प्रतिनिधि सभाको मंगलबारको बैठकमा संघीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची थियो। सरकारका तर्फबाट संघीय मामिला एवं सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले विधेयक पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नुपर्ने थियो।
तर मन्त्री गुप्ता मंगलबार संसदमै गएनन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदको नाराबाजीबीच केही दिन यता सभामुख देवराज घिमिरेले बैठकको कार्यसूची अघि बढाएका थिए। उनले नाराबाजीबीच संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्न राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई अनुमति दिएका थिए।
तर मंगलबार भने सभामुख घिमिरेले बैठक नै चलाएनन्। कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले प्रतिपक्षीको अवरोधका बीच बैठक अघि नबढाउने मनसाय सभामुखले व्यक्त गरेको सेतोपाटीलाई बताए।
‘सभामुखलाई पनि सहमतिको प्रयास गरेन भन्ने आरोप छ,’ घिमिरेले भने, ‘त्यसैले उहाँले बैठक रोकेर प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको हो।’
तर सेतोपाटीसँग नाम उल्लेख नगर्ने सर्तमा कुराकानी गरेका नेपाली कांग्रेसका ३ सांसदले सरकारले संघीय निजामती सेवा विधेयक पारित गर्न नचाहेका कारण सभामुखले बैठक अघि नबढाएको दाबी गरे।
विधेयकमा भएको निजामती सेवाबाट अवकाश भएका अथवा राजीनामा दिएका कर्मचारीले २ वर्षसम्म संवैधानिक र अन्य नियुक्ति लिन नपाउने व्यवस्था हटाउन सरकारका मुख्य सचिवसहित सचिवहरूले सरकारलाई दबाब बढाएका छन्। जसलाई बोलीचालीको भाषामा 'कुलिङ पिरियड' भनिन्छ। सचिवहरूले सभामुख, राष्ट्रिय सभा अध्यक्षलाई समेत भेटेर विधेयक रोक्न यसअघि नै सुझाव दिएका थिए।
कांग्रेस सांसदहरूका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र मुख्य सचिव एकनारायण अर्याल 'कुलिङ परियड' को विपक्षमा छन्। जसका कारण मंगलबार संघीय निजामती सेवा विधेयक पारित गर्ने प्रक्रिया अघि बढ्न नसकेको हो।
स्रोतका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकमा पनि विधेयकबारे छलफल भएको थियो। बैठकबाटै विधेयक तत्काल अघि नबढाउने रणनीति सरकारले लिएको हो।
‘यो विधेयकमा केही विषय मिलाउनुपर्ने छ,’ एक मन्त्रीले नाम उल्लेख नगर्ने सर्तमा सेतोपाटीसँग भने, ‘तत्काल यो अघि बढ्ने सम्भावना छैन।’
मंगलबार सरकारले संघीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची अघि बढाउन नसकिने बताएपछि सभामुख घिमिरेले बैठक अघि नबढाएको ती सांसदहरूको दाबी छ।
सभामुख घिमिरेसँग मंगलबारको बैठकको ठिक अघि गृहमन्त्री रमेश लेखककले सिंहदरबारमा भेटेका थिए। तर भेटमा भएको कुराकानीबारे गृहमन्त्री लेखकले केही पनि उल्लेख गरेनन्।
सेतोपाटीले – के संघीय निजामती सेवा विधेयक तत्काल अघि नबढाउने विषयमा छलफल भएको हो? भनेर प्रश्न सोधेको थियो। जबाफमा गृहमन्त्री लेखकले - शिष्टाचार भेट मात्र भएको उल्लेख गरे।
सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले संघीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची रोक्न सरकारले सभामुखलाई कुनै आग्रह नगरेको बताए।
‘सभामुखले गरेको छलफलमा कानुन मन्त्री पनि हुनुहुन्थ्यो,’ अधिकारीले भने, ‘अवरोध हटाउने वातावरण बनाउन सभामुखले बैठक अघि नबढाउनु भएको हो।’
नयाँ बानेश्वरस्थित संसद भवनमा सभामुखले गरेको छलफलबारे जानकार अर्को स्रोतले भने अवरोध हटे आफू तत्काल विधेयक पारित गर्न र बैठक अघि बढाउन तयार रहेको धारणा’ घिमिरेले राखेको बताउँछ।
‘अवरोध हटे आजै अर्को बैठक गरौँ,’ घिमिरेले छलफलमा राखेको धारणा उदृत गर्दै स्रोतले भन्यो, ‘पारित गर्न प्रस्ताव राख्ने मन्त्रीलाई मै खोज्छु नि।’
सभामुख घिमिरे समितिबाट पारित भइसकेको विधेयक प्रतिनिधि सभाको पूर्ण बैठकबाट सच्याउनेतर्फ लाग्न नहुने पक्षमा छन्। उनले आवश्यक भए प्रक्रिया अनुसार राष्ट्रिय सभाबाट संशोधन गरेर जान यसअघि नै सरकारका सचिवहरूलाई सुझाव दिएका छन्।
स्रोतका अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि टेलिफोन गरेर सभामुखलाई निजामती सेवा विधेयक पारित गर्ने प्रक्रिया रोकिएको विषयमा सोधखोज गरेका छन्।
जबाफमा सभामुखले – जलस्रोत विधेयक फिर्ता लिएको सुनेको तर संघीय निजामती सेवा विधेयकबारे जानकारी नभएको बताएका थिए।
कांग्रेस सांसदहरूले भने संसदीय समितिबाट पारित भइसकेको विधेयक रोक्ने विषयमा ‘प्रधानमन्त्री भन्दा मुख्यसचिव’ शक्तिशाली देखिएको टिप्पणी गरेका छन्।
उनीहरूले संसदले पास गरेको विधेयकमा सरकारले सघाउनुपर्नेमा कर्मचारीलाई साथ दिएकोमा आश्चर्य व्यक्त गरेका छन्।
‘हिजो अस्ति नाराबाजीबीच चार घण्टा बैठक चलेको छ,’ ती सांसदले भने, ‘आज जिम्मा विधेयक पारित गर्ने र नागरिकता विधेयकसम्बन्धी प्रतिवेदन टेबल गर्ने कार्यसूची थियो। अघि नबढ्नुपर्ने कुनै कारण छैन।’
प्रतिनिधि सभाको राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले भने विधेयक ढिलो चाँडो पारित हुने विश्वास आफूलाई रहेको सेतोपाटीलाई बताए।
‘समितिले सर्वसम्मतिले गरेको निर्णय कसैले रोक्न सक्दैन,’ खतिवडाले भने, ‘संसदमा कुलिङ पिरियडको प्रावधानको कसैले विरोध गरेको छैन। त्यसैले सभामुखले अघि बढाउने आशा छ।’