विशेष अदालतले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीलाई दुई लाख रूपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ।
टेलिकमको बिलिङ सिस्टम अपग्रेडमा ३३ करोड रूपैयाँभन्दा बढीको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले मंगलबार उक्त आदेश गरेको हो।
विशेषका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले पहाडीलाई दुई लाख तिराउन आदेश दिएको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।
टेलिकमको बिलिङ प्रणाली मर्मत गर्न ठेक्का प्रणाली लम्ब्याएर भ्रष्टाचार गरेको अभियोग लागेपछि पहाडी मंगलबार अदालतमा उपस्थित भएकी हुन्। बयान र थुनछेक सकेर उनलाई पुर्पक्षका लागि धरौटीमा राख्ने आदेश गरिएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले जेठ २८ गते पहाडीसहित १८ जनाविरूद्ध मुद्दा दायर गरेको थियो। करिब साढे ३३ करोड रूपैयाँ बिगो दाबी गरिएको यो मुद्दामा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलविरूद्ध पनि मुद्दा दायर भएको छ।
२०६८ पुस ६ गते नेपाल टेलिकम र एसिया लिंकेज टेक्नोलोजिज (चाइना) इन्क बीच सम्झौता भएको थियो।
विद्युतीय माध्यमबाट सञ्चालन भइरहेको प्रणालीलाई एउटै प्लेटफर्ममा एकीकृत गर्ने, रियल-टाइम बिलिङ गरी तुरून्तै शुल्क गणना र अपडेट गर्ने उद्देश्यले उक्त सम्झौता भएको हो।
सम्झौताका सर्त तय गर्दा बदनियतपूर्वक अस्वाभाविक मूल्य कायम गरिएको अख्तियारको दाबी छ।
पाँच वर्षका लागि भएको उक्त सम्झौतामा अहिलेसम्म ९ करोड ८८ लाख ४१ हजार ९५६ रूपैयाँ भुक्तान भइसकेको छ भने नेपाल टेलिकमलाई दायित्व सिर्जना भएको २३ करोड ५९ लाख समेत गरी जम्मा ३३ करोड ४८ लाख १७ हजार ४३० रूपैयाँ नोक्सानी भएको आरोप छ।
यो पनि पढ्नुहोस्-