बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा तत्कालीन अध्यक्ष रिता सिंहसहित १७ जनाविरूद्ध मुद्दा दर्ता भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुधबार अपराह्न काठमाडौं जिल्ला अदालतमा सिंहसहित १७ जनाविरूद्ध मुद्दा दर्ता गरेको हो।
काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले केही दिनअघि मुद्दा चलाउने निर्णय गरेको थियो।
बुधबार तत्कालीन अध्यक्ष सिंहसहित १७ जनाविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको जिल्ला अदालत काठमाडौंका शाखा अधिकृत हेमन्त भट्टराईले जानकारी दिए।
‘रिता सिंहसहित १७ जनाविरूद्ध आज अपराह्न सवा ५ बजे मुद्दा दर्ता भएको छ,’ भट्टराईले सेतोपाटीसँग भने, ‘६० करोड ३९ लाख ७७ हजार दुई सय ३१ रुपैयाँ बिगो दाबी गरिएको छ।’
बालमन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंह उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहकी दिदी हुन्। बालमन्दिरको जग्गा लिजमा दिँदा अनियमितता भएको थियो।
सिंहसहित १७ जनालाई ठगी मुद्दा चलाइएको हो।
नेपाल बाल संगठनलाई हानीनोक्सानी पुर्याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटक-पटक न्यून रकममा सम्झौता गरेको उजुरी परेको थियो।
यसअघि गत वर्ष वैशाखमा पनि बाल मन्दिरको जग्गा प्रकरणमा बाल संगठनका पूर्वपदाधिकारी लगायतविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले यस प्रकरणमा सिंहसहित २० जनाविरूद्ध पक्राउ पुर्जी लिएको थियो।
तर उनीहरूमाथि अनुसन्धान गरे पनि सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेको थियो।
उच्च सरकारी वकिल कार्यालयबाट पनि सदर भई महान्यायाधिवक्ता कार्यालयमा पुगेको प्रकरणमा फेरि मुद्दा चलाउने निर्णय भएको थियो भने बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।
रिता सिंहसहितलाई साविक मुलुकी ऐन ठगी महलको ४ नम्बर, नयाँ मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा ३ को खण्ड (ग) बमोजिम सजाय हुन मागदाबी गरिएको छ।
उक्त खण्डमा कुनै किसिमले ठगी गरेमा ७ वर्षसम्म कैद र ७० हजारसम्म जरिवाना हुने उल्लेख छ।
को-कोविरूद्ध चल्यो मुद्दा?
१. रिता सिंह
२. तुलसीनारायण श्रेष्ठ
३. गणेशभक्त श्रेष्ठ
४. कृष्णशंकर शाह
५. श्यामकुमार आले
६. सुवासकुमार पोखरेल
७. प्रचण्डराज प्रधान
८. रामकाजी गुरूङ
९. योगेन्द्रबहादुर शाही
१०. दीपकदाश श्रेष्ठ
११. प्रविणराज जोशी
१२. मुरारी निधि तिवारी
१३. पुरूषोत्तमराज जोशी
१४. श्रद्धा सेढाईं
१५. अभिनव सिंधानिया
१६. सिद्धार्थ केडिया
१७. कीर्तिप्रसाद पाण्डेय