‘काठमाडौं सभ्यता जोगाउन’ भित्री क्षेत्र चारपाङ्ग्रे मुक्त

तस्बिरहरु: नारायण महर्जन/सेतोपाटी


सवारीमुक्त भए असनको महत्व बढ्छ कि घट्छ?

दुई महिनाअघि असन सवारीमुक्त अभियान सुरु हुँदा स्थानीयलाई यही दुबिधा थियो।

यसले किनमेल गर्न आउनेको संख्या घटेर व्यापार प्रभावित हुने भन्दै उनीहरू आत्तिएका थिए। यही अलमलले सवारीमुक्त अभियान अलमलियो।

स्थानीयको शंका दूर भएको छ।

उनीहरू आर्थिक मात्र होइन, सवारीमुक्त हुँदा असनको ऐतिहासिक तथा साँस्कृतिक महत्व बढ्नेमा ढुक्क भएका छन्।

यसैको परिणाम हो, असन क्षेत्रका ११ वडाध्यक्ष र स्थानीय प्रतिनिधिले माघ २ गतेबाट इन्द्रचोकदेखि क्षेत्रपाटीसम्म चारपाङ्ग्रे सवारी निषेध गर्ने निर्णय गरेका छन्। वडा नम्बर १७, १८, १९, २४, २५ र २७ मा पर्ने असनसहित इन्द्रचोक, मख्खन, त्यौड, ठैंटी, भेडासिंह, नरदेवी, किलागल लगायत काठमाडौंका भित्री क्षेत्र चारपाङ्ग्रे सवारीमुक्त हुनेछन्।

करिब डेढ महिनाभन्दा बढीको तयारीपछि बुधबार यस क्षेत्रका वडाध्यक्ष, स्थानीय प्रतिनिधि र ट्राफिक व्यवस्थापन महाशाखाको बैठकले यस्तो निर्णय गरेको हो।

‘ठमेल सवारीमुक्त भएलगत्तै हामीले असनसहित काठमाडौंका भित्री क्षेत्रमा त्यही नियम लगाउने तयारी गरेका थियौं। सुरुमा केही बाधाअड्चन आए पनि प्रयास जारी राख्यौं,’ वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरले सेतोपाटीसँग भने, ‘चुनावले पनि अलि व्यस्त बनाएको थियो। बुधबार भने सबैको सहमतिमा निर्णय गर्यौं।’

सवारीमुक्तले भित्री क्षेत्रको आर्थिक कारोबारमा कुनै असर पर्दैन भनी बुझाउन समय लागेको उनले बताए।

‘स्थानीय र जनप्रतिनिधिहरूको पटक–पटकको छलफलमा सवारीमुक्त गर्दा भित्री काठमाडौंको आर्थिक कारोबार बढ्नुका साथै ऐतिहासिक, पुरातात्विक र साँस्कृतिक सम्पदा पनि सुरक्षित हुने हाम्रो निष्कर्ष रह्यो,’ उनले भने।

पहिलो चरणमा स्थानीयका चारपाङ्ग्रे निषेध गरिने छैन। बाहिरबाट भने त्यस्ता सवारी लग्न पाइँदैन। एम्बुलेन्स, खानेपानी ट्यांकर, आपतकालीन सामग्री ढुवानीका गाडीलाई पनि रोक लाग्दैन।

कुनै बाटोमा चारपाङ्ग्रे सवारी पूरै निषेध गरिएको छ। कुनैलाई एकतर्फीमा सीमित गरिएको छ। इन्द्रचोक र भोटाहिटीबाट असन छिर्ने बाटोमा निषेध गरिने छ। त्यस्तै, इन्द्रचोकबाट जुद्ध शालिकतिर पनि आउन पाइँदैन। क्षेत्रपाटीबाट वसन्तपुर आउने बाटो दुईतर्फी भएकामा अब एकतर्फी बनाइएको छ। ठैंटीबाट क्षेत्रपाटी जान पनि एकतर्फी नै हुनेछ।

मल्लकालको पुरानो नेपाल राज्य भित्री काठमाडौंलाई ‘जीवित सम्पदा’ का रूपमा लिइन्छ। यहाँका टोल, गल्ली, बहाल र ननीहरूमा बाह्रै महिना कुनै न कुनै जात्रा, पर्व चलिरहन्छन्। सवारी घन्चमन्च र हुलमुलले ती जात्रापर्व सञ्चालनमा बाधा पुग्दै आएको छ। यसले काठमाडौं सभ्यताको साँस्कृतिक महत्व नै मासिने खतरा बढेको छ।

यही जोखिम रोकेर काठमाडौं सभ्यतालाई जतिसक्दो पुरानै शैलीमा जीवित राख्न सवारीमुक्त अभियान सुरु भएको हो।

यो व्यवस्थापनले सडकको भिडभाड र चापाचाप व्यवस्थापन गर्नुका साथै सम्पदा संरक्षणमा सघाउने वडाध्यक्ष मानन्धरले बताए।

दुई महिनाअघि ठमेल काठमाडौंको पहिलो सवारीमुक्त क्षेत्र घोषणा भएको थियो। लगत्तै भित्री सहरका असन र आसपासका अतिव्यस्त क्षेत्र सवारीमुक्त गर्ने तयारी सुरु भयो। ट्राफिक प्रहरीले ‘सवारी साधन प्रवेश निषेध’ लेखिएको बोर्ड असनको बीच सडकमा ल्याएर तेर्स्याए।

सधैं घन्चमन्च हुने असन र आसपासका क्षेत्रमा एक्कासि सवारी हटाउँदा व्यवसाय खस्किने हो कि भन्ने धेरैलाई पर्यो। यसले सुरु भइसकेको अभियान सेलायो।

सवारीमुक्त अभियानमा लागेका स्थानीय र जनप्रतिनिधिले आफ्नो कोशिस भने छाडेनन्।

‘धेरै बैठक बस्यौं। असन लगायत क्षेत्रमा किन सवारी हुलमुल हुनु हुँदैन भन्ने बुझायौं,’ उनले भने, ‘धेरैलाई सवारी आवागमन नहुँदा व्यवसाय धरापमा पर्ने हो कि भन्ने लागेको थियो। यो भ्रम हटाउन हामी सफल भयौं।’

सवारीमुक्त अभियान स्थानीयकै उत्थान र भलाइ निम्ति गरिएको उनको भनाइ छ। सवारी चाप बढ्ने क्रमसँगै सडक विस्तारको दबाब सुरु हुने र यसले स्थानीयको उठिबास हुनसक्ने उनले औंल्याए।

‘सडक विस्तारका नाममा धेरै स्थानीयको उठिबास भएको छ। सम्पदा मासिएका छन्। अब भन्नुस्, सवारीमुक्त अभियानले स्थानीयलाई फाइदा हुन्छ कि बेफाइदा? काठमाडौं सभ्यतालाई फाइदा गर्छ कि बेफाइदा?’ उनले भने।

उनले सोह्रखुट्टेको उदाहरण दिए। यहाँ काठमाडौंको पुरानो सम्पदा सोह्रखुट्टे पाटी नै मासिएको छ।

भित्री काठमाडौंमा यस्ता सम्पदा पाइला–पाइलामा रहेकाले त्यसलाई जोगाउन सवारीमुक्त गर्नैपर्ने आवश्यकता उनले औंल्याए। यहाँ बाटा–बाटामा किराँत र लिच्छविकालदेखिका मन्दिर, शालिक, भगवानका मूर्ति, स्मारक, अभिलेखहरू छन्। यिनको संरक्षणमा सवारीमुक्त अभियानले ठूलो भूमिका खेल्ने उनले बताए।

‘बाहिर देखिने ठूल्ठूला संरचना मात्र हाम्रा सम्पदा होइनन्,’ उनले भने, ‘यो क्षेत्र नै यस्तो छ, जहाँ पाइला–पाइलामा हाम्रो इतिहास जोडिएको छ।’
चारपाङ्ग्रे सवारी निषेध गरिएको क्षेत्रफल ठूलो नभएकाले किनमेल गर्न आउनेलाई आउजाउको समस्या नहुने उनको भनाइ छ।

गाडी छिर्न नपाउँदा व्यापार खस्कँदैन भन्ने त ठमेलले पुष्टि गरिसकेको छ। त्यहाँका व्यवसायी सवारीमुक्त भएपछि किनमेल गर्न आउनेको संख्या बढेको बताउँछन्।

‘सुरुमा त हामीलाई विस्थापित नै हुन्छौं कि जस्तो डर लागेको थियो। चार–पाँच दिन बजार सुनसान पनि भयो, अहिले ठ्याक्कै उल्टो छ,’ ठमेलमा लामो समयदेखि कपडा व्यवसाय गर्दै आएका राम थापाले भने, ‘सधैं गन्जागोल देख्ने बानी परेकाले मात्र हामीलाई सुरुमा खल्लो लागेको रहेछ, खासमा चहलपहल पहिलेभन्दा बढेको छ। विदेशीहरू टहलिन निस्कन्छन्, नेपालीहरू पनि खुब आइरहेका छन्। यसले कारोबार बढेको छ।’

असनका व्यवसायी यसमा विश्वस्त भएका छन्। त्यसमाथि असनको व्यापारिक महत्व अझ धेरै छ।

असन भनेको लिच्छविकालदेखिकै व्यापार क्षेत्र हो। यहाँको फराकिलो चोक सामान किनमेल र जात्रापर्व निम्ति बनाइएको सम्पदाविद्हरू बताउँछन्।

त्यही संस्कृतिले मल्लकालमा निरन्तरता पायो। र, आजको दिनसम्म असनले आफ्नो व्यापारिक महत्व गुमाएको छैन।

यहाँ एक सयदेखि दुई सय वर्ष पुराना दर्जनौं पसल भेटिन्छन्, जुन पुस्तान्तर हुँदै अहिलेसम्म चल्दै आएका छन्। बरु सम्पदा श्रेणीमा पर्ने यस्ता पसल सवारी घन्चमन्चले विस्थापित हुने जोखिममा छन्। भिडभाड जति बढी भयो ग्राहकको ध्यान पसलतिर उति कम हुन्छ। सवारीमुक्तपछि मान्छे टहलिन र असनको साँस्कृतिक झलक हेर्न आउने हुँदा त्यसै पनि कारोबार बढ्ने व्यवसायी बताउँछन्।

‘सवारी चाप नहुँदा मान्छे खुलेर हिँडडुल गर्न पाउँछन्। यताउति चहार्न पाउँछन्। उनीहरूका आँखा पसलतिर दौडिन्छन्, गाडीमा हिँड्दा कसले हेर्छ,’ असनका आयुर्वेद औषधालय सञ्चालक वासुकृष्ण वैद्य भन्छन्।

सवारीमुक्त अभियानमा लागेका ट्राफिक महाशाखा प्रमुख सर्वेन्द्र खनालले पनि स्थानीय सम्पदा जोगिने र व्यवसायमा सुधार आउने बताए।
‘हामी तत्कालै चारपाङ्ग्रे निषेध गर्दैछौं। स्थानीय र अत्यावश्यक गाडीमा रोक लगाइने छैन। यसले धेरै हदसम्म जाम र भिडभाड कम हुन्छ,’ प्रमुख खनालले भने।

दुईपाङ्ग्रेलाई यो रोक लाग्छ कि लाग्दैन?

‘दुईपाङ्ग्रे रोकिहाल्न अहिले नै गाह्रो छ,’ उनले भने, ‘जसरी चारपाङ्ग्रेमा स्थानीयले पहल गर्नुभयो, दुईपाङ्ग्रेमा पनि वडाहरूले नै पहल गर्नुपर्छ।’

माघ २ गते नियम कार्यान्वयन हुनुअघि स्थानीयलाई जानकारी गराउने, फाइदा बुझाउने र पूरै क्षेत्र सरसफाइ गर्ने योजना छ। वडाहरूले फोहोर संकलन गर्न ‘डस्टबिन’ व्यवस्था गर्ने पनि योजना बनाएका छन्। यसका साथै महानगर र स्थानीयसँगको समन्वयमा बाटामा पर्ने पसलका खण्ड हटाउने तयारी छ।

‘काठमाडौंको भित्री क्षेत्रलाई हरसम्भव मौलिक स्वरूपमा फर्काउने हाम्रो उद्देश्य हो,’ वडा नम्बर १७ का अध्यक्ष मानन्धरले भने, ‘सवारीमुक्त अभियान यसैको सुरुआत हो।’

असन सवारीमुक्त किन? सेतोपाटी श्रृंखला

सुवर्णको नुन पसल जोगाउन

सय वर्ष पुरानो दिनेशको मसला पसल जोगाउन

२४२ वर्ष पुरानो वैद्य पसल जोगाउन

दुई सय वर्ष पुरानो ‘अंसया पुलांगु मरि पसः’

कृष्ण कायस्थको सय वर्ष पुरानो फलाम पसल

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.