नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीजस्तो गम्भीर अपराधको समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन्।
बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद सुवालले दोषी उम्कन नहुने भन्दै यस विषयमा निष्पक्ष छानबिनको माग गरेका छन्।
उनले भिजिट भिसा प्रकरणमा सबै पार्टीका गृहमन्त्री जोडिएको हुनाले सत्तापक्ष र प्रतिपक्ष छानबिनका लागि तयार नभएको हुनसक्ने आशंका पनि व्यक्त गरे।
उनले भिजिट भिसा लगायतका मुलुकमा विद्यमान समस्याको समाधानका लागि जनता जागरूक हुनुको विकल्प नरहेको पनि बताए।
उनले भने, ‘भिजिट भिसा प्रकरणमा सबै पार्टीको गृहमन्त्रीहरू परेको देखियो। तर दोषीलाई त उम्कन दिन नहुने हो। तर सबै पार्टीबाट गृहमन्त्री भएको समयमै यस्तो भएको हुँदा पनि छानबिन गर्न तयार नभएका हुन् कि! यसको समाधानका लागि जनता सचेत हुनुको विकल्प छैन।’
सरकारले संसदमा विपक्षीलाई पेलेर अघि बढ्ने कार्य शोभनीय नभएको समेत उनको टिप्पणी छ। —न्युज एजेन्सी नेपाल