उनी पाँचौं पुस्ता हुन्, बिरामीको नाडी छाम्ने।
उनलाई थाहा छ, अन्तिम पुस्ता पनि उनी आफैं हुन्।
भक्तपुर सुकुलढोकामा बुलुबुलु हिटीनिरै उनको वैद्य पसल छ, जहाँ अचेल औषधि कम, किराना सामान बढी बिक्छन्।
यो कथा वैद्य निर्वाणचरण अमात्यको हो, जो पुर्ख्यौली पेसा मासिन लागेकोमा चिन्तित छन्।
पसलको उमेर– झन्डै दुई सय वर्ष।
संस्थापक, कृष्णदास अमात्य।
उनका छोरा रामदास, नाति कृष्णचरण र पनाति विष्णुचरणले क्रमशः यो पेसा निरन्तरता दिए।
खनाति निर्वाण त्यही गर्दैछन्।
अब भने यो पुर्ख्यौली रित आफूसँगै टुंगिने निर्वाण बताउँछन्।
‘बाबुबाजेले सुरु गरेको पसल छैठौं पुस्तामा पुग्दैन होला,’ निर्वाणले भने, ‘एउटा छोरा विदेसियो, अर्को जागिरे छ। म र भाइ हुञ्जेल मात्र हो। अब त हामीले नै औषधि बेच्न कम गरिसक्यौं।’
उनका जेठा छोरा निरज सनराइज बैंकमा म्यानेजर छन्, कान्छा सुरज लन्डनमा। दुवै पसलमा समय दिन सक्दैनन्। छोराहरूले बाटो समातेकामा निर्वाण खुसी छन्। सँगसँगै, पुर्ख्यौली पेसा मासिन लागेकामा दुःखी।
‘समय बदलिसक्यो। आयुर्वेदिक औषधिको बजार छैन। उत्पादन गर्न गाह्रो छ। सामान पनि पाइन छाड्यो। म आफैंले किराना सामान बढी बेच्न थालेँ।’
त्यसैले त, उनको वैद्य पसल ‘निर्वाण स्टोर’ भनेर चिनिन्छ। औषधि कमै देखिन्छन्। ग्राहक पनि फाट्टफुट्ट।
सधैं यस्तो थिएन।
कुनै बेला यहाँ औषधि लिन आउनेको घुँइचो लाग्थ्यो। काभ्रे, सिन्धुपाल्चोक, दोलखादेखि आउँथे। पेट दुखेका, छाती पोलेका, बाथले थलिएका, टाउको दुखेर हैरान बिरामी खोजी–खोजी धाउँथे। बिरामीका नाडी छामेर, मुख र आँखा हेरेर निर्वाण औषधि दिन्थे।
[caption id="attachment_118807" align="alignnone" width="824"]
निर्वाणचरण अमात्य उनकी नातिनीसँग। तस्बिरः चेतना गुरागाईं/सेतोपाटी[/caption]
उनका बाबुबाजेजस्तै।
‘अब त गाउँगाउँमा डाक्टर छन्, औषधि पसल छन्। उस्तै परे काठमाडौं दौडाउन यातायात सुविधा छ,’ निर्वाणले भने, ‘एक गोली खाँदै निको हुने भएपछि वैद्यकहाँ को धाऊन्।’
‘पुर्खाको नासो हो, अस्तित्वसम्म जोगाउने प्रयास गरेका छौं।’
अहिले यो पसल निर्वाण र उनका कान्छा भाइ श्रीचरणले सम्हाल्दै आएका छन्। माइला ओमचरण पनि आयुर्वेद क्षेत्रमै छन्। जगातीमा उनको ‘ब्लुबेल हर्बल्स’ उद्योग छ। आयुर्वेदिक साबुन, क्रिम, स्याम्पु लगायत उत्पादन हुन्छ।
‘माइला भाइले यही बाटो समाते पनि गन्तव्य अर्कै भयो। कान्छा र म बाबुबाजेको पसलमै अल्झेका छौं। जति नै कमजोर भए पनि माया लाग्दो रहेछ,’ निर्वाणले भने।
किन नलागोस्, उनको जीवनको ५२ वर्ष यही पसलमा बित्यो। उनी २०२२ सालदेखि पसल चलाउँदै आएका छन्।
‘मैले पसल सम्हाल्न थाल्दा दिनको ५० देखि ७५ रुपैयाँ कमाइ हुन्थ्यो। समय बित्दै जाँदा आम्दानी राम्रो भयो। पछिल्ला १०–१२ वर्षयता भने घट्दै गएको छ। अचेल त औषधि बेचेर मुस्किलले हजार रूपैयाँ कमाइ हुन्छ। बाँकी बिक्ने किराना सामानै हो,’ उनले भने।
‘कसले बनाउँछन् यी औषधि?’
‘सबै प्याकिङका हुन्, किनेरै ल्याउने,’ उनले भने, ‘एक–दुइटा मात्र आफैं बनाउँछु।’
उनका अनुसार बट्टामा सिलबन्दी औषधि आउन थालेपछि कागजमा पोको पारेर दिने चलन हरायो। कति मान्छेलाई पोको पारेकोभन्दा बट्टाकै भर लाग्छ। आफैंले बनाएका केही औषधि भने पोको पारेरै दिन्छन्।
घरमै औषधि बनाउने क्रम पनि पहिलेजस्तो छैन। पहिले गाउँ–गाउँ डुलेर जडिबुटी खोज्थे। मरमसला किन्थे। ती सबै मिसाएर ढिकीमा कुटेपछि बल्ल औषधि तयार हुन्थ्यो। अचेल धेरैजसो बजारबाटै किन्छन्। ज्यामी बोलाएर घरैमा पिस्ने चलन हरायो। औषधि कुट्ने ढिकी प्रयोगमा नआएपछि त्यत्तिकै फालियो। घरेलु औषधिको ठाउँ आरोग्य भवन, सिंहदरबार वैद्यखाना र वैजनाथ ब्रान्डले ओगटेका छन्।
अझै केही औषधि छन्, जो उनी घरमै बनाउँछन्– खासगरी ग्यास्ट्रिक, घाँटी दुखेको, खोकी र पेट दुखेको।
यसमा जटामसी, उसीर, ठूलो ओखती, बेल, बोजो, हर्रो, बर्रो, नीम, अमला, चिराइतोजस्ता जडिबुटी प्रयोग हुन्छन्। कुनै–कुनैमा जिरा, ल्वाङ, सुकुमेल, मह, दूध, जाइफल, जेठी मधु, अलैंची, दालचिनीजस्ता मसला मिसाउनुपर्छ। पिस्न भने बाहिर ‘कल’ मै लगिन्छ।
जडिबुटी खोज्न गाउँ–गाउँ चहार्ने झन्झट पनि छैन। राजधानीका इटुम्बहाल र नरदेवीका पसलले अर्डरअनुसार घरैमा ल्याइदिन्छन्।
‘अहिलेजस्तो हो र उ बेला!’ निर्वाणले आफ्नो बाबुबाजे पालाको कथा सुनाए, ‘हिँडेरै जडिबुटी खोज्न जानुपर्थ्यो। हामी पाटनको चापागाउँ जान्थ्यौं। कच्चा जडिबुटी ल्याउँथ्यौं। सुकाउँथ्यौं। पिस्थ्यौं। लामै प्रक्रिया हुन्थ्यो। अहिले त सब यहीँ आउँछ। मात्रा मिलाएर मिसायो, मेसिनमा लगेर पिस्यो।’
‘काम त सहज भयो, तर काम सहज भएर के गर्नु, व्यापार असहज भएपछि।’
त्यतिबेला बाबुबाजे मात्र होइन, आमा–हजुरआमाले पनि औषधि बनाउने गरेको उनले बताए।
‘कस्ता औषधि?’
‘सुत्केरी औषधि। सुत्केरीलाई खुवाउने गुँदपाक, मसला र अरू ओखती। पहिले खुब बिक्थ्यो। अहिले पनि कोही–कोही त आउँछन्। गुँदपाक छैन, सुत्केरी मसला भने पाइन्छ।’
यस्तै खोजी–खोजी आउने ग्राहककै कारण आफ्नो वैद्य पसलको अस्तित्व बचेझैं उनलाई लाग्छ।
‘सधैं आयुर्वेदिक औषधि खानेलाई यसले मात्र निको बनाउँछ,’ उनले भने, ‘यो मेरो दाबी होइन, ग्राहकले भनेका हुन्। उनीहरू त अरू ओखती चित्तै बुझाउँदैनन्।’
तीमध्ये धेरै ग्राहक पुरानै भएको उनले बताए।
‘नयाँ पुस्ता आउँदैनन् त?’
‘नयाँलाई हामी बूढा वैद्यमा विश्वास लाग्दैन होला,’ उनले हाँस्दै भने, ‘पसल पनि बूढो भइसक्यो।’
यति भन्दाभन्दै उनको हाँसो निराशामा बदलियो।
‘मपछि कान्छो भाइ छ। ऊ पछि कसैले हेर्दैन। न मेरा छोराले न उसका। सबै विदेसिए।’
उनको सपना थियो, पुर्खाको पेसा पुस्तौंपुस्ता अघि बढोस्। नचाहँदा–नचाहँदै आफ्नै पालामा मासिन लागेको देख्दा उनको रहर मरेको छ, आश पनि।
‘यो जमानामा आयुर्वेदिक औषधि बेचेर म एक्लोको त गुजारा चल्दैन, छोराहरू र परिवारको कसरी चल्छ? त्यसैले कर पनि गर्दिनँ। बजार नभएपछि पसल जोगिएन भनेर टाउको फोड्न भएन!’ उनले भने।
नयाँ पुस्तालाई स–साना काममा रूचि नभएकाले पनि पुराना पसल मासिँदै गएको उनको भनाइ छ। ‘अहिलेका त कि विदेसिन्छन् कि जागिर खान्छन्। व्यवसाय नै गरे पनि ठूल्ठूला मात्र आँट्छन्,’ उनले भने।
नातिनीलाई काखमा च्यापेर दुई सय वर्ष पुरानो पसलको कथा सुनाइरहेका निर्वाणचरणले अन्तमा भने, ‘यो पसल छैठौं पुस्ताको हातसम्म पुग्दैन।’
चिन्ता, पसलको होइन।
चिन्ता, बिरामीको नाडी छाम्ने पनि होइन।
भक्तपुर सुकुलढोकामा बुलुबुलु हिटीनिरको वैद्य पसलसँगै अब वैद्य–ज्ञान पनि पाँचौं पुस्तामै सकिँदैछ, चिन्ता यही हो।