फुटपाथमा हिँड्दै झम्सिखेलबाट पुल्चोक जाने हो भने, साना नानीबाबुले झैं ताते गर्दै पाइला चाल्नुपर्छ।
एक–एक पाइला हेर्दै हिँड्दा कहिले खुट्टा बाउँडिन्छ त कहिले ठोकिन्छ। कति त लड्छन् नै।
यसको कारण सतह नमिलेको उबडखाबड फुटपाथ हो, जुन बेलैमा मर्मत नहुँदा पैदलयात्रुलाई सास्ती छ।
यहाँ छापिएका सिमेन्ट ब्लक भासिएर तलमाथि छन्। धेरै ठाउँमा स–साना खाल्डै परेका छन्। यस्ता उबडखाबड ब्लकमाथि सरासर हिँड्न हम्मे पर्छ।
अर्को समस्या पनि छ।
व्यस्त रुटमा पर्ने दुई लेनको यो बाटोमा एक जना मान्छे राम्ररी नअट्ने फुटपाथ छ। कम चौडाइ भएकाले या त बारमा समाउँदै हिँड्नुपर्छ, या भित्तामा ढेपिँदै।
यसरी खुट्टा जोगाउँदै, मान्छेका बीचमा चेपिँदै हिँड्नुभन्दा सडक नै पैदलयात्रुको रोजाइमा पर्छ।
काठमाडौंका अधिकांश सडकमा फुटपाथ यसैगरी बिग्रिएका छन्। इञ्जिनियरिङ दृष्टिले ती फुटपाथमा सामान्य भाँती पनि पुर्याइएको छैन। सडक कालोपत्रे गरेर चिल्लो बनाइन्छ। चिल्लो सडकमा गाडी सर्रर हुइँकिन्छन्, मान्छे हिँड्ने फुटपाथ जस्ताको त्यस्तै।
‘यहाँको फुटपाथ हिँडिसाध्य छैन। साँघुरो छ, त्यसमाथि सबै भत्केको,’ पुल्चोक जान सडकबाटै हिँडिरहेका सुरज शाहीले भने, ‘कतिपटक खुट्टा फर्किएको छ, त्यो ब्लकमा परेर। हिँड्नै मन लाग्दैन। गाडीबाट जोगिँदै भए पनि सडकमै हिँड्छु।’
कतिपय फुटपाथ भने जानाजान बिगारिन्छ, कहिल्यै बन्दैन।
सडक किनार घर वा अन्य संरचना निर्माणले धेरै ठाउँमा फुटपाथ बिगारिएको हामी देख्छौं।
कतिपय सडकको मसिनो फुटपाथ पसलका भर्याङले ढपक्क ढाकिन्छन्। कति भने घरमा मोटरसाइकल छिराउने भाग बनाउँदा मिचिन्छन्। कतिपयका बीचैमा बिजुलीका खम्बा ठडिन्छन्।
यस्तो बेला बिग्रिएको फुटपाथ बनाउने जिम्मा सम्बन्धित घरधनीकै हो कि सडक विभागको भन्ने कसैलाई थाहा छैन। यहाँ पनि फुटपाथ बिगारेर सडक किनार अग्ला घर ठडिन्छ, मान्छे हिँड्ने फुटपाथ जस्ताको त्यस्तै।
फुटपाथको यस्तो दुरावस्था मात्र होइन, कहीँ–कहीँ त पूरै मासिएका छन्। खासगरी सडक विस्तार क्रममा।
टेकु पुलबाट सानेपा निस्कने बाटो हेरौं।
यहाँ पहिले करिब एक मिटर चौडा फुटपाथ थियो। सडक विस्तार गरियो, कालोपत्रे थपियो, सडक चौडा भयो। गाडीको गति बढ्यो, पैदलयात्रुको घट्यो।
पहिले सानै भए पनि मान्छे ओहोरदोहोर गर्न फुटपाथले सहज बनाएको थियो। ठाडो ओरालोमा हुइँकिने सवारीबाट जोगिने कुनो थियो। सडक विस्तार क्रममा कुनो मासियो। अहिले पुरानो फुटपाथ कहीँ–कहीँ यथावत छ, कहीँ त्यसै हराउँछ। कहीँ भने एउटा खुट्टा पनि नअट्ने गरी साँघुरिएको छ।
भिरालो सडकमै फुटपाथको यो दुर्गतीले पैदलयात्रुलाई सडकमा नझरी धर छैन।
यस्तै अवस्था छ, सत्मार्गमा।
सडक विभागले विस्तार नाममा यहाँको फुटपाथ मासेको छ। हिँड्न जोखिम छ। निर्माणाधीन सडकमा थुपारिएका बालुवा, गिटी, इँटा र ब्लकका कारण बाटो झनै साँघुरिएको छ। दुई–चार मिटर यथावत भए पनि धेरैजसो फुटपाथ घरका भित्तामा टुंगिन्छ।
सडक विभागका अधिकारी भने फुटपाथबिना सडक डिजाइन नहुने दाबी गर्छन्।
ललितपुर डिभिजनल सडक कार्यालय प्रमुख प्रकाशचन्द्र भण्डारीका अनुसार आठ मिटर वा त्योभन्दा चौडा सडकमा दुवैतर्फ र सानोमा एकतर्फ मात्र भए पनि फुटपाथ डिजाइन गरिन्छ।
‘हामीले चौडाइअनुसार डिजाइन गरेका हुन्छौं, तर फिल्डमा जाँदा त्यति चौडा क्षेत्रफल हुँदैन। यसले फुटपाथ नराखी सडक मात्र बनाइन्छ,’ उनले भने, ‘सडक विस्तार गर्दा पनि कतिपय ठाउँमा जति चौडा बनाउने भनेको हो, त्यतिलाई ठाउँ नपुगेपछि भएको फुटपाथ फाल्नुपर्छ।’
[caption id="attachment_134952" align="alignnone" width="826"]

सानेपा, सत्मार्ग। तस्बिरः नारायण महर्जन/सेतोपाटी[/caption]
यसैको मारमा परेकी छन्, स्थानीय कमला हमाल।
उनी ७४ वर्षकी भइन्। डाक्टरले हिँड्न सुझाएको छ। रक्तचाप र मधुमेहकी बिरामी हमाल आफूलाई सक्रिय राख्न यताउति डुल्थिन्।
‘फुटपाथ भत्केपछि बाहिर निस्कनै डर लाग्छ,’ उनले भनिन्, ‘सधैं हिँडिरहेको आफ्नै बाटो खतरनाक लाग्छ।’
‘बाटो फराकिलो बनाउने भनेर फुटपाथै मासिदिए। हामीजस्ता बूढाबूढी र केटाकेटी बाटोमा निस्कनै नसक्ने भएका छौं। म साँझ–बिहान डुलिरहन्थेँ। घरमा धुम्धुम्ती गुम्सेर बस्न हुँदैन भनेर हिँडिरहन्थेँ। फुटपाथ भएकाले गाह्रो थिएन। हिँड्दै तल मन्दिरसम्म जान्थेँ। अहिले सक्दिनँ। कोही साथी चाहिन्छ नै। मजस्तै अरू साथी पनि एक्लै यो बाटो हिँड्न डराउँछन्,’ उनले भनिन्।
‘फुटपाथ मासिएकै कारण हाम्रो भेटघाट कम हुन्छ। भजनकीर्तनमा जान्थ्यौं, अहिले साताको एक दिन मात्र जान्छौं। त्यहाँ लगिदिन पनि साथी चाहिन्छ। सधैं कसले भ्याउँछ, हामीलाई लगिदिन?’
फुटपाथकै कारण आफू र अन्य बूढाबूढी निष्क्रिय भएको उनी बताउँछिन्। ‘वृद्ध र रोगी भए पनि हिँड्न सक्ने त थियौं। सरकारको यो पाराको विकासले त झन् असक्त बूढी पो बनायो,’ उनले भनिन्, ‘घरमै थन्किनुपर्ने, यसो बाहिरतिर हिँडु भने पनि सहारा खोज्नुपर्ने।’
एकातिर भएका फुटपाथ बिग्रँदै, मासिँदै गएका छन् भने अर्कातिर बन्दै बन्दैनन्।
अन्त त छाडौं, सवारी र मान्छेको चाप बढी हुने ठाउँमा पनि सडक इञ्जिनियरहरू फुटपाथ बनाउन आवश्यक देख्दैनन्। गाडी धेरै अट्ने र सहज कुद्न सक्ने फराकिलो सडक मात्र बनाउन खोजिन्छ। चाहे फुटपाथ मास्नुपरोस्, वा बनाउँदै नबनाउनु परोस्।
यसलाई बुझ्न कीर्तिपुर जाऊँ।
बल्खु कटेर त्रिभुवन विश्वविद्यालय छिर्ने गेटबाट दिनहुँ सयौं मान्छे ओहोरदोहोर गर्छन्। बिहान १० बजेपछि त यहाँ पैदलयात्रुको भिड नै हुन्छ। विश्वविद्यालय जाने विद्यार्थी र कामकाजी मान्छेको आउजाउ भइरहन्छ। साँझ ५ बजेपछि पनि यस्तै हुन्छ।
यहाँ अचेल पैदलयात्रुको मात्र होइन, सवारी चाप पनि उच्च छ। विश्वविद्यालय परिसरमा यस्तै चाप नहोस् भनेर अलि पर लेबोरेटरी स्कुलछेउ कीर्तिपुर जाने ‘बाइपास’ सडक बनेको धेरै भयो। केही महिनायता त्यो सडक खनेर अलपत्र छाडिएको छ। उता गुड्दै आएका भाडाका सवारी जम्मै यतै सरेका छन्।
गाडीको घन्चमन्च हुने यो बाटोमा फुटपाथ भने छैन। थिँदै थिएन। सडक निर्माण निकायको प्राथमिकतामा कहिल्यै परेन। बीचमा कालोपत्रे गरेर दुवै छेउको करिब एक मिटर वर्षौंदेखि धूलाम्मे छाडिएको छ। त्यही धूलाम्मे ठाउँमा फुटपाथ बनाउन सकिन्छ, तर बनाइँदैन। अहिले पनि मान्छे हिँड्ने बाटो त्यही हो।
[caption id="attachment_137681" align="alignnone" width="826"]

त्रिभुवन विश्वविद्यालय गेट। तस्बिरः सेतोपाटी[/caption]
त्रिवि परिसरको यो बाटो सम्भवतः सबभन्दा बढी मर्मत गरिनेमा पर्छ। क्रिकेट मैदान जाने र उच्चपदस्थ व्यक्ति धेरै आउजाउ गर्ने बाटो विशेष समारोह पर्दा कालोपत्रे वा टालटुल गरिन्छ। कहिले एकै वर्ष दुई पटकसम्म भएका उदाहरण छन्। त्यहीँछेउ बुङ्बुङ्ती धूलो उड्ने ग्राभेलमा फुटपाथ बनाएर सर्वसाधारणलाई सुविस्ता गराउनेतर्फ कसैको ध्यान जाँदैन।
‘गाडीमा यति ध्यान दिनेले सडकमा फुटपाथ भन्ने पनि हुन्छ भनी सोच्दैनन्,’ बल्खु निवासी त्रिवि विद्यार्थी मधुरमण भट्टले भने, ‘म सधैं यो बाटो हिँड्नुपर्छ। माथिबाट माइक्रो, मोटरसाइकल र बस हुइँकिएर आउँछन्। बाटो साँघुरो छ। कुना–कुना च्यापिँदै हिँड्छु। के गर्ने, क्याम्पस समयमा विद्यार्थीको पनि भिड हुन्छ। सबैलाई जोगिनु त पर्यो। कता पो हिँड्ने? के सडक भनेको गाडी कुदाउन मात्र हो? मान्छे हिँड्न होइन?’
यो प्रश्न कमला, मधु र सुरजको मात्र होइन। काठमाडौंका ५० प्रतिशत बासिन्दाको हो। एक तथ्यांकअनुसार काठमाडौंका ५० प्रतिशत जनता पैदलयात्रा गर्छन्।
पैदलयात्रु हिँड्नुपर्ने फुटपाथमै हो। यति धेरै मान्छेको आवश्यकता यहाँ प्राथमिकतामा पर्दैन। सडक बनाउने जिम्मेवार निकायको ध्यान चिल्लो सडकमा मात्र छ।
किन होला?
मुख्य समस्या, हामीकहाँ सहरी सडक मापदण्ड छैन। सहरी क्षेत्रभित्र कुन सडक कति चौडा बनाउने र कस्तो डिजाइनको फुटपाथ हाल्ने भन्ने कुनै पनि निर्देशिकाले भन्दैन। यसले इञ्जिनियरहरूलाई बाँध्ने कुनै कानुनी व्यवस्था छैन।
मापदण्ड हुँदै नभएको भने होइन।
नेपाल सडक मापदण्ड, २०७० (संशोधित) ले सवारी र पैदलयात्रुको चाप हुने ठाउँमा कम्तिमा डेढ मिटरको फुटपाथ हुनुपर्ने भनेको छ। उक्त मापदण्डअनुसार मान्छेको चाप जति बढी भयो, फुटपाथ उति चौडा हुनुपर्छ।
जस्तो, १५ मिनेटमा पाँच सयभन्दा बढी मान्छे आउजाउ गर्ने ठाउँमा डेढ मिटरको फुटपाथ बनाउनुपर्छ। त्यही समय १५ सय मान्छे हिँड्छन् भने फुटपाथको चौडाइ दुई मिटर हुनुपर्छ। ३५ सय मान्छे आउजाउ गर्नुपर्ने ठाउँमा त तीन मिटर चौडा हुनुपर्ने मापदण्ड छ।
यसअनुसार न्यूरोडमा कत्रो फुटपाथ चाहिएला? के त्यत्रो फुटपाथ छ त?
‘सहरी सडक मापदण्ड छैन भनेर हात बाँधेर बस्नुपर्दैन। राष्ट्रिय सडक मापदण्ड भनेको कुनै अर्को देशको नियम होइन। हाम्रै हो। यसैका आधारमा सहरी सडक बन्ने हो भने पैदलयात्रुलाई धेरै राहत हुने थियो,’ सहरी विकास अभियन्ता भूषण तुलाधरले भने।
‘बाटो भनेको गाडीका निम्ति मात्र हो भन्ने हाम्रो मानसिकता छ,’ उनले भने, ‘हामी गाडी केन्द्रित छौं। सडक र विकास दुवैलाई सवारीसँग जोड्छौं। जति फराक सडक बनाउन सकियो, जति धेरै गाडी चलाउन सकियो, त्यति धेरै विकास! यही सोचले फुटपाथ चासोमै पर्दैन। पैदलयात्रुको आवश्यकता कसैले देख्दैनन्।’
गाडीलाई समृद्धि सूचक मान्ने सोचले पनि पैदलयात्रु ओझेलमा परेको उनी बताउँछन्।
यसो हुँदो हो त नेदरल्यान्ड्सका धेरै मान्छे गाडी किन्न सक्ने हुँदाहुँदै किन हिँड्थे होलान्?
एम्स्टरड्याममा किन गाडी संख्या घट्दै, साइकल वा पैदलयात्री बढ्दै जान्थे होलान्?
अमेरिकी सहरमा किन पसलै खोल्न मिल्ने फराकिला फुटपाथ बन्थे होलान्?
हामीकहाँ फुटपाथ नबन्नुमा सरकारको मात्र दोष छैन। हाम्रो पनि छ।
'हामी सर्वसाधारण गाडी हुइँकिने बाटो बनेन भने जति गुनासो पोख्छौं, आफूले दिनहुँ प्रयोग गर्नुपर्ने फुटपाथमा कमै ध्यान दिन्छौं। यहाँका अधिकांश फुटपाथ नाम मात्रका छन्, मान्छेका पाइला पर्दैनन्,' तुलाधरले भने, 'नभएका ठाउँमा त ठिकै हो, भएकामा पनि हामी हिँड्दैनौं।'
फुटपाथमा हिँड्ने बानी भए आवश्यकता हुन्छ। आवश्यकता भए माग हुन्छ। माग भए पूरा हुन्छ।
‘फुटपाथ संस्कार हो, जति अपनायो उति फैलिन्छ,’ तुलाधरले भने।