'संयुक्त जनआन्दोलन समिति' का संयोजक नवराज सुवेदीले जेठ १५ गतेदेखि सुरू हुने 'जनआन्दोलन' मा साथ माग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पत्र पठाएका छन्।
मंगलबार संयोजक सुवेदीले रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) लाई पठाएको पत्रमा 'संयुक्त जनआन्दोलनमा सहकार्यका लागि प्रस्ताव' गरिएको उल्लेख छ।
‘संयुक्त जनआन्दोलन समितिले यही २०८२ साल जेठ १५ गतेदेखि संवैधानिक राजसंस्था, सनातन हिन्दुअधिराज्य र बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनाका लागि देशव्यापी जनआन्दोलन प्रारम्भ गर्न लागेको जानकारी तपाईंलाई अवश्यै छ भन्ने विश्वास लिएको छु। वर्तमान राजनीतिक व्यवस्थाले नेपाली जनताको सुशासन, समृद्धि र राष्ट्रिय पहिचानका अपेक्षाहरू पूरा गर्न असफल भएको कुरा आज सबैमा स्पष्ट भइसकेको छ। धर्म, संस्कृति र मौलिक मूल्य–मान्यतामा आधारित हाम्रो सनातन पहिचान गम्भीर संकटमा पर्दै गएको छ,’ संयोजक सुवेदीले लेखेको पत्रमा उल्लेख छ, ‘तपाईंको पार्टीका सभापति रवि लामिछानेज्यूले पनि हालको व्यवस्था अन्तर्गत निष्पक्ष न्याय पाउन सकिनेमा शंका व्यक्त गर्नुभएको तथ्य सर्वविदितै छ। राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरू दलीय हस्तक्षेप र दलीयकरणको गम्भीर सिकार बनिसकेको सन्दर्भमा यस व्यवस्थाबाट तपाईंहरू पनि सन्तुष्ट हुनुहुन्न भन्ने हाम्रो बुझाइ छ।’
वर्तमान व्यवस्था परिवर्तन गर्नु आवश्यकता रहेको सुवेदीले पत्रमा उल्लेख गरेका छन्।
‘हामीबीच साझा समझदारी हुन सक्ने आशा लिएको छु। यस पृष्ठभूमिमा, तपाईंकै पार्टीको मूल सैद्धान्तिक चिन्तन र वर्तमान व्यवस्था प्रतिको आलोचनालाई दृष्टिगत गर्दै, म हाम्रो आन्दोलनमा सहकार्य र सहभागिताको प्रस्ताव गर्दछु। आउनुहोस्, यो चरम दलीयकरण र अव्यवस्थाको अन्त्य गरी राष्ट्रिय पहिचान, न्याय, धर्म र लोकतन्त्र पुनःस्थापित गर्ने हाम्रो साझा लक्ष्यका लागि संयुक्त रूपमा अघि बढौं, संवैधानिक राजसंस्था, सनातन हिन्दु राष्ट्र, बहुदलीय प्रजातन्त्र पुनर्स्थापना गरौं,’ सुवेदीले भनेका छन्।
संयोजक सुवेदीले आन्दोलनमा साथ माग्दै कुन कुन पार्टीलाई पत्र लेखेका छन् प्रष्ट भइसकेको छैन। तर रास्वपालाई लेखेको पत्र भने बाहिरिएको छ।
यसबारे सेतोपाटीले रास्वपा कार्यवाहक सभापति अर्याललाई फोन गरी पत्रबारे सोधेको छ।
जबाफमा कार्यवाहक सभापति अर्यालले पत्र पार्टी कार्यालयमा आएको हुन सक्ने र त्यसप्रति आफूहरूको कुनै सरोकार नै नभएको बताएका छन्।