वीरगन्जमा समुदायको ‘सामूहिक मत’ निर्णायक


मधेसका चिया पसलमा आजकाल दुई चिज उम्लिन्छ- चिया र चुनावी बहस। वीरगन्ज, इनरूवाको एक स्थानीय पसलमा चुनावी बहस चल्दै थियो। मधेसी यूवाहरुले मधेस आन्दोलनको कुरा गर्दै थिए। आन्दोलनका घटनादेखि मधेस र मधेसीबारे पूर्वप्रधानमन्त्री केपी ओलीको दृष्टिकोणसम्मको चर्चा हुँदै थियो।

मधेस आन्दोलनको अर्थ र मर्मबारे बताउँदै गर्दा उनीहरुको स्वर केही चर्को हुँदै गएको थियो।

त्यही बेला हिरामान नाम गरेका एक अधवैँसे त्यहाँ सहभागी हुन आइपुगे र कथा सुनाए।

एक जना आमाका दुई सन्तान थिए। सुरूमा दुवै निदाएका थिए। एक जना छिट्टै उठ्यो र रोयो। आमाले उसलाई दुध खुवाईन्। अर्कोपटक पनि उही बच्चा रोयो। फेरि उनले बच्चालाई दुध खुवाइन्। त्यो बच्चा धेरैपटक रोयो, त्यसको परिणाम ऊ भोकै भने बस्नु परेन।

अर्को बच्चा नब्यूँझेकाले रोएन। त्यसैले दुध खान पाएन र भोकै रह्यो।

‘आमाले त नरूनेलाई पनि भोक लाग्छ भन्ने थाहा पाउनुपर्थ्यो नि,’ उनले भने।

उनले धेरै अघिदेखि पहाडमा राजनीतिक आन्दोलनहरू भएकोले राज्यले पहाडलाई मात्रै हेरेको तर लामो समयसम्म चुपचाप बसेको मधेसलाई भने राज्यले नसम्झिएको आरोप लगाए।

२०६२/६३ को जनआन्दोलन पछि भने मधेसमा पनि धेरै आन्दोलन भएका छन्। धेरैको सहादत भएको छ।

संविधान जारी भएयता मधेशमा पहिलो पटक चुनाव हुँदैछ।

राज्यले मधेसलाई कति सुन्छ भन्दा पनि अहिलेलाई महत्वपूर्ण प्रश्न अर्कै छ-मधेसी मतदाताले मधेमा आन्दोलनको नेतृत्व गरेका पार्टीलाई कति सुन्छन् ?

वीरगन्ज मधेसी आन्दोलनको केन्द्रमा रहेको शहर हो। पछिल्लो मधेस आन्दोलनमा पनि वीरगन्ज आन्दोलनको अग्रणी मोर्चामा थियो। संविधान निर्माणपछि भारतले नाकाबन्दी लगायो र त्यसको सबभन्दा ठूलो मार पनि यही सहरलाई भयो।

चर्को चुनावी बहस भैरहेको यो चिया पसल वीरगन्ज महानगरको १६ नम्बर वडामा पर्छ। वीरगन्जको सबभन्दा ठूलो वडा यही हो।

१६ नम्बर वडाले कसलाई भोट हाल्छ?

‘यहाँका धरै टोलबाट एकछापे मत जान्छ,’ स्थानीय सुनिल गुप्ताले भने, ‘अहिलै केही थाहा हुन्न चुनावकै दिन थाहा हुन्छ।’

गुप्ताले त्यसो भने पनि एउटा कुरा पक्का छ। यो वडाका १२ हजार मतदाताले सल्लाह गरेर एकछापे मत हाल्न सम्भव छैन।

त्यसको छनक त्यही चिया पसलमा पनि देखियो। मोटरबाइकमा एक यूवा आए र रोकिए। हामीले उनलाई मेयरको कुन उम्मेदवारलाई भोट दिनुहुन्छ भनेर सोध्यौं।

‘हाम्रो त साइकलमा छाप हो। राजेशमान दाईलाई नै दिने हो,’ उनले भने।

‘ऊ मधेस आन्दोलनमा पनि निकै खटिएको मान्छे हो’ हिरालालले थपे।

मधेस आन्दोलनको केन्द्रमा रहेको वीरगन्ज महानगरपालिकामा मधेसी दलको ठूलो चुनौती भनेको मधेसवादी भोटको सम्भावित विभाजन हो।

यसपालीको चुनावमा यहाँ तीन वटा प्रमुख मधेसवादी दलका शसक्त उमेद्वार छन्। ६ वटा पार्टी मिलेर भर्खरै गठन भएको राष्ट्रिय जनता पार्टी, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र बिजय गच्चदार नेतृत्वको लोकतान्त्रिक फोरम नेपालले क्रमशः राजेशमान सिंह श्रेष्ठ, विजय सराबगि र बिमल श्रीवास्तवलाई उठाएका छन्।

यी तीन पार्टी मिलेर यहाँ साझा उमेद्वार उठाएको भए प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीले आश राख्ने कुनै ठाँऊ हुन्न थियो। समाजवादी फोरम र राजपा मात्र मिलेर उम्मेद्वारी दिएको भए पनि यहाँ अन्य पार्टी प्रतिश्पर्धामा आउदैनन् थिए।

तर दुर्भाग्यबस् यहाँ तीन पार्टी त मिलेनन् नै, चुनावको मुखमा आएर वीरगन्जमा बलियो देखिएको राजपा पनि फुट्यो।

राजपाले आफ्ना महामन्त्री तथा वीरगन्जको स्थानीय राजनीतिका हस्ति बिमल श्रीवास्तवलाई टिकट दिएन। उनी वीरगन्जमा पहिले पनि मेयर जितेका ब्यक्ति हुन् र यसपाली पनि उनी टिकटका आकांक्षी थिए। उनको सट्टा राजपाका अर्का नेता पहाडी मुलका राजेशमान सिंह श्रेष्ठले टिकट पाए।

टिकट नपाएको केही घण्टामै श्रीवास्तव पार्टी छोडेर लोकतान्त्रिक फोरम प्रवेश गरे।

यसरी अन्तिम समयमा पार्टी नफुटेको भए राजपालाई हराउन अरू पार्टीलाई हम्मे पर्थ्यो भन्नेमा धेरैको एकमत छ।

मधेसी पार्टीहरुको भोट विभाजित हुने भए पछि वीरगन्जमा प्रतिस्पर्धा धेरै ब्यक्ति बिच हुने देखिएको छ।

कांग्रेसका अजय द्वीवेदी, राजपाका राजेशमान सिंह श्रेष्ठ, संघीय समाजवादी फोरमका विजय सरावगी, फोरम लोकतान्त्रिकका विमल श्रीवास्तव, एमालेका बसरूद्धिन अन्सारी र माओवादीका रहवर अन्सारी अहिले चुनावी मैदानका उत्रिएका मुख्य प्रतिस्पर्धी हुन्।

मत धेरै उम्मेद्वारबीच बाँढिने हुँदा, एक लाख आठ हजार जनसंख्या भएको वीरगन्ज महानगरमा २५ हजारको हाराहारीमा मत ल्याउने मेयर उम्मेदवार विजयी बन्ने स्थानीयहरुको आँकलन छ।

यसपाली वीरगन्जमा मुख्यत: कांग्रेस, राजपा र संघीय समाजवादी बिचनै मुख्य प्रतिस्पर्धा हुने धेरै स्थानीयको आँकलन छ। हामीले कुरा गरेका करिब तीन दर्जन मतदाताको चुनावी रूझानले पनि थोर बहुत यही आंकललाई पुष्टी गर्छ।

वीरगन्जका केहि मतदाताले पार्टी नहेर्ने भन्दै श्रीवास्तवलाई नै भोट दिने बताए। तर गच्छदारको पार्टीमा प्रवेश गरेपछि उनीसँग रूष्ट मतदाताको संख्या पनि धेरै छ।

‘विमल श्रीवास्तव राजपामै भएको भए र मेयरमा उठेको भए उसले एकछापे भोट पाउँथ्यो। अब उसलाई भोट नदिने,’ छपकैयाका नरेन्द्र दासले भने, ‘राजेशमान सिंह पहाडी भए पनि मधेसी जनताको लागि आन्दोलनमा खटिनुभएको थियो। त्यसैले हाम्रोबाट उसैलाई भोट जान्छ।’

इनरूवाका यूवा आकाश शाहले पनि श्रीवास्तवलाई भोट नदिने बताए, ‘उनले धेरै पार्टी चेन्ज गरिसके,’ उनले भने, ‘कुन पार्टीको भनेर भोट दिने? त्यस्तो हुँदैन। चुनावको मुखमा आएर पदका लागि अर्कै पार्टीमा गए यो सिधै गद्दारी हो।’

राजेशमानलाई राजपा पार्टीको भोट पनि आउने र पहाडी समुदायको भोट पनि आउने आँकलनका साथ राजपाले वीरगन्जमा उठाएको हो। राजपा समर्थक सबै मधेसी समुदायले राजेशमानलाई भोट दिन्छन् वा दिन्नन्? पहाडी मुलका कति मतदाताले आफ्नो पार्टीगत निकटता त्यागेर राजेशमानलाई भोट दिन्छन्, उनको चुनाव परिणाम त्यसैमा भर पर्छ।

वीरगन्ज चुनावमा मुस्लिम भोटको पनि ठूलो महत्व छ। १५/१६ हजारको हाराहारीमा मुश्लिम भोट छ। त्यही भोटको बलमा पहिलो संविधानसभा चुनावमा करिमा बेगमले क्षेत्र नम्बर एक बाट जितेकि थिइन्।

एमालेले आफ्नो पार्टीको भोट र मुश्लिम भोट एक ठाँउ पर्यो भने आफूले जित्ने आंकलनका साथ मेडिकल कलेज ब्यवसायी बसरूद्दिन अन्सारीलाई मेयरको उम्मेद्वार बनाएको छ। माओवादीले रहबर अन्सारीलाई उठाएको छन्।

पछिल्लो संविधानसभामा एमालेले पर्सा जिल्लामा पाँच मध्ये तीन सिट जितेको थियो भने र माओवादीको धेरै क्षेत्रमा जमानत्त जफत भएको थियो।

यसपाली दुवै पार्टीले मुस्लिम भोट आकर्षित गर्न यही समुदायका मानिस मेयरमा चुनेका हुन्। तर यीनै दुई बिच मुश्लिम भोट धेरै बाँडियो भने दुबैले यो भोट बैंकको खासै लाभ पाउने छैनन्।

हामीले भेटेका धेरै मुस्लिम मतदाताहरुले दुई मध्ये रहबरलाई दिने बताएका छन्। रहबरलाई दिने भन्दा कांग्रेसलाई भोट दिने मतदाता हामीले धेरै भेट्यौँ।

यो मुख्य व्यापारिक नाका र औद्योगिक सहर भएकाले पनि यसले संधैँ आर्थिक सुरक्षा खोज्छ। चुनाव मार्फत यहाँका मतदाताले त्यसैको  यहाँका बासिन्दा बताउँछन्। हरेक चुनाव सरकारमा जुन दल छ त्यही दलले जित्ने गरेको पनि कतिपयको आँकलन छ।

मोटर ग्यारेजमा काम गर्ने २३/२४ वर्षिय यूवा मुन्ना मियाले कांग्रेसलाई भोट दिनुको कारण यही विष्लेषणसँग मिल्दो जुल्दो छ।

‘ऊ सरकारमा छ र अरूले भन्दा लामो समय सरकार चलाउँछ जस्तो लाग्छ त्यसैले मैले कांग्रेसलाई भोट हाल्छु,’ उनले भने, ‘सरकार टिक्यो भने सबकुरा राम्रो हुन्छ।’

वीरगन्जमा कांग्रेसका परम्परागत भोट अरूका भन्दा धेरै छन्। त्यसैले कांग्रेसले बलियो प्रतिस्पर्धी हो।

कांग्रेसको अर्को बलियो प्रतिस्पर्धी विजय सरावगी छन्। संघीय समाजवादीका तर्फबाट मेयर उम्मेदवार बनेका सरावगीलाई यहाँको व्यापारिक भोट आउँछ। मारवाडी समुदायको पनि यहाँ अर्थपूर्ण संख्या छ। यदि मारवाडिहरुले उनलाई एकमुस्ट भोट दिए भने उनी धेरै बलियो उमेद्वार हुनेछन्।

आदर्शनगरमा पसल हालेर बसेका राजकीशोरले विजय सरावगी यहाँको ठूलो व्यापारी र समाजसेवी भएकोले उनैलाई भोट हाल्न लागेको बताए।

‘उहाँले समाजसेवामा धेरै काम गर्नुभएको छ। व्यापारी पनि हो र नयाँ उम्मेदवार हो,’ उनले भने ‘त्यसैले म उसैलाई भोट दिने हो।’

वीरगन्जमा अन्तिन चुनाव परीणाम कसको पक्षमा जान्छ भन्न अझै सहज छैन।

सेतोपाटीले यो प्रश्नको उत्तर खोज्ने अझै मिहिन रुपमा मतदाताहरुको रुझान केलाउने छ।

हामी अब केहि दिन यहाँको मुश्लिम समुदाय, ब्यापारिक समुदाय र पहाडी समुदायले कति एकमुष्ठ रुपमा भोट हाल्छन् भन्ने केलाउने छौं। सायद त्यसले निस्कर्षमा पुग्न सहयोग पुग्नेछ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.