असनलाई किन सवारीमुक्त बनाउनुपर्छ?
यसको जवाफ हो, १०० वर्ष पुरानो दिनेश श्रेष्ठको मसला पसल।
झट्ट हेर्दा उनको पसल बटुवाले आश्रय लिने पाटीजस्तो देखिन्छ। तर, झिसमिसेदेखि झमक्क साँझ नहुञ्जेल यो ठाउँ खाली हुन्न।
विसं १९७४ सालमा स्थापना भएको यो पसलमा न कुनै होर्डिङ बोर्ड छ न त ग्राहकको ध्यान तान्न सामानको विशेषता नै खुलाइएको छ। यति हुँदाहुँदै काठमाडौं उपत्यकाका कुना–कुनादेखि नुवाकोट र धादिङबाट समेत मान्छे धुइरिन्छन्, शुद्ध र ताजा मरमसला किन्न।
असन त्यसै पनि मसलाका लागि काठमाडौंकै पुरानो बजार हो। त्यसमाथि दिनेशको मसला पसलको पहिचान बेग्लै छ।
‘हामी असली मसला बेच्छौं,’ दिनेशले सेतोपाटीसँग भने, ‘सामानमा मिसावट हुन्न भनेर मान्छे खोजी–खोजी हाम्रै पसल आइपुग्छन्।’ कतिपय ग्राहक त हजुरबाको पालादेखि नियमित आइरहेको उनले बताए।
दिनेशको पसलमा जिरा, धनियाँ, तिल, ल्वाङ, सुकमेल, दालचिनी, ज्वानु, मेथी, जाइफल लगायत मरमसलादेखि लसुन, प्याज, छ्यापी, अदुवासम्म पाइन्छ। समय र मौसमअनुसार उनी आफ्नो पसलमा सामान थपघट गर्छन्। बिहे, ब्रतबन्धको सिजनमा उनी त्यसलाई चाहिने सबै सामग्री राख्छन्। दसैं, तिहार वा अन्य चाडबाड बेला उनको पसल फेरि अर्कै हुन्छ।
यतिखेर बिहेको लगन छ। मंसिर सुरु हुनेबित्तिकै उनले साइपाटा लगायत बिहेका सामान बिक्रीमा राखिसकेका छन्। नेवारी संस्कृतिअनुसार जन्मदिन, जंको (रथारोहण), मृत्यु संस्कारको सातौं दिन गरिने ‘न्ह्यन्हु’ मा चाहिने सामान पनि उनी बेच्छन्।
यस्ता अनेकथरी सामान पाइने हुँदा यो पसलले दिनेश दम्पतीलाई दिनभरि नै बेफुर्सदिलो बनाउँछ। छ वर्षीय छोरासहित उनको तीन सदस्य परिवारको एकमात्र आयस्रोत पनि यही हो। झन्डै ४५ मिनेट हामीसँग गफिँदा दिनेश र उनकी पत्नीले १० जना ग्राहकलाई सामान बेच्न भ्याए।
सबैथोक पाइने भए पनि दिनेशको पसल मसलाकै लागि चर्चित छ। अरूले चिन्ने पनि यही कारणले हो। मसलाबाहेकका सामग्री भने आफ्नो पुस्तामा आएपछि मात्र बेच्न थालेको उनी बताउँछन्। ‘हजुरबाको पालादेखि नै हाम्रो पसल मसलाका लागि प्रख्यात छ,’ उनले भने, ‘मैले आफ्नो पालामा आएपछि केही सामान हेरफेर गरेको हुँ, आम्दानी बढाउन। यसले ग्राहक केही बढेका पनि छन्।’
यो पसल दिनेशको जिजुबाजेका पालामा सुरु भएको हो। अहिले चौथो पुस्तामा चलिरहेको छ। चौथो पुस्ताका सञ्चालक ४५ वर्षीय दिनेश आफैं पसलमा बस्न थालेकै ३० वर्ष नाघिसक्यो।
बुबाको मृत्युपछि उनले आफ्नो पूरा समय पसललाई दिन थालेका हुन्। यी तीन दशकमा दिनेशको दैनिकी उही छ। उनी हरेक दिन बिहानै घरदेखि पसलसम्म सामान ल्याउँछन्। सकिएको सामान किन्न जान्छन्। मरपसला पिस्छन्। बेच्छन्। र, साँझ बचेका सामान फेरि नजिकै घर पुर्याउँछन्।
‘कसरी पसल सुरु भयो थाहा भएन, यत्ति थाहा छ, म सानो हुँदादेखि नै टाढा–टाढाबाट मान्छे यहाँ मसला किन्न आउँथे,’ दिनेशले भने, ‘यो परम्परा हामीले अहिले पनि टिकाएर राखेका छौं।’
आफूले पसलको परम्परा टिकाएर राखे पनि असनको गरिमा भने मासिँदै गएकोमा उनलाई चिन्ता छ।
‘यो वरपर क्षेत्रमा आकाश–जमिन फरक भइसक्यो,’ सामान बेच्दाबेच्दै रोकिएर उनले भने, ‘खै यहाँका रैथाने पसल? सबै कता–कताका आए, के के पो व्यापार गर्न थाले।’
उनका अनुसार बग्रेल्ती खुलेका आधुनिक दोकान र असनको थामिनसक्नु भिडभाडले पुराना व्यापारी पलायन हुन थालेका छन्। प्रतिस्पर्धा जति बढ्दै गयो, भाडा उति महँगो हुँदैछ। विकल्प नहुने मात्र सानातिना पसलमा अड्किएर बसेका छन्। नयाँ आउने व्यापारीले बेच्ने भनेका नयाँ सामग्री हुन्, जसले न असनको इतिहास बोक्छ न त संस्कृति।
‘असन चिनिने भनेकै यहाँका पुराना पसलहरूले हो, जसमा काठमाडौंको उही पुरानो सुवास भेटिन्छ,’ दिनेशले भने, ‘अचेल त न काठमाडौं उही रह्यो, न असन।’
असनको उकुसमुकुस भिडभाडले पनि यसको महत्व गुम्दै गएको उनको अनुभव छ। भिडभाड त कस्तो भने, बाटैको साँधमा रहेको उनको पसल पहिल्याउन धेरैलाई हम्मे पर्छ। सवारीको घन्चमन्च, हर्न र धुँवाको सास्तीबीच अचेल असनको असली स्वाद हराउँदै गएको उनले बताए।
‘काठमाडौंको संस्कृति र परम्परा जोगाउँ भनेर सबै भन्छन्, के हो त्यो भनेको? त्यो भनेको सडक चिल्ला बनाउने वा घरका तल्ला थपेर आकाश छुन खोज्ने हो र? त्यो भनेको त यहाँको पुरानो बजार जोगाउने हो,’ उनले भने, ‘असन जोगाउने हो।’
अहिलेकै क्रम जारी रहे आफूजस्तै कठिन अवस्थामा पनि टिकेर बसेका पुराना पसल विस्तारै विस्थापित हुँदै जाने खतरा उनले औंल्याए।
‘त्यसपछि यो असन, त्यो असन रहने छैन,’ उनले भने।
‘हाम्राजस्ता पसल बचाउन सरकारले यहाँको सवारी वा यो बजारकै व्यवस्थापनमा केही नीति लिइदिए राम्रो हुन्थ्यो।’