निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीका रूपमा डा मुकुल ढकालकै विवरण रहेको थप अद्यावधिक नभएको जानकारी दिएको छ।
पार्टीको साधारण सदस्य समेतबाट हटाइएका डा. ढकालले आयोगसँग विवरण माग गरेका थिए।

आयोगले २०८० चैत २० गते विवरण अद्यावधिक भएको र त्यसपछि अद्यावधिक नभएको जानकारी दिएको हो।
‘प्रस्तुत विषयमा तपाईंले यस आयोगमा मिति २०८२ असार ४ मा दर्ता गर्नुभएको निवेदन माग बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको हेरफेर भएको विवरण मिति २०८० चैत २० मा अद्यावधिक भएको र त्यसभन्दा पछि हालसम्म अद्यावधिक भएको अभिलेखबाट नदेखिएको व्यहोरा आदेशानुसार अनुरोध छ,’ आयोगले डा. ढकाललाई उपलब्ध गराएको जानकारी पत्रमा भनिएको छ।
निर्वाचन आयोगले २०८० चैत २० गते १३ पदाधिकारी र ५ सदस्यहरूको विवरण अद्यावधिक गरेको थियो।
२०८० मंसिर ११ देखि १३ गतेसम्म महोत्तरीको जलेश्वरमा बसेको बैठकले पदाधिकारी तथा सदस्य हेरफेर गरेको थियो। त्यसको विवरण रास्वपाले निर्वाचन आयोगमा अद्यावधिक गरेको थियो।
२०८१ भदौमा बसेको सचिवालय बैठकले डा. ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो।
निर्वाचन आयोगले महामन्त्री नै रहेको विवरण पठाएपछि डा. ढकालले पार्टी उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेसँग छलफलको समय माग गरेका छन्।
शुक्रबार पत्र नै पठाएर छलफलका लागि समय माग गरेका हुन्।

‘उपरोक्त सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीको संस्थापक एवं पार्टीको केन्द्रीय सदस्य, प्रवक्ता तथा महामन्त्रीको पदीय जिम्मेवारी निर्वाह गर्दै आइरहेकोमा मलाई पार्टीबाट मिति २०८१/०३/२५ मा गैरकानूनी तवरले पार्टीको केन्द्रीय सदस्य, प्रवक्ता तथा महामन्त्रीको पदबाट हटाउने गरी निर्णय गर्दै पार्टीको पदाधिकारीहरूको हेरफेर सम्बन्धी निर्णय अद्यावधिक गराउनका निमित्त राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम पार्टीले निर्वाचन आयोगमा निवेदन दायर गरेकोमा निर्वाचन आयोगबाट हालसम्म पार्टीको पदाधिकारी अद्यावधिक नभएको हुँदा हालसम्म म नै पार्टीको महामन्त्री तथा प्रवक्ता पदमा कार्यरत रहेको विषय निर्विवादित रूपमा पुष्टि भइरहेको छ,’ उनले पठाएको पत्रमा भनिएको छ।
पार्टीको सभापति रवि लामिछाने पुर्पक्षका लागि थुनामा रहेकाले विषम् परिस्थितिमा पार्टीको नेतृत्वको जिम्मेवारी लगायतका विविध विषयहरू छलफल गर्न केन्द्रीय समिति बैठक बस्नुपर्ने ढकालले बताएका छन्।
‘पार्टीको विधानको धारा २४ को उपधारा (३) को (३) पार्टी महामन्त्रीको काम कर्तव्य र अधिकार अन्तर्गत (ख) ले पार्टीको सभापतिको परामर्शमा केन्द्रीय समितिको बैठक बोलाउने जिम्मेवारी महामन्त्रीलाई तोकिएको भएता पनि पार्टी सभापति हाल थुनामा रहनुभएकोले पार्टीको उपसभापतिको हैसियतले तपाईंसँग परामर्श गरी केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने भएको हुँदा तपाईंसँग समय माग गर्नका निमित्त यो निवेदन पेस गर्दछु,’ ढकालले पत्र पठाउँदै भनेका छन्।
_page-0001-1750423415.jpg)