असोज २ गते प्रदेश नम्बर २ मा हुने चुनावमा पहिलो बन्ने दाबी धेरै पार्टीले गरेका छन्। कांग्रेस, एमाले, माओवादी केन्द्र र राजपाले जित्ने दाबी गरेको सिट संख्या जोड्यो भने चार सयभन्दा बढी पुग्छ। जबकि यसपालि ८ जिल्लामा चुनाव हुने स्थानीय तह संख्या १३६ मात्रै हो।
यो प्रदेशका गाउँ र नगरमा पुगेर आममतदातासँग कुरा गर्दा को पहिलो पार्टी बन्छ भन्ने केही संकेत देखिन्छन्।
सेतोपाटी टिमको हालैको स्थलगत रिर्पोटिङ र दोस्रो संविधानसभा निर्वाचनमा पार्टीहरूले ती जिल्लामा पाएको मतका आधारमा सम्भावित चुनावी परिणामबारे यो विश्लेषण गरिएको छ।
सबैभन्दा पहिला चार वर्षअघि यी ८ जिल्लामा दलहरूले समानुपातिकतर्फ पाएको मत हेरौं।
त्यो चुनाव लडेका ६ वटा मधेसवादी दलबीच एकता भएर यसपालि राजपा बनेको छ। राजपामा मिसिएका ६ मधेसकेन्द्रित दलले २०७० सालमा मधेसका जिल्लामा समानुपातिकतर्फ सबैभन्दा धेरै मत ल्याएका थिए। सदर भएको १८ लाख ७१ हजार ७ सय ४७ मतमध्ये राजपाआबद्ध दलले ३ लाख ४२ हजार १ सय ९७ मत पाएका थिए। यो जम्मा मतको १८.३ प्रतिशत हो।
यी जिल्लामा समानुपातिकतर्फ दोस्रो भएको नेपाली कांग्रेसले १६.८ प्रतिशत मत ल्याएको थियो। त्यस्तै एमालेले १५.३ र माओवादीले ११.३ प्रतिशत मत पाएका थिए।
त्यस्तै मधेसी जनअधिकार फोरम र संघीय समाजवादी पार्टी मिलेर बनेको संघीय समाजवादी फोरमले ७.४ प्रतिशत मत पाएको थियो। विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले ५.२ प्रतिशत मत पाएको थियो।
यसपालिको सम्भावित मतपरिणामको विश्लेषण एउटा महत्वपूर्ण प्रश्नबाट सुरु गर्नुपर्छ– चार वर्षअघि दलहरूले पाएको यो मत कसले बढाउँछन्, कसले घटाउँछन्?
पहिला, पछिल्लो चुनावमा सबैभन्दा बढी मत पाएको राजपालाई हेरौं।
दोस्रो संविधानसभा बेला मधेसी पार्टीहरु निकै अलोकप्रिय थिए। पहिलो संविधानसभामा निर्वाचित भएका ४ वटा मधेसी पार्टी टुक्रिएर १८ वटासम्म पुगेका थिए। यी फुटहरू मूलतः सत्ताको झिनाझपटीसँग जोडिएका थिए। त्यसैले पहिलो संविधानसभामा मधेसी पार्टीलाई मत दिएका धेरै मतदातामा असन्तुष्टि देखिन्थ्यो। दोस्रो संविधान सभामा मधेस पुगेको
सेतोपाटी टिमसँग धेरै मतदाताले भनेका थिए– मधेसी नेताहरू आफ्नै स्वार्थका लागि मात्र काम गर्छन्, सत्ताकै लागि यिनीहरू फुटेका हुन्।
पहिलो संविधानसभाका बेला मधेसी दल लामो समय सत्तामा थिए। नेताहरू सरकारमा पुगेर पनि केही गरेनन् भन्ने असन्तुष्टि मतदातामा थियो। त्यो असन्तुष्टिको असर दोस्रो संविधानसभा चुनावमा मधेसी पार्टीले मूलतः प्रत्यक्ष निर्वाचनमा भोगे। प्रत्यक्षतर्फ पहिलो संविधान सभामा २५ सिट जितेका मधेसी दल दोस्रो संविधान सभामा आइपुग्दा ८ सिटमा खुम्चिए।
समानुपातिकतर्फ भने उनीहरूको मत धेरै घटेन। देशभरि मधेसवादी दलले पहिलो संविधानसभामा ११.५५ प्रतिशत मत पाएका थिए भने दोस्रो संविधानसभामा उनीहरूको मत ११.५२ प्रतिशत थियो।
यसले के देखाउँछ भने दोस्रो संविधानसभा चुनावमा मधेसी दल मतदाताको असन्तुष्टि र फुटको सिकार भए। प्रत्यक्षतर्फको चुनावमा मधेसी पार्टीले नै एकअर्काको भोट काटेपछि उनीहरूले धेरै स्थानमा हारे।
यसपालि दुई नम्बर प्रदेशमा भइरहेको स्थानीय चुनावमा राजपालाई एकताको लाभ छ। ६ वटा पार्टी एक भएर लडेपछि प्रत्यक्ष निर्वाचनमार्फत् चुनिने स्थानीय नेतृत्वमा यी पार्टीको मत छरिँदैन।
अर्को प्रश्न, दोस्रो संविधानसभायता राजपाको मधेसमा लोकप्रियता घट्यो कि बढ्यो भन्ने हो।
सेतोपाटी टिम मधेसका गाउँ र नगरमा पुग्दा राजपाप्रति मतदाताको असन्तुष्टि देखिएन। दोस्रो संविधानसभामा मधेसी दललाई जसरी मतदाताले गाली गरेका थिए, यसपालि त्यो सुनिएन।
संविधान जारी भएलगत्तै सुरू भएको मधेस आन्दोलनदेखि अहिलेसम्म संविधान संशोधनको विषय निरन्तर उठाउँदै आएको राजपाप्रति आम मधेसी मतदाताको सहानुभूति नै देखियो। त्यस्तो सहानुभूति विशेष गरी नगर क्षेत्रका मतदाता र युवामा धेरै भेटियो।
२०७० को चुनावमा कांग्रेस, एमाले र माओवादीजस्ता प्रमुख पार्टीलाई भोट हालेका कतिपय मतदाताले यसपालि राजपालाई भोट दिन्छौं भने। तर राजपामा समेटिएका पार्टीलाई अघिल्लोपटक मत दिएका कोही पनि मतदाता हामीले भेटेनौं, जसले यसपालि कांग्रेस, एमाले वा माओवादीलाई भोट दिन्छु भने।
यसले पनि यो चुनावमा सहानुभूतिको हावा कतातिर बगेको छ भन्ने देखाउँछ। त्यसैले राजपाले दुई नम्बर प्रदेशमा यसपालि पाउने मत २०७० को चुनावभन्दा घट्ने होइन बढ्ने सम्भावना छ।
यिनै कारणले वीरगन्ज, जनकपुर, राजविराजजस्ता मधेसका मुख्य सहरमा राजपाका उम्मेदवार बलियो प्रतिस्पर्धामा देखिएका छन्।
राजपाको सबैभन्दा ठूलो चुनौती मधेसी मत कति विभाजित हुन्छ भन्ने हो। त्यही कुरा मधेसकेन्द्रित अन्य दुई दल, संघीय समाजवादी र नेपाल लोकतान्त्रिक फोरमका हकमा पनि लागू हुन्छ।
यी तिनै दल प्रतिस्पर्धामा रहेका ठाउँमा एकले अर्काको मत काट्छन्। मधेसी मत विभाजित हुन्छ। त्यसको फाइदा प्रमुख दलहरूलाई हुन्छ।
उदाहरणका लागि जनकपुरमा राजपाको तुलनामा दुई फोरम धेरै कमजोर छन्। त्यसले राजपालाई कांग्रेससँगको प्रतिस्पर्धामा धेरै सहज बनाएको छ। तर वीरगन्जमा तीनै मधेसी दलका उम्मेदवार प्रतिस्पर्धामा छन्। यी तीन दल एक भएको भए वीरगन्जको मेयरमा प्रमुख दलको कुनै सम्भावना हुने थिएन। राजपाबाट फुटेर विमल श्रीवास्तव लोकतान्त्रिक फोरमका उम्मेदवार नबनेका भए पनि राजपालाई जित्न वीरगन्जमा अर्को प्रमुख प्रतिस्पर्धी दल कांग्रेसलाई गाह्रो हुन्थ्यो। मधेसी मत विभाजित भएकै कारण वीरगन्जमा कांग्रेस बलियो प्रतिस्पर्धीका रूपमा देखिएको छ।
मधेस आन्दोलनको मुख्य सहानुभूति राजपासँग भए पनि उपेन्द्र यादवको समाजवादी फोरमले सुरूदेखि नै मधेस आन्दोलनको नेतृत्व गरेकाले त्यसप्रतिको आकर्षण पनि कम भएको छैन।
फोरमले २०७० सालको निर्वाचनमा समानुपातिकतर्फ राजपाको आधाजति मत पनि पाएको छैन। तर राजपाको तुलनामा फोरमको संगठन कसिलो छ।
६ वटा पार्टी मिलेर भर्खरै बनेको राजपाको संगठन तल्लो तहसम्म एक हुनै बाँकी छ। एकजुट भइनसकेको राजपाको संगठन आफ्ना उम्मेदवारका पक्षमा कति दिलोज्यान दिएर लाग्छ त्यो उसका लागि अर्को चुनौती हो। अाखिर टिकट पाउने राजपामा मिलेका ६ मध्ये कुनै एक दलको नेताले हो। बाँकी पाँच दलका नेता कार्यकर्ता राजपा उम्मेदवारलाई जिताउन मनैदेखि कति लाग्छन् त्यसमा प्रश्न छ। उम्मेदवारी चयनमा असन्तुष्टि देखाउँदै पर्सा, महोत्तरी र सर्लाहीका कैयन् राजपा नेता कार्यकर्ताले पार्टी छाडेका छन्।
मधेसमा जातीय भोट पनि अर्को महत्वपूर्ण ‘फ्याक्टर’ हो। दुई नम्बर प्रदेशका लगभग सबै जिल्लामा ठूलो संख्यामा रहेको ‘यादव भोट’का कारण पनि यादव नेतृत्वको फोरम धेरै ठाउँमा प्रतिस्पर्धामा छ।
तीन मधेसी दलमध्ये विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम कमजोर देखिएको छ। ऊसँग मधेस आन्दोलनको सहानुभूति पनि छैन। यी ८ जिल्लामा थारूको जातीय भोट पनि तुलनात्मक रूपमा कम छ। पछिल्लो संविधानसभा चुनावमा पनि यी जिल्लामा लोकतान्त्रिक फोरमको समानुपातिक मत पाँच प्रतिशतमा सीमित थियो।
प्रमुख दलमध्ये एमाले राजमार्ग वरिपरिका स्थानीय तहमा बलियो छ। राजमार्ग दक्षिणका मधेसीबहुल क्षेत्रमा भने एमालेप्रति असन्तुष्टि नै धेरै देखियो। पहिले एमालेलाई भोट दिएका मधेसी मतदातामध्ये केहीले यसपालि मधेसवादी दललाई मत दिने हामीलाई बताए। परम्परागत रूपमा एमालेलाई भोट दिएका मतदाताको ठूलो हिस्सा भने अहिले पनि त्यो पार्टीप्रति प्रतिबद्ध छ। त्यसकारण आफूले प्रत्यक्षतर्फ सांसद जितेका दुई नम्बर प्रदेशका मधेसीबहुल क्षेत्रका स्थानीय तहमा पनि एमालेले जित्नेछ।
संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको उपस्थिति भने अरूको तुलनामा मधेसमा सबैतिर छ। पछिल्लो संविधानसभामा ८ जिल्लाको समानुपातिक मतमा कांग्रेस राजपापछि दोस्रो हो।
यसपालि कांग्रेसको सबैभन्दा ठूलो चुनौती अघिल्लो पटकका सबै मत जोगाई राख्नु हो। मधेस आन्दोलनको सहानुभूतिका कारण अघिल्लोपटक कांग्रेसलाई मत दिएका उल्लेख्य मतदाताले यसपालि मधेसवादी दललाई भोट दिने
सेतोपाटीलाई बताए। संविधान संशोधन गर्ने प्रयत्नको नेतृत्व गरेको कांग्रेसलाई त्यसको जस भने मधेसमा प्राप्त हुने हामीले पाएनौं। यसअघि मधेसवादी दललाई भोट हालेका कुनै पनि मतदाताले यसपालि कांग्रेसलाई भोट दिने बताएनन्।
कांग्रेस अहिले सत्ताको नेतृत्वमा छ। प्रत्यक्षतर्फ प्रदेश नम्बर २ बाट सबैभन्दा धेरै सांसद जित्ने पार्टी पनि हो। यो चुनावमा यी दुवै कुराको लाभ कांग्रेसलाई प्राप्त हुन्छ। कुनै पनि स्थानीय तहमा मधेसी मत जति बाँडियो, कांग्रेसलाई त्यति नै फाइदा हुन्छ।
कांग्रेसको यसपालिको अर्को चुनौती, एकीकृत राजपा हो। मधेसी मध्यम वर्गको मत तान्न यी दुवै पार्टीबीच प्रतिस्पर्धा हुने गर्छ। मध्यम वर्गीय युवा, कर्मचारी तथा पेसाकर्मीको सहानुभूति यसपालि कांग्रेसभन्दा एकीकृत राजपाप्रति छ। राजपाको तुलनामा कांग्रेसलाई यादव र मुस्लिम भोट भने धेरै आउँछ।
प्रत्यक्षतर्फ यो प्रदेशमा ८ सिट जितेको माओवादी केन्द्रका केही स्थानीय तहमा ‘पकेट भोट’ छन्। यसपालि माओवादीको पनि केही भोट मधेसवादी पार्टीले लैजाने छन्। तर आफ्नो पकेट क्षेत्रका धेरै स्थानीय तहमा माओवादीले जित्नेछ।
पछिल्लो संविधानसभा निर्वाचनमा दुई नम्बर प्रदेशमा समानुपातिकतर्फ चौथो बढी मत पाएको माओवादीले यसपालि धेरै सुधार गर्ने सम्भावना भने कमै छ।
पछिल्लो पटकको समानुपातिक मत र राजपाप्रति यसपालि मधेसमा देखिएको सहानुभूतिलाई हेर्दा यो पार्टीले नै २ नम्बर प्रदेशमा सबैभन्दा बढी मत ल्याउने सम्भावना छ। प्रश्न, यो मत राजपालाई सबैभन्दा धेरै स्थानीय तहमा नेतृत्व दिलाउन पर्याप्त हुन्छ वा हुन्न भन्ने मात्र हो।
प्रत्यक्ष निर्वाचनमार्फत् स्थानीय तहको नेतृत्व छान्दा मतदाताका लागि पार्टीका साथै उम्मेदवार पनि महत्वपूर्ण पक्ष हो। पहिलोपटक स्थानीय चुनाव लड्दै गरेका राजपा उम्मेदवार मतदाताका लागि कति आकर्षक देखिन्छन् र उनीहरू चुनावी दाउपेचमा प्रमुख दलका उम्मेदवारलाई मात गर्न सक्छन् कि सक्दैनन् त्यसमा पनि मतपरिणाम निर्भर हुनेछ।