्रो बनाइदिएको समाचारका कारण रिपोर्टरको वाहवाही हुन्छ, नाम हुन्छ, अवार्ड पनि थाप्छन्। सम्पादकलाई भने राम्रो काम गर्यौ भनेर जस दिने पनि कोही हुँदैन,' उनले भने।
'मैले आफ्नो करिअरमा धेरैजसो समय अर्काको स्टोरी सम्पादन गरेर बिताएँ। पुनर्लेखनमै मेरो जिन्दगी बित्यो। मैले मेरो कामको क्रेडिट कहिल्यै पाइनँ। संसारभरका सम्पादकलाई यस्तै हुन्छ। हामीलाई कुनै दिन एक जना रिपोर्टरले 'तपाईंले मेरो स्टोरी राम्रो बनाइदिनुभयो' भन्न आए, त्योभन्दा ठूलो खुसी केही हुँदैन। हाम्रो कामबाट कुनै एक जना रिपोर्टरको लेखनमा पनि सुधार आए, त्योभन्दा ठूलो उपलब्धि अरू केही लाग्दैन।'
सम्पादनकै विषयमा कुराकानी हुँदा करिब सात वर्षअघि एलनले दुइटा गज्जबका कुरा मलाई भनेका थिए। त्यसले आजसम्म मलाई छोएको छ।
पहिलो कुरा —
सिनियर रिपोर्टरले लेखेको स्टोरी सच्याउन पनि सम्पादकहरू हच्किनु हुन्न।
सिनियर भन्दैमा सबैले राम्रो लेख्छन् भन्ने छैन। ओहो यो त 'स्टार' रिपोर्टरले लेखेको भनेर उसका कठिन वाक्य र शब्द सच्याउन, अनावश्यक सन्दर्भ काट्न हिच्किचाउनु भनेको राम्रो सम्पादकको गुण होइन।
'सम्पादकको अगाडि दुइटा विकल्प हुन्छ — रिपोर्टर वा लेखकलाई खुसी बनाउने कि पाठकलाई खुसी बनाउने? म यी दुईमध्ये पाठकलाई रोज्छु,' उनले भनेका थिए, 'सम्पादकका लागि स्टोरीको 'कन्टेन्ट' महत्त्वपूर्ण हुन्छ, बाइलाइन होइन।'
दोस्रो कुरा —
आफूले परिमार्जन गरेर राम्रो बनाइदिएको स्टोरीमा अर्काको बाइलाइन पढ्दा खुसी लाग्छ भने तिमी राम्रो सम्पादक हौ।
'जुन दिन खुसी मान्न छाड्छौ, त्यही दिन सम्पादनको काम छाड। तिमी अब यो काम गर्न योग्य रहेनौ।'
एलनका यी दुई कुरा मलाई सम्पादनको मूल मन्त्र लाग्छ।
चौथो सिकाइ — रिपोर्टरको क्षमता विकासमा सम्पादकले कस्तो भूमिका खेल्न सक्छ?
एलनका अनुसार राम्रो सम्पादकले गल्ती औंल्याउने, त्रुटि सच्याउने र पुनर्लेखनको काम मात्र गर्दैन।
ऊ रिपोर्टरसँग सुरूदेखि नै जोडिन्छ। रिपोर्टिङको प्रत्येक चरणमा बाटो देखाइरहन्छ।
रिपोर्टर दिनरात समाचारभित्र हराइरहेको हुन्छ। स्रोतहरूबाट घेरिएको हुन्छ। आफ्नो रिपोर्टिङ क्षेत्रसँग जोडिएका व्यक्तिप्रति ऊ सकारात्मक 'बायस्ड' हुनसक्छ। आफूले सधैं लेखिरहने क्षेत्रमा कतिपय महत्त्वपूर्ण कुरा छुटाएको हुनसक्छ।
यस्तोमा रिपोर्टरलाई बाटो देखाउन, उसले ल्याएका सूचनामा आवश्यक–अनावश्यक छुट्टयाउन र उसलाई कसैप्रति पनि सकारात्मक वा नकारात्मक 'बायस्ड' हुन नदिन सम्पादकले मद्दत गर्नुपर्ने एलन बताउँछन्।
'जतिसुकै राम्रो र अनुभवी पत्रकारलाई पनि भोलि के गर्ने, कसरी लेख्ने भनेर मार्गदर्शन चाहिन्छ नै,' उनले भने, 'यसबाहेक पत्रकारलाई सकारात्मक दबाब पनि चाहिन्छ। नियमित लेख्न दबाब चाहिन्छ, राम्रो लेख्न दबाब चाहिन्छ। दबाबबिना ऊ आफ्नै तालमा काम गर्छ। योभन्दा धेरै लेख्नुपर्दैन, योभन्दा राम्रो लेख्नुपर्दैन भनेर आफ्नो सीमा आफै बनाउँछ।'
उनले अगाडि भने, 'सम्पादकले सबै स्टोरी राम्ररी बनाउन भ्याउँदैन। कतिपय स्टोरी औसत नै छापिन्छ। यस्तो बेला रिपोर्टरलाई बोलाएर भन्नुपर्छ — तिम्रो स्टोरी छापिन त छापियो, तर यो छाप्न योग्य थिएन। यसलाई अझ राम्ररी लेख्न सकिन्थ्यो।'
र, आखिरीमा उनले यही भने, 'हरेक रिपोर्टर र हरेक सम्पादकले आफूलाई उल्लू सम्झिनुपर्छ।'
रिपोर्टरले हरेक मान्छेसँग कुरा गर्दा सोच्नुपर्छ — यो संसारको सबभन्दा उल्लू मै हुँ। मैले केही बुझेको छैन, केही जानेको छैन।
सम्पादकले पनि हरेक समाचार पढ्दा यही सोच्नुपर्छ — यो न्यूजरूमको सबभन्दा उल्लू मै हुँ। मैले केही बुझेको छैन, केही जानेको छैन।
रिपोर्टर र सम्पादकले आफूलाई 'उल्लू' ठाने मात्र सबैले बुझ्ने सरल भाषामा स्टोरी आउँछ।
नभए त पढ्ने पाठकहरू नै 'उल्लू' हुन्छन्!
***