असनलाई किन सवारीमुक्त बनाउनुपर्छ?
यसको जवाफ हो, कृष्ण कायस्थको सय वर्ष पुरानो फलाम पसल।
सय रुपैयाँदेखि २ हजार ५ सयसम्म पर्ने भोजपुरी खुकुरी उनको पसलको विशेषता हो। भान्छामा प्रयोग हुने फलामका सामग्रीदेखि खेतबारीमा प्रयोग हुने औजारसम्म यहाँ पाइन्छन्। ग्राहकको मागअनुसार आल्मुनियम र स्टिलका भाँडाकुँडा पनि उनले राखेका छन्।
असनका रैथाने कायस्थ यो पसल स्थापना कहिले भयो ठ्याक्कै बताउन सक्दैनन्। उनले आफैंले चलाउन थालेको ४० वर्ष भयो। त्यसअघि बुबाले हेर्थे। उनी यति भन्छन्, ‘सय वर्ष नाघ्यो होला।’
उनले यसो भन्नुको आधार हो, ९० सालको भुइँचालो।
‘यो ९० सालको भुइँचालोमा पनि नभत्किएको घर हो। त्यतिबेला यही ठाउँमा हाम्रो पसल थियो,’ ६२ वर्षीय कायस्थले भने, ‘त्यतिबेलै यो पसल राखेको लामो समय भइसकेको थियो भनेर बुबा सम्झनुहुन्थ्यो।’
पढाइले वकिल कायस्थले वकालत छाडेर पुस्तैनी कारोबार धानेको धेरै वर्ष भयो।
उनले २०३९ सालमै वकालतको लाइसेन्स लिएका थिए। सँगैका साथीहरू अझै यही पेसामा छन्। कति त न्यायाधीश भइसके। उनलाई भने पुस्तैनी व्यापारमा रस बस्यो। उनले यसैमा भविष्य देखे। र, वकालतको लाइसेन्स थन्क्याएर फलामका भाँडाकुँडा बिक्री गर्न थाले।
अहिले आएर स्थिति उनले सोचेजस्तो छैन।
फलामका भाँडाकुँडाको माग घटेको छ। असनको भिडभाडले उनको पसल त्यसै छोपिदिन्छ। सय वर्षको इतिहास बोके पनि उनको पसलमा एक जना पुराना ग्राहक छैनन्। बाटोमा हिँड्ने मानिस कसैका आँखा पर्यो भने मात्र उनको पसल छिर्छन्।
‘फलामको सामान भनेको घरिघरि किनिरहने चिज होइन, एकचोटि किनेपछि वर्षौं वर्ष टिक्छ,’ कायस्थले भने, ‘त्यसैले पुराना ग्राहक खासै आउँदैनन्। बाटोमा हिँड्नेहरू कसैका आँखा पर्यो भने सामान बिक्यो, होइन भने लामो समय पसलमै थन्किरहन्छ।’
यस आधारमा उनी असन बजार हिँडडुल गर्नेलाई नै आफ्नो मुख्य ग्राहक मान्छन्।
ग्राहक मात्र होइन, उनले बेच्ने सामान पनि पहिलेभन्दा फरक छ। पहिले धेरैजसो नेपालमै बनेका हुन्थे। अचेल ९० प्रतिशत भारतीय छन् भने केही चिनियाँ पनि छन्। नेपालमा बनेका भने ७ प्रतिशत मात्र भएको उनले बताए।
‘पसल धान्न जति गाह्रो भए पनि मैले बुबाको पेसा मर्न दिएको छैन,’ उनले भने, ‘नयाँ पुस्तामा गएपछि बचाउन गाह्रो देखेको छु।’
कायस्थका तीन छोरामध्ये दुई जनाले आफ्नो पेसा रोजिसकेका छन्। पढ्दै गरेका कान्छोले पसलमा सहयोग गर्छन्। यसले व्यापार धान्न सजिलो छ। कान्छो पनि करिअरमा लागेपछि पसल कसरी चलाउने भनेर कायस्थलाई चिन्ता छ। त्यसमाथि स्टिलका सामानको लोकप्रियताले फलामको माग कम छ। असन क्षेत्रमै कुनै बेला ३५ वटा यस्ता पसल थिए। अहिले पाँचवटामा झरेको कायस्थ बताउँछन्।
उनी आफैं पनि छोराहरू यही पेसामा अल्झिएर बसून् भन्ने चाहँदैनन्। फलामका सामानको अँध्यारो भविष्य उनले आकलन गरिसकेका छन्।
‘पसल सानो छ, भाडा ठूलो। व्यापार पनि पहिलेभन्दा कमै छ,’ दिनको ५ हजार रुपैयाँ बराबर कारोबार गर्ने उनले भने, ‘जति समय बित्दै गयो, व्यवसाय धान्न मुश्किल पर्दै जालाजस्तो छ। स्टिल र प्लास्टिकका सामानले फलाम विस्थापित गर्दैछ। म आफैं पनि विस्थापित हुने बेला भइसकेँ।’
असनमै जन्मे–हुर्केका र यहीँ व्यापार गर्दै आएका कायस्थले यो ठाउँको कायापलट आफ्नै आँखाले देखेका छन्।
‘चालीस वर्षअघि असनमा आधा घन्टामा एक–दुई जना मात्र मानिस हिँड्थे। समय कटाउन बीच बाटोमै साँढे जुधाएर बस्थे। त्यो रमिता हेर्नेको भिडै लाग्थ्यो,’ उनले भने, ‘अहिले त्यो अवस्था रहेन, साँढे जुधाउन त के, मानिसलाई ओहोरदोहोर गर्न पनि हम्मेहम्मे छ।’
‘पहिलेजस्तो असन कहाँ रह्यो र? यहाँ बेचबिखन हुने सामान फरक छ। भिडभाड बढेको छ। त्यसमाथि यहाँ गुड्ने सवारीको त कुरै नगरौं,’ उनले भने।
दिनप्रतिदिन नकारात्मक रूपमा बदलिएको असनले बेलाबेला उनलाई चिन्तित बनाउँछ। यो चिन्ता व्यापार घट्दै गएकाले होइन, असनको गरिमा मासिएला भनेर हो।
‘असनलाई पुरानै स्वरूपमा फर्काउन सकिएन भने यसको ऐतिहासिक महत्व मेटिएर जानेछ,’ उनले भने।
नेवार समुदायको बाहुल्य रहेको असन क्षेत्रमा पहिला नेवार संस्कृतिका अनेक चाडपर्व, जात्रा, जन्म संस्कार, मृत्यु संस्कार लगायतमा प्रयोग हुने सामग्री पाइन्थे। पश्चिमतिर मरमसलाका पसल थिए। अन्नपूर्ण मन्दिरपछाडि तेलको व्यापार हुन्थ्यो। त्यस्तै, उत्तरतर्फ खाद्यान्न, भोटाहिटीतिर जुत्ता र फेन्सी सामान, केलटोलतिर तामाको भाँडा र ढाकाका सामान बिक्री हुन्थे।
असन चोकका यी विशेषता लोप हुँदै गएको कायस्थ बताउँछन्।
‘काठमाडौं सभ्यता जोगाउने हो भने असनको गरिमा बचाउनु जरुरी छ,’ उनले भने, ‘भोलिको पुस्तालाई हामीले देखाउनुछ, काठमाडौंमा असनजस्तो व्यवस्थित बजार उ जमानामै थियो, जसलाई आज हामी डिपार्टमेन्ट स्टोर भन्छौं।’