नेकपा एमाले सांसद दयालबहादुर शाहीले नेकपा (माओवादी केन्द्र) प्रति लक्ष्य गर्दै एउटा कर्मचारी हटाउँदा तीन दिनसम्म रूने गरेको टिप्पणी गरेका छन्।
पूर्वाधार विकास समितिको बुधबारको बैठकमा बोल्दै उनले कर्मचारीलाई आफ्नो रोल मोडल जस्तो बनाएर रूने असर माओवादीमा रहेको टिप्पणी गरेका हुन्।
उनले अमेरिकाले त्यत्तिका कर्मचारी र कार्यक्रमहरू हटाउँदा कहीँ पनि विरोध नहुने तर नेपालमा भने रोई कराइ गर्ने परिस्थिति निर्माण भएको भन्दै दुःख व्यक्त गरे।
उनले एउटा कर्मचारी हटाउँदा रूने व्यक्तिहरूले नै कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्ने आवाज उठाइरहेको बताए।
उनले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङको व्यवस्थापकीय क्षमता राम्रो रहेको पनि बताए।
उनले भने, ‘केही कुरा के छ भने हल्लाको पछि हामी लागेका छौँ। अमेरिकाले त्यत्तिका कर्मचारी हटायो, त्यत्रा प्रोग्राम खारेज गर्यो, त्यहाँ रोइकराइ छैन। एक कर्मचारी हटाउँदा उनै साथी के भन्छन् भने राष्ट्रपति सिस्टममा जाऔँ। यो सिस्टम खराब भयो भन्छन्। राष्ट्रपतीय प्रणाली आएपछि त डोनाल्ड ट्रम्प भन्दा बलियो राष्ट्रपति हुन्छ हाम्रो। उनै साथीहरू एउटा कर्मचारी हटाउँदा रोइकराइ छ। कुलमान घिसिङका व्यवस्थापकीय क्षमता राम्रो हो। उहाँले आयव्यय देखाउँदा कुनै तिर्नुपर्ने दायित्व छुटाएर नाफा देखाउनुभएको थियो। अहिलेकोले तिर्नुपर्ने दायित्व देखाएर घाटामा छौं भन्नुभएको छ। सबैले पढेका छौँ त। हिजो माक्स, महात्मा गान्धी, लेनिन भन्थ्यौँ अहिले हामी राजनीतिक मान्छेहरू घटेर कालिदासको सानो कमा अड्किएर बसेका छौँ। कर्मचारीलाई ठूलो बनाएर बसेका छौं। कुलमान, कुलमान गरेर तीन दिनसम्म रूने बानीको असर पनि कतै कतै छ।’
नेकपा एमालेकै सांसद प्रेमबहादुर महर्जनले कुलमान घिसिङ बिदाइ हुँदै गर्दा र हितेन्द्र शाक्य आइसकेपछि विद्युत प्राधिकरण अर्बौं रुपैयाँ घाटामा गयो भन्ने कुराको स्पष्ट जबाफ दिन आग्रह गरे। लोडसेडिङको विषयमा पनि स्पष्ट ढंगबाट जनतालाई भन्नुपर्ने उल्लेख गरे।
उनले भने, ‘कुलमान घिसिङ बिदाई हुँदै गर्दा र हितेन्द्र शाक्य आइसकेपछि विद्युत प्राधिकरण अर्बौं रुपैयाँ घाटामा गयो भन्नेकुरा छ। यसबारेमा स्पष्ट पारिदिनुहोला। लोड सेडिङको विषयमा पनि स्पष्ट ढंगबाट जनतालाई स्पष्ट पार्नुपर्छ।’ –न्युज एजेन्सी नेपाल