नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदलाई हेपेको बताएका छन्।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम हटाइएपछि उनले सरकारले सदनलाई हेपेको बताएका छन्।
‘सरकारले यो सदनलाई यति हेपेको छ कि यसको बयान गरी साध्य नै छैन। बारम्बार हामीलाई सदनबाट कार्यसूची आउँछ। ती कार्यसूचीहरू हटाइन्छ, कारण के भनेर सोध्छौं। मन्त्रीको उपस्थिति छैन,’ उनले भने।
सदनमा विपक्षी दलले आन्दोलन गरेपनि जवाफदेही नरहेको पनि उनले बताए।
‘सदनमा आन्दोलन भएको यति समय भयो। सरकारको जवाफदेही पनि छैन। सम्माननीय प्रधानमन्त्रीज्यू उपस्थित हुनुभयो। अहिले आज दिएको कारयसूचीमा पनि मन्त्रीहरू उपस्थित हुनुहुन्न। मन्त्रीहरूको उपस्थिति बेगर छलफल चलाइनुहुन्न,’ उनले भने, ‘नियमावलीहरूलाई हामीहरूले पालना गर्नुपर्ने, सांसदले पालना गर्नुपर्ने, सरकारले पालना गर्नु नपर्ने? कहाँसम्मको अन्याय हो यो?’
शुक्रबारको प्रतिनिधि सभा बैठकमा रास्वपा र राप्रपाले बहिष्कार गरेको छ।