हिजोआज काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, रूद्रमती लगायतका नदी र खोला–खोल्सीमा पसेर एक्स्काभेटरले माटो खोतलिरहेको दृश्य तपाईंहरूले देख्नुभएको होला।
दिउँसो मात्र होइन, साँझ–बिहान पनि एक्स्काभेटरहरूले काठमाडौंका विभिन्न नदी र खोला–खोल्सी खोतलिरहेका देखिन्छन्। त्यहाँ थुप्रो लागेका फोहोर र नदीजन्य पदार्थ धमाधम हटाइरहेका छन्।
यसरी एक्स्काभेटर नै पसेर नदी सफा गर्न थालेको एक महिनाभन्दा बढी भइसकेको छ। कतिपय ठाउँमा फोहोर पन्छाएपछि नदी–खोला फराकिलो र सफा देखिएका छन्।
तर नदी–खोला खोतल्नुको कारण सरसफाइ गर्नु मात्र होइन। मुख्य कारण अर्कै छ।
नेपालमा मनसुन याम सुरू भइसकेको छ। यसपटक सरदरभन्दा १५ दिनअगावै मनसुन नेपाल भित्रिएको भए पनि मंगलबारसम्म देशभरि फैलिन सकेको छैन। अहिले पूर्वी लुम्बिनी क्षेत्रमा मात्र मनसुन विकास भइरहेको स्याटलाइट तस्बिरहरूले देखाउँछन्।
मनसुन राम्ररी विकास नहुँदै मनसुनी वायु, पश्चिमी वायु र स्थानीय वायु समेतका प्रभावले वर्षा भने मनग्गे भइरहेको छ। मनसुन सुरू भएयता अहिलेसम्म करिब १०९ मिलिमिटर वर्षा भइसकेको छ। यो भनेको ७.४ प्रतिशत हो। यसपटक सरदरभन्दा बढी वर्षा हुने सम्भावना ६५ प्रतिशतसम्म छ।
काठमाडौं उपत्यकाका नदी–खोलामा एक्स्काभेटर नै हुलेर खोतल्न थाल्नुको कारण यही मनुसन हो।
अघिल्लो वर्ष मनसुनमा काठमाडौं उपत्यकाले ठूलो डुबान खेपेको थियो। नदी किनारका धेरै क्षेत्र डुबानमा परेका थिए। त्यही स्थिति नदोहोरियोस् भनेर अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगरपालिका समेतले नदी–खोला खोतलेर फोहोरमैला पन्छाउन थालेको हो। यसले नदी–खोलाको गहिराइ बढ्नुका साथै बहाव क्षेत्र फराकिलो हुनेछ। यसबाट पोहोरजस्तो किनारका क्षेत्र डुबानमा पर्ने जोखिम कम हुनेछ।
काठमाडौं महानगरले अघिल्लो वर्ष पनि रूद्रमती लगायतका खोलाभित्र एक्स्काभेटर पठाएर सफा गरेको थियो। त्यसले रूद्रमतीको बहाव व्यवस्थित भएको थियो। मध्यसहरी क्षेत्रमा त्यसले खासै दुःख दिएको थिएन। त्यसरी सफा गर्नुभन्दा अगाडि अनामनगर क्षेत्र सधैं डुबानमा पर्थ्यो।
'बर्खा लागिसकेकाले नदीले सहज निकास पाओस् भनेर भित्र थुप्रो लागेका नदीजन्य सामग्री र फोहोर हटाइरहेका छौं,' अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका उप–आयोजना निर्देशक उद्धव नेपालले भने, 'हामी दुई–तीन महिनादेखि नै नदी–खोला सफा गरिरहेका छौं।'
-1750137002.jpeg)
उनका अनुसार अघिल्ला वर्ष पनि खोलामा थुप्रो लागेका नदीजन्य अवशेष हटाउने गरिएको थियो। तर त्यति प्रभावकारी भएको थिएन।
गत वर्ष मनसुन याममा विष्णुमती, बागमती, कर्मनासा लगायत नदी किनारका क्षेत्र पटक पटक डुबानमा परेका थिए। थापाथली र बल्खुको सुकुम्बासी बस्ती तथा तरकारी बजार हरेक मनसुनमा डुब्दै आएको छ। यसपालि त्यस्तो नहोस् भनेर बेलैमा नदी–खोला सफाइ सुरू गरेको उनले बताए।
गत असोज १० देखि १३ गतेसम्म काठमाडौं उपत्यकाका ११ स्थानमा 'रेकर्ड ब्रेक' वर्षा भएको थियो। बागमती र विष्णुमती किनारका क्षेत्र डुबानमा परेका थिए। नख्खु खोलाको बाढीले चार जनालाई बगाएको थियो।
उद्धव नेपालका अनुसार त्यति बेलाको बाढीले काठमाडौं उपत्यकाका नदी–खोल्सामा ठूलो मात्रामा नदीजन्य सामग्री र फोहोर थुपारेको थियो। त्यसले पनि हटाउन समय लागेको उनले बताए।
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले अहिलेसम्म काठमाडौंका नदी–खोलाबाट एक लाख घनमिटरभन्दा बढी फोहोर र नदीजन्य सामग्री निकालिसकेको छ।
त्रिभुवन विश्वविद्यालयको गेट अगाडिदेखि सुन्दरीघाटसम्मको क्षेत्रबाट मात्र करिब ७१ हजार घनमिटर सामग्री निकालिएको नेपालले जानकारी दिए।
त्यस्तै, बागमती र विष्णुमतीको दोभान क्षेत्रबाट १५ हजार घनमिटर फोहोरमैला र बालुवा लगायत सामग्री निकालिएको छ। गोकर्णेश्वर बाँधदेखि तल्लो तटीय क्षेत्रबाट १७ हजार घनमिटर त्यस्ता सामग्री निकालिएका छन्। नदीजन्य र फोहोरमैलाका अवशेष अन्यत्र पनि थुप्रो लागेकाले झिक्ने क्रम जारी रहेको नेपालले बताए।
'मनसुन सक्रिय भएर बाढीको रूप लिनुअघि नै हामी खोला सफा गरिसक्ने छौं। काठमाडौं महानगरपालिका र अरू स्थानीय तहले पनि सहजीकरण गरिरहेका छन्,' उनले भने, 'उहाँहरूले पनि खोलाको बहावमा अवरोध पुर्याउने सामग्रीहरू निकालिरहनुभएको छ।'
काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने ४२.१ किलोमिटर खोला क्षेत्र सफाइ गरेको छ। ६ वटा एक्स्काभेटर प्रयोग गरेर करिब दुई हजार टिपर नदीजन्य अवशेष र फोहोर झिकिएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ।
-1750136999.jpeg)
महानगरको वातावरण व्यवस्थापन विभागका इन्जिनियर रामप्रसाद नेपालले मनसुनजन्य विपदलाई ध्यानमा राखेर नदी सफाइमा जोड दिएको बताए।
'गत वर्ष मनसुन याममा सरदरभन्दा बढी पानी परेकाले ठूलो परिमाणमा ढुंगामाटो बगाएर ल्यायो। त्यसले नदी, खोला–खोल्सीको सतह बढेको छ, हामी त्यसैलाई सफा गरिरहेका छौं,' उनले भने।
उनका अनुसार काठमाडौं महानगरपालिकाले बागमतीबाहेक ९ वटा खोलाखोल्सी सफा गरेको छ। सातावटा खोलामा हेभी उपकरण प्रयोग गरेर सफाइ गरिएको छ। स्यवम्भूको भचाखुसी र चुनदेवी खोलामा भने मान्छे नै लगाएर सफाइ गरिएको उनले बताए।
यसरी जनशक्ति प्रयोग गरेर करिब ३४ किलोमिटर खोला क्षेत्र सफाइ गरिएको छ। त्यस्तै, अहिलेसम्म झन्डै ४३ किलोमिटर सडक किनारा, नाला लगायत पनि सफाइ गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ।
'यस वर्ष सरदरभन्दा बढी पानी पर्ने अनुमान भएकै छ। खोलाको सतहमा डेब्रिज (गेग्रान) थुप्रिएर बस्तीमा बाढी पस्ने जोखिम भएकाले त्यसलाई न्यूनीकरण गरिएको हो,' उनले भने।
यस अतिरिक्त सहरी विकास मन्त्रालयले चोभारभन्दा माथि रहेको ढुंगाको थुप्रो (बोल्डर) हटाउने तयारी पनि गरेको छ। त्यसका लागि नेपाली सेनाको सहयोग लिने तयारी भइरहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी परिषद बैठकले नै यसबारे निर्णय गरेको थियो।
यी सब तयारीका बाबजुद काठमाडौंका नदी–खोल्सामा ढल मिसाउने क्रम रोकिएको छैन। त्यसले ठूलो पानी पर्नेबित्तिकै एक्कासि बहाव बढ्न सक्छ।
यसलाई ध्यानमा राखेर स्थानीय तहहरूलाई आफ्नो क्षेत्राधिकारभित्र पर्ने ठाउँमा नदीको बहावमा अवरोध भए–नभएको हेर्न र मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना व्यवस्थित गर्न निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिए।
'काठमाडौं उपत्यकाका नदी किनार क्षेत्र बर्सेनि डुब्छन्। त्यसैले विपद न्यूनीकरणको योजना बनाउन स्थानीय तहलाई भनेका छौं। हामी उहाँहरूसँग समन्वय गर्छौं,' उनले भने, 'यसपटक समन्वयमा कुनै कमी नहुने गरी मनसुन प्रतिकार्यको योजना बनाएका छौं।'
***
-1750136992.jpeg)
-1750136994.jpeg)
-1750136995.jpeg)