कुरा एक कप चियाको होइन। कुरा हो — दोस्तीको, अनगिन्ती यादको र असीमित हाँसोको।
मैतीदेवीमा तीन महिनाअघि खुलेको चिया पसल 'द टि टेल्स' ले यही सिद्धान्त बोकेको छ।
यसका सञ्चालक पनि दुई जना साथी नै हुन् — ऋषिकेश बस्याल र रोहित शाह।
यो स्टोरीमा म २७ वर्षीय यी युवाहरूको दोस्तीदेखि साझेदारीसम्मको कुरा गर्नेछु।
ऋषिकेश र रोहितको भेट २०७० सालमा भएको थियो। उनीहरू मेघा कलेजमा प्लस-टू पढ्थे। प्लस-टू सकेपछि धेरै साथी विदेश जाने तयारीमा लागे। ऋषिकेश र रोहितलाई भने नेपाल छाड्न मन थिएन।
उनीहरूको जमघट नयाँबानेश्वरको एउटा चिया पसलमा हुन्थ्यो। सुरूमा २०-३० जना साथी जम्मा हुन्थे। बिस्तारै संख्या घट्दै गयो। एकपछि अर्को साथीले विदेशको बाटो समाते। बाँकी बचे यिनै दुई — ऋषिकेश र रोहित।
यी दुईले न नेपाल छाडे, न नयाँबानेश्वरको चिया पसल।
ऋषिकेशले जियोलोजीमा स्नातक पढे र साइकोलोजीमा स्नातकोत्तर गरे। कोभिड महामारीपछि थिएटरमा काम पनि गरे। उनले अहिलेसम्म १०-१२ वटा नाटक खेलेका छन्। केही गीतको म्युजिक भिडिओ र विज्ञापनमा काम गरेका छन्। ऋषिकेशले अभिनय गरेको सुशान्त घिमिरेको 'बुझाऊ मलाई' गीतको म्युजिक भिडिओ एकदमै लोकप्रिय छ। त्यसमा उनको अभिनयको तारिफ पनि भइरहेको छ।
रोहितले भने व्यवस्थापनमा स्नातक गरे र व्यवस्थापनमै स्नातकोत्तर। पढ्दा पढ्दै 'फिन्टेक सलुसन्स' मा काम पनि गरे।

फरक फरक विषय पढेर फरक फरक बाटो रोजे पनि उनीहरूलाई दोस्तीको तारले जोडेको थियो। उनीहरू एकअर्काप्रति समर्पित थिए। एकअर्काको साथ मन पराउँथे। फुर्सत होस् या नहोस्, व्यस्त जिन्दगीबाट समय निकालेर भए पनि नयाँबानेश्वरको चिया पसलमा भेट्नु उनीहरूको 'रूटिन' जस्तै थियो।
एक वर्षअघिको कुरा हो। ऋषिकेश र रोहित सधैंझैं चिया गफमा थिए। पुराना कुरा सम्झँदै हाँसोमा मग्न थिए।
कुरै कुरामा रोहितले भने, 'हामी मिलेर केही व्यवसाय गरौं न यार!'
उनीहरूबीच व्यवसायको कुरा निस्केको पहिलोपटक थिएन। व्यवस्थापन पढेका रोहित पहिल्यैदेखि आफ्नो व्यवसाय गर्ने सुरमा थिए। त्यस निम्ति उनलाई भरपर्दो साथीको खाँचो थियो। उनले त्यो विश्वास र आड ऋषिकेशमा देखेका थिए।
ऋषिकेशलाई पनि व्यवसायमा रूचि त थियो, तर खुलेर अगाडि बढ्न सकेका थिएनन्।
एउटा भनाइ छ नि — हरेक कामको आफ्नो निश्चित समय हुन्छ, समयभन्दा अगाडि कसैले केही पाउँदैन।
यहाँ पनि त्यस्तै भयो। अरू बेला रोहित र ऋषिकेशबीच व्यवसायको कुरा उठ्दा त्यत्तिकै फासफुस सकिन्थ्यो। त्यस दिन भने उनीहरूबीच सम्भावित व्यवसायलाई लिएर गम्भीर कुराकानी भयो।
'खासमा त्यो दिन हामी आफ्नै व्यवसाय गर्नुपर्छ भनेर गम्भीर हुनुको कारण जागिरले दिक्क भएर पनि हुनसक्छ,' रोहितले भने, 'हामी दुवै आ-आफ्नो काममा व्यस्तै थियौं। जागिर राम्रै चलिरहेको थियो। पैसा आइरहेकै थियो। तर जागिरले पैसा दिए पनि जिन्दगीमा मजा दिइरहेको थिएन।'
यसैमा ऋषिकेशले थपे, 'म थिएटर करिअरको सुरूकै चरणमा थिएँ। थिएटरले मात्र जिन्दगी चल्दैन भन्ने बुझिसकेको थिएँ। त्यसैले आर्थिक रूपमा दरिलो आधार होस् भन्ने मेरो मनमा थियो। त्यही बेला व्यवसायको कुरा उठेपछि मेरो दिमागले पनि त्यसबारे गम्भीर रूपमा सोच्न थाल्यो।'
'त्यो बेला म कतिसम्म व्यग्र थिएँ भने कि आफ्नै काम गर्नुपर्यो, नभए विदेश जानुपर्यो भनेर सोच्न थालिसकेको थिएँ,' रोहितले अगाडि भने।
यी दुईबीच यस्तो कुराकानी भएको केही महिनापछि नै ऋषिकेशले विवाह गरे। त्यही बेला रोहितले जागिर छाडे।
दुवै फरक घटना भए पनि यसले उनीहरूको जिन्दगीमा पारेको प्रभाव समान थियो — विवाहपछि ऋषिकेशको जिन्दगीमा जिम्मेवारी थपियो। उता जागिर छाडेपछि रोहितलाई पनि नयाँ काम खोज्न दबाब सुरू भइहाल्यो।
'पहिला कुरा मात्र हुन्थ्यो, त्यसपछि त केही गर्नैपर्ने बाध्यता पनि भयो,' उनीहरूले भने।

मान्छेको जिन्दगीमा कतिपय साथी यस्ता हुन्छन्, जोसँग कुरा गर्दा सोचविचार गर्नुपर्दैन। ऋषिकेशका लागि रोहित र रोहितका लागि ऋषिकेश त्यस्तै साथी थिए। उनीहरूको एकअर्काप्रति आड, भरोसा र समर्पणको कुनै सीमा थिएन।
यही आड, भरोसा र समर्पणमा टेकेर उनीहरूले निधो गरे — परिणाम जेसुकै होस्, व्यवसाय त गर्ने गर्ने!
यत्ति निधो गरिसकेपछि उनीहरूले कुन व्यवसाय फाइदाजनक छ र कुन व्यवसायमा हात हाल्दा रमाउन सकिन्छ भन्नेबारे धेरै सोचविचार गरे।
दुवैको रूचि र क्षमता फरक थियो। त्यसैले व्यवसायको आइडिया पनि फरक फरक नै आयो।
तर उनीहरूलाई एउटा कुराले सधैं जोडेको थियो — चिया।
'अरूले भन्दा एक कप चिया त हो नि भन्ला, तर हाम्रो निम्ति एक कप चिया भनेको वर्षौंदेखिको दोस्ती हो, अनगिन्ती याद हो र असीमित हाँसो हो,' रोहितले भने, 'एक कप चियासँग हाम्रो कलेजदेखिको सम्झना गाँसिएर आउँछ। हामी चिया पिउँदै अतीतमा हराउँछौं, पुराना कुरा सम्झेर खुसी हुन्छौं।'
'हाम्रो निम्ति एक कप चियाको जति ठूलो महत्त्व छ, अरू कति साथीहरू होलान्, जो चियासँग सम्झना साट्न चाहन्छन्। यही सोचेर हामीले चिया पसल खोल्ने निर्णय गर्यौं,' उनले अगाडि भने।
उनीहरू 'सम्झना साट्ने' त्यो चिया पसल एउटा सानो कोठामा सीमित होस् भन्ने चाहन्थेनन्।
उनीहरू चाहन्थे — जसरी सम्झनाको दायरा असीमित हुन्छ, त्यो चिया पसल पनि त्यत्तिकै फराकिलो हुनुपर्छ।
यही कुरा मनमा राखेर उनीहरू चिया पसलका लागि खुला ठाउँको खोजीमा लागे। ठाउँ खोज्दै कीर्तिपुरसम्म पुगे।
२०८१ असारदेखि भदौसम्म तीन महिना लगातार ठाउँ खोजेपछि मैतीदेवीमा भनेजस्तो फेला पर्यो। उनीहरूले त्यहाँ एउटा भर्खरै खाली भएको कबाडखाना भेटे। त्यो ठाउँ फराकिलो त थियो, तर अति नै फोहोर थियो। भुइँभरि सिसा र फोहोरको डुंगुर थियो।
जतिसुकै फोहोर भए पनि सफासुग्घर गरेपछि सम्झना साट्न पर्याप्त ठाउँ हुन्छ भन्ने सोचेर उनीहरूले बैना गरे।
त्यसपछि ३५ हजार रूपैयाँ खर्च गरेर सारा फोहोरमैला पन्छाए। ठाउँ सफा गर्न र त्यसलाई क्याफेको डिजाइन दिन दुई महिना लाग्यो।
त्योभन्दा बढी झन्झट चाहिँ व्यवसाय दर्ता र नक्सा पासको निम्ति सरकारी कार्यालय धाउनमा लागेको उनीहरू बताउँछन्।

यसको नाम चाहिँ कसरी जुराउनुभयो?
जबाफमा रोहितले भने, 'ऋषिकेशलाई थिएटरमा रूचि छ। थिएटर भनेको कथा हो। त्यही कथाको अंग्रेजी शब्द 'टेल्स' लाई चियाँसँग जोडेर 'टि टेल्स' नाम फुराएका हौं। आखिर चियासँग पनि सम्झनाका कथाहरू जोडिएर आउँछन्!'
२०८१ फागुनदेखि सञ्चालनमा आएको 'टि टेल्स' मा ऋषिकेश र रोहितले आ-आफ्नो बचत लगानी गरेका छन्। केही साथीले मद्दत गरेको उनीहरूको भनाइ छ। खासगरी खुला ठाउँमा रङरोगनदेखि कुर्सी-टेबल मिलाउन र ठाउँ डिजाइन गर्न साथीहरूको सहयोग र सुझावले धेरै सजिलो भएको ऋषिकेशले बताए।
'हामी दुवैका साथी गरेर दिनकै १० जना जति आइरहेका हुन्छन्,' उनले भने, 'यसरी साथीहरू आइदिँदा सुरूका दिनमा व्यवसाय चलाउन पनि मद्दत भयो।'
यो चिया पसल बिहान ८ देखि राति ९ बजेसम्म खुल्छ। खोल्ने काम ऋषिकेशले गर्छन्। दिउँसो २ बजेबाट रोहितको सिफ्ट सुरू हुन्छ। पसल बन्द गर्ने जिम्मा पनि उनकै हो।
'हामी दुवै काममा रमाउने मान्छे हौं। जस्तोसुकै काम पनि हामीलाई बोझ लाग्दैन,' ऋषिकेशले भने, 'हामी एकअर्काका परिपूरक हौं। जसको जे क्षमता छ, उसले त्यही काम गर्छ। हाम्रो निम्ति कुनै पनि काम सानो-ठूलो छैन।'
यहाँ यी दुई जना साथीबाहेक चार जना कामदार छन्। सुरूमा उनीहरूको पसलमा दिनको १५ लिटर दूध खपत हुन्थ्यो। अहिले २५ लिटर खपत हुन्छ। यहाँ १३ थरीका चिया पाइन्छन्, जसको मूल्य ३० रूपैयाँबाट सुरू हुन्छ। 'जस्ट टि' भन्ने दूध चियाको मूल्य ४० रूपैयाँ छ। सख्खर हालेको चिया पनि पाइन्छ।
चियाबाहेक चिसो पेय र खाजा पनि पाइन्छ। यहाँको चर्चित खाजा फापरको फुरौला हो। पाल्पाको चुकौनी र बटुक (मासको पकौडा) पनि लोकप्रिय छ। स्यान्डविच, आलु निम्की, चाउचाउ साँधेको, चटपटे, आलुचप लगायतका परिकार पनि पाइन्छन्। यस्ता खाजाको मूल्य ५० देखि २०० रूपैयाँसम्म पर्छ।
'हामीकहाँ अचेल धेरै जना सख्खर हालेको चिया र फापरको फुरौला खोज्दै आउनुहुन्छ,' रोहितले भने, 'बिहान र साँझको समय चिया धेरै खपत हुन्छ।'
यो रेस्टुरेन्टको मुख्य आकर्षण खुला ठाउँ नै हो। फराकिलो ठाउँ देखेर यहाँ आउने ग्राहकहरू छक्क पर्ने ऋषिकेश बताउँछन्। उनका अनुसार वरपरका स्थानीय पनि पहिलेको फोहोर कबाडखानालाई सुन्दर बगैंचाजस्तो रेस्टुरेन्टमा परिणत गरेकोमा छक्क मान्छन्।
यहाँ सबै उमेरका ग्राहक आउँछन्। आधाभन्दा बढी ग्राहक कलेजका विद्यार्थी हुन्। त्यसबाहेक विभिन्न अफिसका कर्मचारी र स्थानीय पनि प्रशस्तै आउँछन्। बिहानको समय कलेजका विद्यार्थी पढ्न र प्रोजेक्टको काम गर्न पनि आउँछन्।

यहाँको अर्को विशेषता मन लागेसम्म बस्न पाउनु हो। ऋषिकेश र रोहितले ग्राहकलाई यस्तो सुविधा दिनुको पछाडि आफ्नै अनुभव जोडिएको छ।
'हामी नयाँबानेश्वरको जुन पसलमा बसेर चिया खान्थ्यौं, त्यहाँ घन्टौं गफ गर्दा पनि आन्टीले कहिल्यै उठेर जाओ भन्नुभएन,' ऋषिकेशले भने, 'त्यसैले हामी पनि कसैलाई धेरै समय भयो, उठेर जाओ भन्दैनौं।'
टि टेल्समा भित्र र बाहिर गरी ७० जना अटाउँछन्। पानी पर्दा खुला ठाउँमा बस्न मिल्दैन। यसका लागि केही व्यवस्थापनको तयारी भइरहेको उनीहरूले बताए। त्यसपछि भित्र मात्र ४० जना अटाउँछन्।
यति कम समयमा ग्राहकहरूबाट धेरै माया पाएकोमा उनीहरू दंग छन्। ऋषिकेशले एउटा घटना सुनाए —
एकदिन एक जना ग्राहकले 'यहाँ बाहिरको खाना ल्याउन पाइन्छ' भनेर सोधे।
उनीहरूले 'हुन्छ' भने।
त्यसपछि ती ग्राहकले आफ्नो निम्ति मात्र होइन, टि टेल्सका सबै कर्मचारीको निम्ति 'टिपटप' बाट समोसा ल्याए।
'ग्राहकहरूको माया र विश्वासले हामीलाई प्रोत्साहित गरेको छ,' ऋषिकेश र रोहितले भने, 'यो एक वर्ष यही ठाउँलाई दीगो रूपमा चलाउँछौं। त्यसपछि अर्को वर्षबाट मिल्यो भने अरू ठाउँमा पनि खोल्ने विचार छ।'
उनीहरूले अगाडि भने, 'हामी दुवै नेपालमै केही गरौं भनेर बसेका हौं, विदेश जानु अन्तिम विकल्प हो।'
उनीहरू मैतीदेवीबाट सुरू भएको चिया सम्झना काठमाडौंभरि फैलाउन चाहन्छन्।
किनभने, कुरा एक कप चियाको होइन। कुरा हो — दोस्तीको, अनगिन्ती यादको र असीमित हाँसोको।
***