जनप्रतिनिधिहरूको आपसी बेमेलका कारण धेरैजसो समय विवाद र तनावमा गुजारिरहेको सुनसरीको धरान उपमहानगरपालिका केही महिना शान्त थियो।
यद्यपि त्यो 'शान्ति' आँधीअघिको सन्नाटा जस्तो मात्रै सावित भएको छ। दुई दिनयता जनप्रतिनिधिबीचको तनावको आँधी आक्रामक रूपमा विष्फोट भइरहेको छ।
दुई दिनयता उपमहानगर परिसरमा जे–जस्तो तनावको अवस्था सिर्जना भएको छ, त्यसले धरानलाई फेरि एक पटक जनप्रतिनिधिहरूको रणमैदान जस्तै बनाइदिएको छ।
मंगलबार त तनावले यस्तो उत्कर्ष छोयो कि, मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघाका समर्थक दिनभरिजसो आमनेसामने भए। पटक पटक धकेला धकेलको अवस्थाले उपमहानगर कार्यालय परिसर दिनभर नै तनावग्रस्त बन्यो।
नेपाल प्रहरी, सशस्त्र प्रहरीको बाक्लो तैनाथीले स्थानीय सरकारको कार्यालय घेरियो।
यति मात्रै होइन, मेयर साम्पाङ र उपमेयर बेघा पटक पटक प्रत्यक्ष विवादमा उत्रिएको भिडिओहरू पनि सार्वजनिक भए। मेयर–उपमेयर दुवैका समर्थकहरूको नाराबाजी, धकेला धकेल र होहल्लाले नगर परिसर तनावपूर्ण बन्यो। सोमबारबाटै सुरू भएको यस्तो अवस्थाले मंगलबार झनै उग्र रूप लियो।
विवादको मुख्य विषय हो, मेयर साम्पाङको श्रमदान अभियान।
श्रमदानबाट पहिल्यै गरिसकेको कामका लागि धेरैपछि कागजपत्र मिलाएर उपमहानगरमा रकम भुक्तानीका लागि दाबी पेस भएको भन्दै विवाद सुरू भएको हो।

श्रमदान अभियानबाट विश्वभर छरिएर रहेका नेपालीमाझ चिनिएका मेयर साम्पाङ यति बेला त्यही अभियानका कारण विवादमा तानिएका हुन्।
मेयर साम्पाङको अगुवाइमा चलेको श्रमदान अभियानबाट धरान १६ मा रहेको बहुभाषिक पाठशाला जोगाउन ग्याबिन वाल बनेको तर श्रमदानबाट बनेको संरचनामा ज्यालादारी मजदुरसहितको भुक्तानी मागिएको भन्दै उपमेयर बेघाले भुक्तानी रोकेका छन्।
उपमेयरले ७ लाख ४१ हजार रूपैयाँ बराबरको रकमको भुक्तानी रोकेपछि मेयर साम्पाङ रूस्ट छन्।
मेयर जसरी पनि भुक्तानी हुनुपर्छ भन्ने अडानमा छन् भने उपमयेर श्रमदानबाट भएको भनिएको काममा भुक्तानी हुन्न भन्ने अडानमा छन्। दुवैको अडान रहेपछि मेयर–उपमेयरबीच भनाभनकै अवस्था आइसकेको थियो।
सोमबारबाट त उनीहरूका समर्थक भेला हुने, एकअर्काविरूद्ध नारा लगाउने गरिरहेका छन्। मेयरका समर्थकहरूले त उपमेयरलाई सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली समेत दिइसकेका छन्। आफ्नो सदाबहार शैली अनुसार मेयर साम्पाङले पनि फेसबुकमा लेखिरहेका छन्।
मेयर र उपमेयरका समर्थकहरू यसरी आपसमै भिड्ने अवस्था सोमबार बिहानबाट आएको हो। धरान १० को नारायणपथमा श्रमदान अभियान चलिरहेको थियो।
त्यहाँ उपमहानगरका जेसिबी, टिपर, ट्याक्टर लगायतका साधन प्रयोग भइरहेको थियो। उपमेयरले त्यहीँ पुगेर श्रम अभियानमा भाँजो हालेको मेयर साम्पाङको आरोप छ।
'म अफिसमै थिएँ, त्यही बेला श्रमदानस्थलबाट उपमेयरले भाँडभैलो मच्चाएको खबर आयो,' मेयर साम्पाङले भने, '१६ नम्बरको भुक्तानी पनि रोक्ने, १० नम्बरमा पनि अवरोध पुर्याउने उपमेयरको जनताले मूल्यांकन गर्नुपर्छ।'
उपमेयर बेघाको दाबी भने फरक छ।
उनका अनुसार सोमबार बजेटको सिलिङ तोक्ने विषयमा उनकै कार्यकक्षमा बैठक आयोजना भएको थियो। मेयरलाई पनि डाकिएको थियो।
'बैठकमा आउनुस् मेयर साब भनेर भन्दा उल्टै मलाई उहाँले आफ्नो कार्यकक्षमा बोलाउनुभयो,' बेघाले भने, 'उहाँको कार्यकक्षमा गएँ। त्यहाँबाट सिसी टिभीमा हेर्दा तल उहाँका समर्थकहरू ताँती लागिसकेका थिए। ममाथि सांघातिक हमला गराउन मेयरले खुकुरीसहित समर्थक बोलाउनुभएको रहेछ।'
केहीबेरमा मेयरकै कार्यकक्षमा आइपुगेको समूहले आफूमाथि हातपात प्रयास गरेको बेघाको आरोप छ।
'बहुभाषिक पाठशालामा श्रमदानबाट तारजाली लगाएको भन्ने अनि पछि उपभोक्ता समिति बनाएर, कर्मचारीलाई भुक्तानीका लागि दबाब दिने उहाँको कदममा रोक लगाएपछि यस्तो हर्कत भएको हो,' उनले भने 'नियम, ऐन कानुन मिचेर मागिएको भुक्तानी हुँदैन। यहीकारण आज पनि उहाँले आफ्नो टिम बोलाएर हुलहुज्जत गराउनुभयो। हातपातको प्रयास भयो।'
स्वतन्त्र रूपमा चुनाव जितेका मेयरका समर्थक र माओवादीबाट चुनाव जितेका उपमेयरका समर्थकहरू दिनैभरी नगर परिसरमै थिए।
धरान–१७ का वडाध्यक्षसमेत रहेका उपमहानगरका प्रवक्ता सूर्य भट्टराईका अनुसार मेयरका समर्थकहरूले उपमेयरमाथि हुलहुज्ज्त गर्न खोजेका थिए।
लगत्तै उपमेयर बेघाका समर्थक माओवादी कार्यकर्ताहरू पनि उपमहानगर परिसरमा भेला भएका थिए। दुवै समुहबाट ठूलो संख्यामा समर्थकहरू कार्यालयमा भेला भएर नाराबाजी गरेका थिए।
'हर्क साम्पाङका समर्थकहरू खुकुरीसहित आएर उपमेयरमाथि हमला गर्ने प्रयासमा लाग्दा हाम्रा समर्थकहरू पनि आउने नै भए,' माओवादीबाटै वडाध्यक्ष जितेका प्रवक्ता भट्टराईले भने, 'अहिले मेयरले निम्त्याएको अराजकताले नगर परिसर तनावग्रस्त बनेको हो।'

धरान–१६ को बहुभाषिक पाठशालामा निर्माण भएको ग्याबिन जालीको भुक्तानी माग्ने मेयरको कदमलाई उपमेयरसहित विभिन्न दलका नेता कार्यकर्ताले विरोध गरिरहेका छन्।
विद्यालयको सुरक्षाका लागि भन्दै मेयर साम्पाङको नेतृत्वमा जेठ पहिलो साता श्रमदान अभियानबाट त्यहाँ जाली हालिएको थियो। तर, काम सकिएका केही पछि मेयर साम्पाङले योजनाको रि–इस्टिमेट गराएर, धरान १६ बाहिरका मान्छे राखेर उपभोक्ता समिति बनाएर नगरमा बिल पेश गरेको उपमेयर पक्षको भनाइ छ।
धरान १६ का वडाध्यक्ष मुरारी भट्टराईले मेयर साम्पाङले आफू नजिकका मान्छेलाई उपभोक्ता समितिमा राखेर नगरबाट पैसा भुक्तानी गराउन खोजेको बताएका छन्। वडाध्यक्ष भट्टराईका अनुसार धरान १६ को पाठशालाका लागि धरान–१४ का प्रसाद राईको संयोजकत्वमा उपभोक्ता समिति बनाइएको थियो। उनी मेयरका समर्थक हुन्।
मेयर साम्पाङले भने उक्त कुरा स्वीकारे।
'हो उहाँलाई उपभोक्ता समितिको अध्यक्ष मैले नै बनाएको हो,' उनले मंगलबार बिहान पत्रकार सम्मेलनमा भनेका थिए, 'केही काम नगरी सुतेर बस्ने, पछि फरक मत राख्न सक्नेलाई मैले किन बनाउनु?'
मेयर साम्पाङले भने सर्दु खोलाको बाढीले हानी गर्ने भएकाले उपभोक्ता समिति जहाँको बनाए पनि हुने, खोला कुनै वडामा नपर्ने पनि बताएका छन्। उनले १७ लाखको काम ७ लाखमा भएको भन्दै नगरबाट भुक्तानी हुनैपर्ने अडान लिएका छन्।
उपमेयर बेघाले भने यसमै असहमति जनाएका हुन्।
'नगरको बजेटबाट काम गर्ने हो भने छलफल हुनुपर्छ। बजेट विनियोजन भएको हुनुपर्छ, नगरले निर्माण गरेको उपभोक्ता समितिमार्फत काम हुनुपर्छ,' उनले भने, 'यो कुनै कुरा नभएको ठाउँमा राज्यको पैसा कसरी खर्च गर्न मिल्छ। मैले कर्मचारीहरूलाई पनि यस्तो गैरकानुनी भुक्तानी नगर्न भनेको छु।'
बेघाले श्रमदानका लागि भेला भएका श्रमदाताहरूले मजदुरका रूपमा डोर हाजिरीसमेत गरेको भेटिएको आरोप लगाएका छन्। तर, मेयर पक्षले भने त्यो ज्यालाका लागि नभई कति लागतको श्रमदान भएको रहेछ भनेर हाजिर गरेको दाबी गरेका छन्।
आफूलाई श्रम अभियन्ता भनेर चिनाउने मेयर साम्पाङले २०७९ को स्थानीय चुनावमा जिते लगत्तै श्रम अभियान थालेका थिए।
साम्पाङले मेयरको जिम्मेवारी सम्हालेको २०७९ को जेठ दोस्रो सातादेखि सहरमा खानेपानीको स्रोत थप्ने अभियान सुरू भएको थियो। उनले धरानको पकुवा खोलाबाट पानी ल्याउने र त्यसका लागि श्रमदानमा खटिन नगरबासीलाई आह्वान गरेका थिए। कामको सुरूआत आफैंले गरेका थिए।
दिनभरि ढुंगा बोक्ने, गैंती र बेल्चा हान्ने काममा मेयर खटिएपछि उनलाई सघाउनेको ओइरो लागेको थियो। अन्य जिल्लाबाटसमेत श्रमदानका लागि आउनेको घुइँचो लाग्ने गर्थ्यो।
यसरी करिब महिना दिनको श्रमदान र सहयोगी दाताको आर्थिक सहयोगले पकुवाको पानी धरानसम्म आइपुग्यो। पकुवा प्रोजेक्टको सफलतापछि उत्साही भएका साम्पाङ र उनको टिम त्यस्तै अर्को योजनामा खटिन थाल्यो। त्यसपछि क्रमशः निशाने खोला, सर्दु, खर्दु र भालुखोलाबाट धरानमा पानी थपियो।
त्यसपछि कोकाहा योजनाबाट पनि श्रम अभियानबाटै पानी धरानसम्म ल्याइएको थियो। ४२ किलोमिटर लामो कठिन भूगोलमा पाइप जोडेर कोकाहाको पानी धरानमा झारेयता पनि मेयरको अगुवाइमा विभिन्न ठाउँमा श्रमदान चलिरहेको छ।
यद्यपि श्रमदानवापतकै काममा भुक्तानी मागेको भन्ने विवाद सुरू भएपछि यसपटक सोही विवादले धरान अशान्त बनेको छ। मेयर साम्पाङ र उपमेयर बेघा यसैगरी तनाव लम्ब्याइरहन्छन् कि संवादमार्फत समाधान खोज्न जुट्छन्, धरान उपमहानगरको आन्तरिक 'शान्ति' त्यसैमा निर्भर हुनेछ।