निर्वाचनमा भाग लिनुपर्नेमा राजपा पदाधिकारीको दबाब

निर्वाचनमा भाग लिनुपर्नेमा राजपा पदाधिकारीको दबाब




राष्ट्रिय जनता पार्टीभित्र तेस्रो चरणको निर्वाचनमा भाग लिनुपर्ने आवाज बलियो भएको छ।

काठमाडौंमा जारी राजपा नेपालको बैठकमा पदाधिकारीहरुले निर्वाचनमा भाग लिनुपर्ने सुझाव दिएका हुन्।

बिहीबारको बैठकमा बोल्ने ३१ जना पदाधिकारीहरुमध्ये २१ जनाले निर्वाचनमा भाग लिनुपर्ने बताए।

संविधान संशोधन नहुने भन्दै संशोधन विधेयक पास वा फेल जे भए पनि संसदमा निर्णयार्थ पेश गरिनुपर्ने उनीहरुको भनाइ थियो।

बैठकमा बोल्ने पदाधिकारीहरुले मुद्धा फिर्ता, सहिद घोषणा, घाइतेको उपचार लगायतका मन्त्रिपरिषदले गर्नुपर्ने निर्णयका लागि सरकारलाई दबाब दिनुपर्ने बताएका थिए।

पाँच जना पदाधिकारीले मध्यमार्गी धारणा राखेका थिए भने अन्य पाँच जनाले संविधान संशोधन नभइकन निर्वाचनमा भाग लिन नहुने बताएका थिए।

पार्टी उपाध्यक्षहरु मृगेन्द्र सिंह यादव, निलम बर्मा र महासचिवहरु अजय गुप्ता र गजाधर यादवले निर्वाचनमा जानुपर्ने धारणा राखेका थिए।

महासचिवहरु उमाकान्त झा, सुरेन्द्र झा, सचिव उपेन्द्र महतोले भने संविधान संशोधन नभइ जान नहुने बताएका थिए।
पार्टीभित्र निर्वाचनमा जान दवाव परेको महासचिव केशब झाले सेतोपाटीलाई बताए। पदाधिकारी बैठक शुक्रबार ११ बजे फेरि बस्नेछ ।

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.