सिरहाको पूर्व-पश्चिम राजमार्गमा पर्ने लहान नगरपालिका मधेस आन्दोलनको उद्गम बिन्दु हो। संघीयताबिनै अन्तरिम संविधान ल्याएको भन्दै २०६३ माघमा तत्कालिन मधेसी जनाधिकार फोरमले आन्दोलन थालेको थियो। संविधान जारी भएको दुई दिनपछि माघ ३ गते फोरम अध्यक्ष उपेन्द्र यादवले काठमाडौंमा अन्तरिम संविधान जलाएर आन्दोलनको बिउ रोपेका थिए।
त्यसपछि संविधानको विरोधमा मधेस बन्द भयो। लहान पनि ३ गतेदेखि नै बन्द थियो। दुई दिन बन्द सामान्य रहे पनि माघ ५ गते साँझ साढे ४ बजेतिर माओवादीका नेता चढेको गाडीलाई जनकपुर पठाउन प्रहरीले स्कर्टिङ गर्न खोज्यो। प्रदर्शकारीले गाडी रोक्न खोजे। त्यही क्रममा गोली चल्यो। गोली लागेर एसएलसी परीक्षाको तयारी गरिरहेका रमेश महतोको ज्यान गयो।
रमेशको ज्यान गएको अर्को दिनदेखि आन्दोलन मधेसभरि सल्कियो। धेरै जनाले ज्यान गुमाए। अन्त्यमा सरकार झुक्यो। प्रमुख दलहरु अन्तरिम संविधानमा संघीयता राख्न राजी भए।
‘संघीयता र मधेस मुद्दा जबरजस्त रूपमा स्थापित गर्ने काममा लहानको अग्रणी भूमिका छ,’ संघीय समाजवादी फोरमका जिल्ला सदस्य रामचलितर महतोले भने।
त्यसपछि पनि मधेशमा पटक पटक आन्दोलन भएका छन्। ती सबै आन्दोलनमा लहान अग्रणी मोर्चामा हुने गरेको छ।
त्यही लहानमा रमेश महतोको 'शहादत' को ११ वर्षपछि हुन लागेको स्थानीय निर्वाचनमा कसले जित्ला भन्ने मधेस र मुलुकको लागिनै चासोको विषय हो।
्
दोस्रो चरणको स्थानीय सरकारका लागि सात नम्बर प्रदेशमा भएको निर्वाचनमा कैलालीको टिकापुर त्यस्तो नगर थियो जसले मानिसको ध्यान तानेको थियो। टीकापुरमा संघीयताको सीमांकनलाई लिएर हिंसा भड्किँदा आठ जनाको ज्यान गएको थियो।
कैलाली र कञ्चनपुरका थारू समुदायको ठूलो हिस्साको माग यी दुवै जिल्लालाई पाँच नम्बर प्रदेशमा राखिनुपर्छ र पहाडी जिल्लालाई यो प्रदेशमा मिसाइनु हुन्न भन्ने हो।
पाँच नम्बर प्रदेशको सीमाकंन चलाउने विषयमा अनुदार देखिएको एमालेले थारूहरूको ठूलो जनसंख्या रहेको टिकापुर जितेर धेरैलाई चकित पार्यो।
तेस्रो चरणको चुनावमा एमाले लहानमा बलियो देखिएको छ। के एमालेले जित हात पारेर लहानलाई पूर्वको टिकापुर बनाउन सक्छ?
२४ वडा रहेको लहान नगरपालिकामा झण्डै आधा लाख मतदाता छन्। सेतोपाटीले लहानका विभिन्न वडाका करिब पाँच दर्जन मतदातासँग कुराकानी गर्दा यो नगरको मेयरका लागि एमाले उम्मेदवार मुन्नी साह प्रमुख दाबेदार देखिएका छन्। उनको प्रतिष्पर्धीका रूपमा संघीय समाजवादी फोरम र नेपाली कांग्रेसका उम्मेदवार छन्। राजपा र राप्रपाका उम्मेदवारको पनि यहाँ राम्रै उपस्थिति छ।
हामीले कुराकानी गरेकामध्ये ४० प्रतिशत मतदाताले मेयरमा एमाले उम्मेदवारलाई मत दिने बताए। लहान– ५ का फकिर मोहम्मद सिद्धिकीले एमाले उम्मेदवार मुन्नी साह नै यसपालि मेयर चुनिने दाबी गर्छन्। मुन्नी साहको वडाका मतदाता उनले यो वडामा रहेका धेरै मुस्लिमले साहलाईनै भोट दिने बताए।
लहान– ३ की धुर्मीदेवी साफीले पनि एमालेलाई नै मत दिने निर्णय गरेकी छन्। ‘मेरो मनमा एमाले छ, पहिलादेखि नै सूर्यमै भोट हाल्दै आएको हो, अहिले पनि एमालेलाई नै भोट दिन्छु,’ साफीले भनिन्।
लहानमा एमाले उम्मेदवार बलिया हुनुका दुई कारण छन्।
पहिलो, मुन्नी साहको ब्यक्तिगत प्रभाव। साह २०५४ मा एमालेबाट लहानको मेयर निर्वाचित भएका थिए। आफ्नो कार्यकाल उनले लहानमा गरेको काम धेरै मतदाता अहिले पनि सम्झिन्छन्।
लहान– १७ का लक्ष्मी पासवानले साहले 'विकास गर्ने' भएकाले उनैलाई मेयरमा भोट दिने बताए। ‘ऊ त्यो खुट्टी खोलामा पुल बनाउने मुन्नी नै हो,’ पासवानले भने, ‘मुन्नीले जितेपछि यहाँको विकास हुन्छ। त्यही भएर उसैलाई भोट दिने हो।’
लहानमा शाहको व्यक्तिगत प्रभाव कति छ भने गत संविधान सभामा एमाले छोडेर माओवादीबाट उम्मेदवार बनेका उनले सिरहा– १ मा दोस्रो बढी मत पाएका थिए। सिरहा १ मा अहिलेको लहान नगरपालिका पर्छ। त्यतिबेला मुन्नीलाई हराएका कांग्रेस उम्मेदवार पद्मनारायाण चौधरीले १२ हजार १८३ मत पाएका थिए मुन्नीको मत ८ हजार २ सय ७७ थियो। मुन्नीले माओवादीका कारण होइन आफ्नै बलबुतामा त्यति भोट ल्याएका थिए।
लहानमा एमाले बलियो हुनुको दोस्रो कारण, उसको संगठन हो। संविधान जारी पछिको मधेस आन्दोलनमा कतिपय ठाँउमा एमालेको संगठन धर्मराए पनि लहानका एमाले कार्यकर्ताले संगठनलाई जोगाइराखे। गत संविधान सभा चुनावमा यो क्षेत्रमा एमालेले तेस्रो बढी मत ल्याएको थियो। त्यतिबेला एमाले उम्मेदवार राजेन्द्र महतोले ७ हजार ४ सय ९३ मत पाएका थिए। यो मूलतः एमालेको सांगठनिक मत नै हो।
हामी पुगेका नगरका भित्री मधेसी बस्तीमा पनि एमालेको प्रचारप्रसार आक्रामक देखिन्थ्यो। मधेसी बाहुल दुई नम्बर प्रदेशका अन्य नगरमा प्राय: नदेखिएको एमालेको चहलपहल यहाँ देखिन्छ। लहानका भित्री बस्तीका घरघरमा पनि एमालेको झण्डा भेटिन्छन्।
पहिलो पटक मत दिने युवा मतदाता पनि एमाले प्रति आकर्षित छन्, मुख्यतः उसको उमेद्वारकै कारण।
यसको अर्थ उपमहानगरउन्मुख लहानको मेयर कुर्सीमा बस्न मुन्नीलाई कुनै चुनौती छैन भन्ने होइन।
कतिपय मतदाताले मुन्नीले पटक पटक पार्टी परिवर्तन गरेकाले उनी ‘अस्थिर’ उमेद्वार भएको आरोप लगाए। यसअघि मुन्नीलाई मत हालेका कतिपय मतदाता यसपालि बाँडिने सम्भावना पनि छ।
उनको कडा प्रतिष्पर्धा यहाँ संघीय समाजवादी फोरम र नेपाली कांग्रेससँग देखिन्छ। एमालेपछि लहानमा आक्रामक प्रचार शैलीमा देखिएको पार्टी फोरम हो।
हामीले कुराकानी गरेकामध्ये १४ प्रतिशतले फोरमलाई मत दिन दिने बताए। तीमध्ये केही यसअघि एमालेलाई नै भोट दिएका पनि थिए। लहान–१३, घलेटोलका श्रीराम यादवले संविधान सभामा सूर्यलाई मत दिएको तर यसपालि मसाल छापमा भोट हाल्ने बताए।
‘पहिला त म एमाले नै हो तर यसपालि उसलाई भोट हाल्दिनँ, बरू फोरमलाई हाल्छु’ यादवले भने, ‘आन्दोलनमा मधेसी मर्दा केपी ओलीले दुई/चार आँप झरे केहि हुन्न भन्नुभो। यो कुराले मलाई साह्रै चित्त दुःखेको छ।’
मधेसवादी दलमध्ये फोरम लहानमा बलियो छ। पहिलो मधेस आन्दोलनको जस बोकेको फोरमलाई संविधान जारी भएपछिको आन्दोलनको केही सहानुभूतिको भोट आउने पनि देखिन्छ। जुन सहानुभूति लहानमा अन्य मधेसीवादी दल, लोकतान्त्रिक फोरम र राजपाका पक्षमा त्यति धेरै देखिन्न।
लहान–२० का ओमप्रकाश महतोले यसअघि कांग्रेसलाई भोट हाले पनि यसपालि फोरमलाई भोट दिने बताए। ‘मधेस र यहाँका जनताका लागि लड्ने एउटै पार्टी फोरम हो,’ उनले भने, ‘हामी मधेसी हौ, त्यसैले मधेसी पार्टीलाई नै भोट दिन्छौं।’
अघिल्लो संविधान सभा निर्वाचनमा जितेको कांग्रेसलाई पनि लहानमा कमजोर आँक्न मिल्दैन। कांग्रेसको यहाँ परम्परागत भोट छ, जसका लागि उसले धेरै दुःख गर्न पर्दैन।
अर्कातिर कांग्रेसका मेयर उम्मेदवार अच्छमितलाल र उपमेयर उम्मेदवार पुनम चौधरी दुबै थारू समुदायका छन्। यो नगरमा थारु समुदायका करिब ९ हजार मतदाता छन्। यो जातीय मत कांग्रेसले कति पाउँछ भन्ने कुराले धेरै हतदसम्म अन्तिम परिणाममा ऊ हावी हुन्छ कि हुन्न भन्ने निर्धारित गर्नेछ। दोस्रो संविधान सभामा यहाँबाट जितेको कांग्रेस नेता पद्मनारायण चौधरी पनि मूलत: थारु समुदायकै भोटका कारण हुन्।
पहिलो चोटी मत हाल्न लागेका लहान–४ का लक्ष्मण चौधरी परिवार नै कांग्रेस भएकाले आफूले रूखमा भोट हाल्ने बताए। ‘सबैलाई मिलाएर देशमा शान्ति सुरक्षा राख्ने र विकास गर्ने पार्टी कांग्रेस नै हो, त्यही भएर मेरो पहिलो भोट नै रूखमा हाल्छु’, चौधरीले भने।
थारु समुदायको भोट एकलौटी पार्न कांग्रेसलाई सजिलो भने छैन। पञ्चायतकालमै लहानका मेयर बनेका लगनलाल चौधरी पनि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट यसपालि उम्मेदवार बनेका छन्।
उनको व्यक्तित्वका कारण थारू मत बाँढीने छ।
लहान–६ का राजलाल प्रसाद साहले लगनलालको इमान्दार विकासप्रेमी छवीका कारण उनलाई भोट दिने बताए।
लहानमा जित्न यहाँको जातीय मत निर्णायक मानिन्छ। लहान नगरमा चौधरीको करिब ९ हजार, महतोको ८ हजार, यादवको ७ हजार, मुस्लिमको ५ हजार र पहाडी समुदायको झण्डै तीन हजार मत छ। जातीय मत एकीकृत भएर उम्मेदवार विशेषको पक्षमा गयो त्यो उमेद्वार बलियो हुनेछ।
हामीले कुराकानी गरेका मध्ये १६ प्रतिशत मतदाताले कुन पार्टीलाई मत दिन्छु भन्ने खुलाउन चाहेनन्। लहानको मेयरमा कसले बाजी मार्छ भन्नेमा यो खुल्न बाँकी मतनै पनि निर्णायक हुन सक्छ।
पहिलो र दोस्रो चरणका स्थानीय तह निर्वाचनमा देशको पहिलो पार्टी बनेको एमाले दुई नम्बर प्रदेसका मधेसी बहुल धेरै ठाँउमा रक्षात्मक अवस्थामा छ। तर मधेसी मतदाताकै बाहुल्य रहेको लहान नगरमा भने एमालेले जित्न सक्ने प्रचुर सम्भावना छ।