प्रदेश नम्बर २ को पूर्वी सहर राजविराजमा हरेक चार घरपछि बाटो आउँछ। सहरमा पार्क, पोखरी, क्याम्पस, अस्पताल, मन्दिर, पार्किङ, बसपार्क सबैथोक चाहिने ठाउँमा बनाइएका छन्।
नेपालमा थोरै सहर छन्, जुन यति ब्यवस्थित हिसाबले बनाइएका छन्। आधुनिक सहरको अवधारणामा टेकेर ६० वर्षअघि योजनाबद्ध ढंगले स्थापना गरिएको सहर हो राजविराज।
तर आजका दिनमा नेपालमा थोरै सहर होलान् जो राजविराज जति अस्तव्यस्त छन्। राजविराजका सडकमा खाल्डाखुल्डीका टाटाले भरिएका छन्, चोकमा फोहोर थुप्रिएको छ। यहाँका अस्पताल, विद्यालय र क्याम्पसको गुणस्तर खस्केको छ।
पूर्व-पश्चिम राजमार्गको रूपनी बजारबाट १० किलोमिटर दक्षिणमा पर्ने राजविराज, जो सप्तरी जिल्लाको सदरमुकाम र पञ्चायत कालमा सगरमाथा अञ्चलकै सदमुकाम थियो, अहिले यसले आधुनिक सहरको कुनै छनक दिदैन।
असोज २ गते दुई नम्बर प्रदेशका अरू गाँउ, सहरसँगै राजविराजले पनि योजनाबद्ध र पुरानो नगरको छवी उकास्न २० वर्ष पछि नयाँ मेयर चुन्दैछ।
यहाँ राष्ट्रिय जनता पार्टी, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरमका उम्मेदवारबीच तीव्र प्रतिष्पर्धा छ भने नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवार पनि धेरै पछि छैनन्।
राजविराज नगरका १६ वडामध्ये १० वडाका चार दर्जन बढी सर्वसाधारणसँग सेतोपाटीले कुराकानी गर्दा राजविराजमा राजपा बलियो देखिएको छ। हामीले कुराकानी गरेकामध्ये २७ प्रतिशतले राजपालाई मत दिने बताए। तीमध्ये धेरैले यसअघि राजपामा एकता भएका छ मधेसी पार्टी मध्ये कुनैलाई भोट हालेका थिए।
तर २०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेस, एमालेलगायतका पार्टीलाई भोट हालेका कतिपयले पनि यसपालि राजपालाई भोट हाल्ने बताए।
मधेस आन्दोलनमा राजपाको भूमिकाका कारण उसलाई भोट दिन लागेको उनीहरुको तर्क छ। राजविराज– ४ का बजरंगप्रसाद साहले मधेस आन्दोलनमा यहाँका जनता सहिद भएकाले राजपालाई नै भोट दिने बताए।
‘मैले पहिला एमालेलाई भोट दिन्थेँ, तर संविधान संशोधनको माग राखेर राजपाले आन्दोलन गर्यो त्यतिबेला सरकारमा रहेको एमालेले त्यो आन्दोलनलाई सुनेन, त्यही भएर म यो पालि राजपालाई भोट हाल्छु’, उनले भने।
यसअघि कांग्रेसलाई भोट हालेका राजविराज ८ का सुरेशकुमार रंगटाले यसपालि राजपालाई भोट दिने बताए। ‘यहाँ कांग्रेसले सही उम्मेदवार छान्न सकेन। कांग्रेसभन्दा मलाई राजपा उम्मेदवार व्यक्तिगत रूपमा मन परेको छ। पार्टीभन्दा पनि व्यक्ति हेरेर भोट हाल्दैछु,’ उनले भने।
राजपाको कडा टक्कर माओवादी केन्द्रसँग देखिन्छ। हामीले कुराकानी गरेकामध्ये १७ प्रतिशतले मेयरमा माओवादी केन्द्रका उम्मेदवार अनिश अन्सारीलाई मत दिने बताए।
यहाँ माओवादीको उपस्थिति पनि बलियो हुनुका पछाडि दुई कारण छन्।
पहिलो, गत संविधान सभा चुनावमा राजविराज नगर पनि पर्ने सप्तरीको निर्वाचन क्षेत्र नम्बर ३ बाट माओवादीका उमेश यादव विजयी भएका थिए। यादवलाई भोट हालेका धेरै मतदाता यसपालि माओवादीलाई नै भोट हाल्ने बताए। सिँचाइ मन्त्री हुँदा यादवले यो क्षेत्रमा प्रशस्त बजेट ल्याएको यहाँका स्थानीयको भनाइ छ। नगरमा पनि माओवादी नेतृत्व आए केन्द्रदेखि नगरसम्म काम गर्न सजिलो हुने केहीको तर्क छ।
दोस्रो, मुस्लिम समुदायको मत हो। कुल ३५ हजार मतदाता रहेको राजविराजमा १० प्रतिशत भन्दा बढी मुस्लिम मतदाता छन्। माओवादी केन्द्रका उम्मेदवार अन्सारी मेयरमा मुस्लिम समुदायका एक्ला उम्मेदवार हुन्। मुस्लिम उमेद्वारका पक्षमा प्रायः एकलौटी भोट हाल्ने मुस्लिम समुदायले अन्सारीलाईनै भोट दिए प्रवल सम्भावना रहन्छ।
माओवादीको पार्टीगत भोट र मुस्लिम समुदायको एकलौटी भोट पाए भने अन्सारी पनि राजविराजमा मेयरको बलियो दावेदार बन्छन्।
राजविराज ४ का आलम अन्सारीले माओवादी उम्मेदवारलाई दिएको मत खेर नजाने बताए। ‘अनिश अन्सारी राम्रो मान्छे छ, उसलाई दिएको भोट खेर जान्न त्यही भएर म उसैलाई भोट हाल्छु,’ उनले भने।
राजविराजमा संघीय समाजवादी फोरमको पनि उपस्थिति बलियो छ। फोरमले व्यापारिक पृष्ठभूमिका भीमराज यादवलाई मेयरमा उठाएको छ। उनी साधन श्रोतका हिसाबले बलिया उम्मेद्वार हुन्। उनलाई राजविराजमा यावदहरुको उल्लेख्य उपस्थितिको पनि फाईदा हुनेछ। फोरमको नेतृत्व गरिरहेका उपेन्द्र यादवका कारण पनि यहाँका धेरै यादव मतदाता फोरम तर्फ आकर्षित छन्। राजविराज नगरका लगभग २० प्रतिशत मतदाता यादव छन्। हामीले कुराकानी गरेकामध्ये १५ प्रतिशतले मेयरमा फोरमका यादवलाई मत दिने बताए।
राजविराज नगरको सबैभन्दा बढी (३११०) मतदाता रहेको वडा नम्बर ९का स्थानीय हुन् यादव। यसको पनि केही लाभ उनलाई मिल्नेछ।
मलेठका रामअवतार मण्डलले वडाअध्यक्षमा कांग्रेसलाई मत दिए पनि मेयरमा भिमराज यादवलाई मत दिने बताए। ‘हामीले वडामा कांग्रेसलाई र मेयरमा भीम दाइलाई मत दिने सल्लाह गरेका छौं। आफ्नै वडाको मान्छे मेयर भयो भने पछि राम्रो हुन्छ,’ उनले भने।
त्यसो त राजविराजमा कांग्रेसको पनि परम्परागत उपस्थिति छ। हामीले कुराकानी गरेकामध्ये १२ प्रतिशतले कांग्रेसलाई मत दिने बताए। आफूले पहिलादेखि नै मत हालेको पार्टी भएकाले यसपालि पनि कांग्रेसलाई नै मत दिने उनीहरु तर्क राख्छन्।
‘हामी त पहिलादेखि नै कांग्रेस हो। जितोस् कि हारोस् त्यो मलाई मतलब छैन,’ राजविराज– १५ का महिनारायण साहले भने। कांग्रेसका लागि चुनौतीचाहिँ आफ्ना पुराना मतदाता जोगाइ राख्नु हो। हामीले कुराकानी गरेकामध्ये धेरैले यसअघि कांग्रेसलाई मत दिए पनि यसपालि राजपालाई मत दिने बताए।
आफ्ना मतदातालाई जोगाएर अरू थप भोट बटुल्यो भने मात्र राजविराजमा कांग्रेस प्रतिष्पर्धी बन्नेछ।
नेकपा एमालेको उपस्थिति भने राजविराजमा कमजोर छ। उसको प्रचारप्रसार पनि अरू पार्टीको तुलनामा कमै छ। हुनत राजविराजको सबैभन्दा धेरै मतदाता भएको मलेठ एमालेको प्रभाव क्षेत्र हो । तर एमालेको आभसभामा मलेठमै पाँच जनाको मृत्यु भएकोले एमाले अहिले रक्षात्मक अवस्थामा छ।
हामीले कुरकानी गरेका मध्ये ६ प्रतिशतले मात्र एमालेलाई मत दिन्छु भने। आफू बिगतदेखि नै एमाले भएकोले एमालेलाई मत दिने राजविराज ७ का शिवनारायण यादवले बताए।
‘एमाले मधेस विरोधी पार्टी होइन। यसलाई आरोप मात्रै लगाइएको हो। एमालेले नै देशको विकास गर्छ,’ उनले भने।
नेपाल लोकतान्त्रिक फोरमका उमेदवार शैलेशकुमार चौधरीको पक्षमा जनमत धेरै नभए पनि उनी राजविराजका परिचित अनुहार हुन्। उनले पाउने मत जितका लागि निर्णायक हुन नसके पनि उनको मतले नतिजा बदलिन सक्छ । किनकि उनी यसअघिका मेयर समेत हुन्।
सप्तरीको चुनावमा मत विभाजन प्राय: यादव र गैरयादवबीच विभाजित हुन्छ।
हामीले कुराकानी गरेका मध्ये बीस प्रतिशत मतदाता खुल्न चाहेनन्। यहीं मत नगरपालिकोको मेयरको जितका लागि निर्णायक हुन सक्छ। राजविराज ७ का जुगेश्वर यादवले भोट दिने खालको उम्मेदवार आफूले नदेखेकोले कसलाई दिने भनेर निर्णय नगरेको बताए ।
‘राजविराजको राजनीतिमा इमान्दारिता भन्ने कुरै भएन, नत सिद्धान्त नै बाँकी रह्यो,’ उनले भने,‘मधेस आन्दोलनमा ज्यानको बाजी राखेर होमिएको व्यक्ति एमालेमा गएको छ।’ आफूले यसअघि कांग्रेस एमाले सबैलाई मत दिइसकेको उनले बताए ।
राजविराज ७ का अर्का मतदाता सन्तोष गुप्ताले पनि कसलाई मत दिने भनेर निर्णय गरिसकेका छैनन्। ‘भोट हाल्ने दिनसम्म जुन पार्टीले जित्ला जस्तो लाग्छ त्यसलाई भोट दिन्छु। यसअघि त मैले माओवादी केन्द्र भोट हालेको हो। यसपाली कुन पार्टीलाई भोट दिन्छु थाहा छैन,’ उनले भने।
राजविराजको चुनावमा यहाँको जातिय फ्याक्टर महत्वपूर्ण हुनेगर्छ। यादव जातीको बाहुल्यता रहेको राजविराजमा राजपा, संघीय समाजवादी फोरम र एमालेबाट यादव समुदायकै व्यक्ति उम्मेदवार बनेका छन्। मुस्लिम समुदायको मत तान्नका लागि माओवादी उम्मेदवार रहेका छन् । विशेष गरी थोरै थोरै संख्यामा रहेका र यादव बाहेकका अन्य समुदायको मत कसलाई जान्छ भन्ने कुरा पनि महत्वपूर्ण छ।
कुल ३५ हजार मतदाता रहेको राजविराजमा दलहरुबीचको तिब्र प्रतिश्पर्धा देखिएकोले मत बाँढिने छ। जसले ६ देखि ८ हजार मत ल्याउँछ, त्यही विजयी हुने आंकलन धेरैको छ।
अहिलेसम्मको मतदाताको मनस्थिति र चुनावी माहोल हेर्दा भने राजपा र माओवादी केन्द्र बिचनै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।