दुई सय वर्ष पुरानो ‘अंसया पुलांगु मरि पसः’

तस्बिरः शान्ति तामाङ/सेतोपाटी


असन किन सवारीमुक्त बनाउनुपर्छ?

यसको जवाफ हो, दुई सय वर्ष पुरानो ‘अंसया पुलांगु मरि पसः’ जोगाउन।

अर्थात्, असन मिठाइ पसल।

असन र अन्नपूर्ण मन्दिर पर्याय हुन्। अन्नपूर्ण मन्दिरकै कारण असनको नाम रहन गएको इतिहासविद्हरूले आफ्नो पुस्तकमा लेखेका छन्। यही मन्दिर अगाडि छ, असन मिठाइ पसल।

नारायणकृष्ण श्रेष्ठको यो मिठाइ पसलमा थरीथरीका परिकार पाइन्छन्। मिठाइका पारखी त छँदै छन्, अन्नपूर्ण मन्दिर दर्शन गर्न आउने भक्तजनले पनि उनको मिठाइ प्रसादका रूपमा प्रयोग गर्छन्।

मन्दिरकै भक्तजन आफ्ना प्रमुख ग्राहक भएकाले नारायणले चटक्कै पसल छाड्न सकेका छैनन्। ‘हाम्रो पहिलो ग्राहक मन्दिरमा आउने भक्तजन नै हुन्। त्यसपछि अरू,’ उनले भने, ‘त्यही भएर बुढेसकालले गाँजिसक्दा पनि पसल छाड्न सकेको छैन।’

पहिला त उनको पसलमा बुबाको मुख हेर्ने, आमाको मुख हेर्ने दिन लगायत नेवारी जात्रापर्वमा निकै भिड हुन्थ्यो। अहिले यो सबै एकादेशको कथा जस्तो भएको छ।

शिवरात्रि र फागु पूर्णिमामा भने भिड हुन्छ। त्यतिबेला ५ रुपैयाँ पर्ने भाङको लड्डुलाई १५ रुपैयाँ लिन्छन्। भोलानाथको लड्डुबाट आएको पैसा उनी अलग्गै राख्छन्। त्यो फाइदा उनले व्यक्तिगत काममा प्रयोग गर्दैनन्, समाजसेवामा लगाउँछन्। परोपकारी काममा चन्दा दिन्छन् वा मन्दिर बनाउन दान। आफ्ना लागि भने कहिल्यै प्रयोग नगरेको श्रेष्ठ बताउँछन्।

‘बेच्न त म एउटा लड्डु बराबर १० रुपैयाँ नाफा लिएर बेच्छु। धेरै नाफा खायो भने पच्दैन भन्ने मलाई थाहा छ,’ श्रेष्ठले भने, ‘सत्य काम गर्ने मान्छेले नाफा खाए पनि उसले मात्र खाँदैन, समाजसेवामा लगाउँछ।’

उनले यसो भनिरहँदा दुई जना लड्डु किन्ने ग्राहक आए। उनीहरू प्रसाद किन्नै आएका थिए। यस्तै ग्राहकले धानेका छन् उनको पसल। दिनमा हजार रुपैयाँजति व्यापार हुन्छ। यो व्यापार पैसाले होइन, अन्नपुर्ण मन्दिरको आस्थाका कारण अडेको उनी बताउँछन्,।

नारायणको उमरे ७२ काटिसक्यो। तैपनि सकुन्जेल मिठाई बनाउने बताउँछन्। ‘एउटै छोरा हो, उसले यो काम गर्दैन। आफू बाचुञ्जेल हो, यो व्यापार,’ श्रेष्ठले लामो सास फेर्दै भने।

यति भनिसक्दा उनी विगततर्फ फर्किए। ‘यो पसल कहाँ यस्तो थियो र?’ श्रेष्ठले भने, ‘खुल्दै बन्द हुँदै गरेपनि भरिभराउ हुन्थ्यो। मिठाइ नै मिठाइ। बनाउँदै बेच्दै भ्याइनभ्याइ हुन्थ्यो। हामी दाजुभाइ सबै मिलेर काम गर्थ्यौं। अहिले यस्तो हालत भएको छ,’ चुकचुकाउँदै उनले भने।

आफ्नो पसल वरिपरि नियाले, केही लड्डु छन्। तीमध्ये केही एक दिन अगाडि नै बनाएका छन्। केही धेरै नै पुराना भएर कडा भएका।

अलिकति माल्पुवा, अलिकति गुदपाँक, अलिकति पेडा छ। अरू दुईचार थरीका मिठाइ।

र, नुन।

‘मिठाइ पसलमा नुन किन?’

‘व्यापार बढाउन,’ श्रेष्ठले भने, ‘मिठाइ पसल हुँदा पनि मान्छेहरू नुन छ भन्दै आए। नुनको माग हुने रैछ, व्यापारमा केही सहज होला भनेर राखेको हुँ।’

पसलमा पहिले गुँदपाक, पुष्टकारी, निम्की, लाखमरी जस्ता धेरैथरीका मिठाइ पाइन्थे। स–परिवार मिलेर भ्याइनभ्याइ काम गर्नुपर्ने यो पसल उजाड हुँदै जानुको कारण निरन्तरता दिने व्यक्तिकै अभावमा हो।

‘म र श्रीमतीको उमेर ढल्कदैँ गयो। काम गर्न गाह्रो हुन्छ। अझै पनि पसलमा लाखमरी बनाइदेऊ, यो बनाइदेऊ, त्यो बनाइदेऊ भन्छन्। तर बनाउने कसले? छोराले यो काममा चासो देखाएन। एक जना काम गर्ने मान्छे छ। ऊ एक्लैले कति बनाएर भ्याओस् र बेच्नु,’ श्रेष्ठले भने।

ग्राहकले मागेका सामान बनाइदिन नसक्दा उनलाई ननिको लाग्छ। उनीसँग ‘हुँदैन’ भन्नुको विकल्प छैन।

कुनैबेला यो पसलका निम्ति मरिमेट्ने श्रेष्ठ आज यसैका निम्ति केही गर्न नसक्ने भएको बताउँछन्।

‘पसल भनेर मैले सबथोक दाउमा राखेँ, भएको सरकारी जागिर छाडेँ। पुर्खाको इज्जत धान्नु थियो मलाई,’ उनले भने।

उनका अनुसार उनले खाद्य संस्थानको जागिर छाडेका थिए, पसल चलाउन। ‘आज न जागिर छ, न यो पसलको व्यापार, न त यसको अस्तित्व नै जोगिने सम्भावना।’

उनलाई यो पसलको माया छ। नहोस् किन, आफ्ना पुर्खाले बर्षौंदेखि धान्दै आएका पसल हो। ‘पाँच पुस्ता भयो,’ उनले गर्व गर्दै भने, ‘यही सालमा खुलेको भन्ने यकिन मिति छैन। तर, जसले खोल्नुभयो, म उहाँको खनाति हुँ।’

उनकी श्रीमती लक्ष्मी पनि पसलसँगै गाँसिएकी छन्। श्रेष्ठसँग बिहे गरेर आउँदादेखि नै। ‘म १७ वर्षकी थिएँ, उहाँसँग बिहे गरेर यहाँ आउँदा। यो पसल भरिभराउ थियो। अहिले पो यस्तो भयो,’ ७० उमेर टेक्न थालेकी उनले पनि दुःख मान्दै भनिन्।

यो पसल धर्मराएको अहिले मात्र भने होइन। झण्डै बीस वर्षअघि नै यसले आफ्नो अस्तित्व गुमाइसकेको थियो।

त्योबेला, यही पसल भएको ठाउँमा थर्मस पसल खुल्यो। पछि चिनी व्यापार गरियो। केही समय होटल पनि राखियो। यी सब देखेर श्रेष्ठको मन अमिलो हुन्थ्यो। ‘जुन पसलमा लागि सबै छाडेँ, त्यही नै नहुँदा मन पोल्यो। अनि फेरि मिठाइ व्यापार नै गर्न थाले,’ उनले भने।

त्योबला देखि यो पसलमा ‘ब्रेक’ भने लागेको छैन। अहिले पनि बिहान उनी आफैं बस्छन्। दिउँसो श्रीमती लक्ष्मी र बेलुका कहिलेकाहीँ छोराले पालो दिन्छन्।

केही समयपछि भने तीन जनामा यहाँ कोही पनि नहुने श्रेष्ठ बताउँछन्।

‘अब पसलमा दुई–चारसय रुपैयाँ व्यापार गरेर छोराहरू बस्दैनन्। जीविका चल्दैन,’ श्रेष्ठले भने, असन पनि पहिले जस्तो कहाँ रह्यो र? डिपार्टमेन्ट स्टोर भनिन्थ्यो। सवारी कम थिए। खुला ठाउँमा मान्छे किनमेल गर्दै हिँड्थे। अहिले यो सब छैन। असन नै असन रहेन, यो दुई सय वर्ष पुरानो पसलको के आश?’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.