अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक हतियार कार्यक्रम रोक्न वार्ता गरिरहेको बेलामा इसराइलले भने इरानमा आक्रमण गर्न लागेको खुलासा भएको छ।
अमेरिकालाई प्राप्त नयाँ गुप्तचर जानकारी अनुसार इसराइलले इरानी आणविक भट्टीहरूमा आक्रमण गर्ने तयारी गरिरहेको भनेर अमेरिकी अधिकारीहरूको हवाला दिंदै सीएनएनले जनाएको छ।
ती अधिकारीहरूका अनुसार इसराइलले अन्तिम निर्णय लिएको छ कि छैन भनेर स्पष्ट छैन। कसरी र कहिले आक्रमण गर्छ भन्ने कुरा सम्भवतः अमेरिकाको इरानसँग भइरहेको वार्तामा निर्भर हुनेछ।
ट्रम्पले इरानसँग सम्झौता गरिसकेपछि इसराइलले आक्रमण गर्यो भने उसको ट्रम्पसँग सम्बन्ध झन् बिग्रिनेछ।
अहिले इरानसँग चलिरहेको अमेरिकी वार्ता पनि इसराइलसँग सहकार्य नगरिकनै भइरहेको छ। इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु शान्ति चाहँदैनन् भन्ने निस्कर्षमा पुगेर ट्रम्पले हमाससँग पनि सिधै वार्ता गर्न थालेको मानिन्छ। त्यसै क्रममा एकजना अमेरिकी बन्धकलाई केही दिन अघि हमासले रिहा गरेको थियो।
भर्खरै मध्य-पूर्वको भ्रमणमा जाँदा पनि ट्रम्प इसराइल गएनन्। नेतन्याहुले साउदी अरेबियामै आएर भेट्छु भन्दा पनि ट्रम्प मानेनन् भनेर समाचार आएका छन्।
इसराइलले भर्खरै गाजामा भिषण आक्रमण थालेपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि पूर्व-निर्धारित इसराइल भ्रमण रद्द गरेका थिए।
रूस र युक्रेनको युद्ध रोक्ने योजनामा सफल नहुने देखेर नोबेल शान्ति पुरस्कार जित्ने उत्कट चाहनाका कारण ट्रम्प इरानसँग शान्ति सम्झौता गर्न व्यग्र छन्। सो व्यग्रतामा इरानी आणविक हतियार कार्यक्रम पूरै नरोकिने गरी उनले सम्झौता गरेमा इसराइलले इरानमाथि हमला गर्ने योजना बनाएको हुनसक्छ।
हाल इरानसँगको भइरहेको वार्ता पनि इरानमा आक्रमण गर्न लागेको इसराइललाई रोकेर ट्रम्पले गरेका थिए।
इसराइली प्रधानमन्त्री नेतन्याहुले मे महिना इरानका आणविक भट्टीमा हमला गर्न लागेका थिए। तर ट्रम्पले रोकेर इरानसँग वार्ता गर्न थालेको भनेर द न्यूयोर्क टाइम्सले गत महिना लेखेको थियो।
महिनौंसम्म आफ्ना सल्लाहकार र मन्त्रीहरूसँग छलफल गरेपछि इसराइलले गर्ने हमलामा साथ नदिएर इरानसँग वार्ता गर्ने निष्कर्षमा त्यतिबेला ट्रम्प पुगेका थिए।
इरानका आणविक भट्टीमा मे महिनामा हमला गरेर आणविक हतियार कार्यक्रमलाई कम्तीमा एक वर्षपछि धकेल्न सकिने इसराइलको आकलन थियो। इरानप्रति अनुदार ट्रम्पले अमेरिकालाई समेत सो हमलामा सामेल गराउँछन् भन्ने नेतन्याहुको आशा थियो। तर इरान-विरोधी कट्टरपन्थी सल्लाहकारले इरानमाथि हमला गर्नुपर्ने सुझाव दिए पनि आक्रमण गरेर धेरै समयसम्म आणविक हतियार कार्यक्रम रोक्न नसकिने बताएपछि ट्रम्पले अन्ततः वार्ता गर्ने निर्णय गरेका थिए।
जारी वार्तामा अमेरिकी सर्त नमाने इरानविरूद्ध कडा कदम चाल्ने भनेर ट्रम्पले धम्की दिइरहेका छन्। यस्तोमा इरानमाथि अमेरिकी सर्त मान्न दबाब हाल्न पनि इसराइलले हमला गर्ने योजना बनाएको भनेर अमेरिकाले खुलासा गराएको हुनसक्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)