वीरगन्जमा पहाडी समुदायको दुबिधा


मधेस आन्दोलन र भारतले लगाएको ६ महिना लामो नाकाबन्दीले वीरगन्जलाई भित्रैदेखि हल्लाइदिएको थियो। नेपालका अरु सीमामा नाकाबन्दी खुकुलो भए पनि यहाँ ठप्प थियो। अहिले पनि यहाँका व्यापारीदेखि सर्वसाधारणले त्यो कष्टकर समय बिर्सिन सकेका छैनन्।

पहाडी समुदायको उल्लेख्य उपस्थिति रहेको वीरगन्जमा सामाजिक तनावका संकेत प्रशस्तै देखिन थालेका थिए। त्यो तनाव हिंसामा नबदलियोस् भनेर सचेत स्थानीयले वीरगन्जमा सद्भावना र्‍याली निकाले। त्यत्रो लामो अान्दोलन भएर पनि वीरगन्जमा मधेसी र पहाडी समुदायबीच सद्भाव खल्बलिन पाएन।

नाकाबन्दीपछिको एक वर्षमा तंग्रिँदै गरेको वीरगन्ज स्थानीय चुनावको रौनकले तातेको छ। चुनावको तापमा पहाडी-मधेसीबीच त्यो बेलाको तुष पनि सुषुप्त देखिन थालेको छ। मधेस आन्दोलनको नेतृत्वकर्ता राष्ट्रिय जनता पार्टी (राजपा) ले पहाडी मूलका राजेशमान सिंह श्रेष्ठलाई चुनावमा उठाएपछि कतिपय मधेसी र पहाडी मतदाता उनलाई भोट दिने की नदिने दुबिधामा छन्।

त्यो दुविधा विशेषगरी पहाडी समुदायमा अझ देखिन्छ।

छपकैयामा भेटिएका ठकुरी थरका एक व्यक्तिलाई हामीले ‘कसलाई भोट हाल्नुहुन्छ’ भनेर सोधेका थियौं।

वरिपरि उभिएर आफ्ना कुरा सुनिरहेका मधेसी केटाकेटीतिर हेरेर उनी केही बेर अडिए। उनीहरु गएपछि हामीसँग बोल्न तयार भए। यताउता हेरेपछि उनले भने, ‘हेर्नुस् राजेशमान पहाडी भएर पनि मधेसी दलबाट उठेको छ, यसले पहाडी समुदायका धेरैलाई कसलाई भोट हाल्ने भन्ने दुबिधा छ। कति मधेसी पनि दुबिधामा छन्।’

त्यही कारण आफूले कांग्रेसलाई भोट हाल्ने निर्णय गरेको उनले बताए।

वीरगन्जको बिर्ता टोलमा भेटिएकी श्रेष्ठ थरकी एक महिलाले अझै कसलाई भोट दिने भनेर सोचिसकेकी छैनन्। राजेशमानलाई भोट दिन मन भए पनि उनी उठेको दल मन नपरेको उनी बताउँछिन्।

‘राजेशमान मान्छे त राम्रो छ। तर, ऊ मधेसवादी पार्टीबाट उठेको छ। हामीलाई मधेसवादी दलहरु अलिक मन पर्दैन क्या,’ उनले हाँस्दै भनिन्, ‘खै, कसलाई भोट दिने म त धुकचुकमा छु।’

राजेशमान मन परे पनि उनको पार्टी मन नपराउने मानन्धर थरका अर्का मतदाता पनि भेटिए। छ महिना लामो नाकाबन्दी बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रका लागि लिएको अडान उनलाई खुबै मन परेको रहेछ।

‘नाकाबन्दी सम्झेर एमालेलाई भोट हाल्ने थिएँ, तर उसले बसरुद्दीनलाई उठाएको छ,’ मानन्धर भन्छन्, ‘स्थानीय चुनावमा व्यक्ति पनि हेरिन्छ। हेर्दा राजेशमानलाई दिनुजस्तो हुन्छ। तर ऊ मधेसी दलबाट उठेको छ। त्यसैले दिनु, नदिनु भै’राछ।’

राजेशमानको उम्मेदवारीलाई पहाडी समुदायका कतिले भविष्यमा आफ्नो सुरक्षासँग पनि जोडेर हेरेका छन्।

करिब ६-७ हजार संख्यामा रहेको पहाडी समुदायको एउटा चासो भविष्यमा हुनसक्ने मधेस आन्दोलन बेला फेरि वीरगन्जमा सामाजिक तनाव नबढोस्, हिंसा नभड्कियोस् भन्ने हो। राजेशमानले राजपा उम्मेदवारका रुपमा मेयर जिते त्यस्तो सम्भावित तनाव बेला राम्रो भूमिका खेल्न सक्छन् भन्ने पहाडी समुदायका धेरैको विश्वास छ।

माईस्थान चोकका मनोज श्रेष्ठ एमाले समर्थक हुन्। उनी पनि भविष्यको सुरक्षाका खातिर धेरै पहाडी समुदायका मतदाताले राजेशमानलाई मत दिने बताउँछन्।

‘म त पहिलेदेखि नै एमालेलाई भोट दिँदै आएको हुँ, यसपालि पनि उसैलाई जान्छ। तर, यहाँ राजेशमानलाई धेरै पहाडीले भोट हाल्ने छन्। आन्दोलन बेला राजेशमानकै कारण पहाडीहरुलाई यहाँ बस्न सजिलो भएको थियो,’ उनले भने।

पहाडी समुदायको बाहुल्य रहेको बिर्ताका सुरेश श्रेष्ठको पनि यही मत छ।

‘मधेस-पहाड विभाजन भयो र दंगा भड्कियो भने राजेशमानले हामीलाई बचाउँछ, उसले त्यो हैसियत बनाएको छ र मधेसीहरुले पनि उसले भनेको मान्छन्,’ श्रेष्ठ भन्छन्, ‘म पनि राजेशमानलाई भोट दिन्छु।’

राजेशमानलाई नै भोट माग्न हिँडेका कतिपय पहाडीको मन राजपाका लागि भोट मागिरहेकाले उतिसाह्रो खुसी भने छैन। राजेशमानको प्रचार सकेर सुस्ताइरहेका तीन महिलालाई हामीले ‘प्रचारप्रसार कस्तो छ’ भनी सोधेका थियौं। तीमध्ये एक महिलाले अाफ्नो नाता पर्ने भएर मात्र राजपा उम्मेदवारका लागि भोट मागेको बताइन्।

सबैभन्दा ठूलो दुबिधामा त ३४ वर्षीय स्थानीय युवा भारत भूषण रुपाखेती छन्।

उनका बुवा मधेसी दलबाट वडाध्यक्ष उठेका छन्।

संघीय समाजवादी फोरमबाट वडामा उम्मेदवार बनेका बुवाको चुनाव प्रचारका लागि उनी आइएनजिओमा सिभिल इन्जिनियरको जागिर छाडेर वीरगञ्ज आएका  छन्। बुवा मधेसवादी दल फोरमबाट उम्मेदवार बनेको उनलाई कत्ति मन परेको छैन। उनले बुवाको प्रचारका लागि अहिलेसम्म फेसबुकमा केही लेख्ने हिम्मतधरि जुटाएका छैनन्। बहिनीहरुले भने उनलाई कम्तिमा फेसबुकबाट प्रचार गर्न कत्ति आग्रह गरिसके।

‘बुवा उम्मेदवार बनिसक्नुभयो, अब त फेसबुकमा पनि पोस्ट गर्छु होला,’ उनले भने, ‘आफ्नो फेसबुकमा मधेसकेन्द्रित दलहरुको आलोचना गर्दै विगतमा कति लेखियो, अहिले बुवा तिनै दलसँग जोडिनुभयो।’

मधेसवादी दलहरुले वीरगन्जमा पहाडी मूलका उम्मेदवार उठाउनुले वास्तवमै सामुदायिक सद्भावको राम्रो संदेश गएको छ। भविष्यमा आउन सक्ने सम्भावित तनाव कम गर्न पनि महत्वपूर्ण भूमिका खेल्नेछ।

हिजोको मधेस आन्दोलन र नाकाबन्दी बेलाको सम्झना र तुष ताजै रहेकाले पहाडी समुदायका कतिपय मतदातामा मधेसी पार्टीलाई भोट दिने कि नदिने भन्ने दुबिधा छ। हामीले कुरा गरेकामध्ये झन्डै एक दर्जनमा त्यो दुबिधा प्रस्टै देखिन्थ्यो।

पहाडी समुदायका धेरैले राजेशमानलाई भोट दिए भने मात्रै राजपाको मेयर जित्ने सम्भावना बलियो हुन्छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.