नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको भ्रष्टाचारको छिटो छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।
प्रेस सेन्टर नेपाल पोखराले मंगलबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पुनले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई विमानस्थलमा भएको भ्रष्टाचारको छानबिन छिटो टुंगोमा पुर्याएर कारबाही गर्न माग गरेका हुन्।
‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार बिना आग्रह पूर्वाग्रह अख्तियारले छिटो छानबिन गरोस्,’ उनले भने, ‘राजनीतिक स्टन्ट गर्न भन्दा पनि छानबिन गरेर भ्रष्टाचारमा संलग्न भएकालाई कारबाही गरोस्।’
अख्तियारसँग विज्ञ र प्राविधिक जनशक्ति समेत रहेको भन्दै विमानस्थलको भ्रष्टाचार मुद्दा छिटो अगाडि बढाउनुपर्ने उनले बताए।
दोषीलाई कारबाही गरेर निर्दोषलाई अनावश्यक बदनाम बनाउने काम रोक्न पनि उनले आग्रह गरे।
‘विमानस्थल भ्रष्टाचारमा अनावश्यक मान्छेलाई बदनाम बनाउने काम नगरोस्,’ उनले भने।
प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले राजेन्द्र लिङ्देनको संयोजकत्वमा गठन गरेको उपसमितिले विमानस्थल निर्माणमा १४ अर्ब भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो। उक्त उपसमिति राजनीतिक भएको भन्दै पुनले लेखा समितिले अख्तियार वा अरू निकायमा कारबाही सिफारिस गर्न सक्ने बताए।
विमानस्थलको रनवे बनाउँदा उचाइ घटाएर रिठ्ठेपानी डाँडा ३० मिटर काट्नुपर्ने ठाउँमा ४० मिटर काटिएको विषयमा भ्रष्टाचारको आशंका रहेको उनले बताए।
वैदेशिक सहायतामा बनेका आयोजनाका लागि विदेशबाट सामान ल्याउँदा भन्सार छुट दिने चलन भएको भन्दै उनले भन्सार छुट हो कि भ्याट छुट हो भनेर हेर्नुपर्ने बताए। भ्याट छुट दिएको भए भ्रष्टाचार हुन सक्ने उनले बताए।
महालेखा परिक्षकको प्रतिवेदन र सार्वजनिक लेखा समितिले बनाएको छानविन उपसमितिले विमानस्थलको सामान चीनबाट ल्याउँदा २ अर्ब छुट दिएको भन्दै असुल उपर गर्न सिफारिस गरेको थियो।
चीनको सिएएमसिई कम्पनीसँग विमानस्थल बनाउन इपिसी मोडलमा सम्झौता भएकाले सबै सामान निर्माण कम्पनीले राख्नुपर्नेमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले किनेर राखेको विषयमा पनि छानबिन गर्न उनले माग गरेका छन्। नेता, कार्यकर्ता र कर्मचारीलाई डाम्ने भन्दा पनि छानबिन गरी निष्कर्षमा पुग्न उत्तम हुने उनले बताए।
‘इपिसी मोडलमा सबै सामान निर्माण कम्पनीले फिट गर्नुपर्नेमा क्यानले सामान किनेर हालेको भनिएको छ। यसको प्राविधिक छानबिन गरेपछि थाहा हुने कुरा हो,’ उनले भने, ‘लेखा समितिसँग मेरो के अनुरोधभन्दा राष्ट्रसेवक कर्मचारीलाई डाम्ने, नेता कार्यकर्तालाई आरोपित गर्नभन्दा पनि छानबिन गरी कारबाही गर्ने वातावरण बनाइदेओस्।’
अर्को प्रसंगमा पूर्वअर्थमन्त्री पुनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका सहरहरूमा सिधा हवाई उडानका लागि सरकारले कूटनीतिक पहल गर्न नसकेको आरोप लगाए।
पोखराबाट ५, ६ घण्टाको छोटो दुरीका गन्तव्यमा मात्र हवाई सेवा दिन सकिने भएकाले क्षेत्रीय विमानस्थल भनिएको भन्दै उनले भारतका सहरमा सिधा उडान गर्न सके विमानस्थल सञ्चालनमा समस्या नहुने बताए।
‘पोखराबाट ५, ६ घण्टाको यात्रा गर्न यो विमानस्थल बनाएको हो, यहाँबाट दक्षिण एसिया, पूर्वी एसिया, थाइल्याण्ड, चीन जस्ता नजिकका गन्तव्यमा मात्र यात्रा गर्न सकिन्छ,’ उनले भने, ‘भारतमा उडान गर्न सरकारलाई घचघचाइराखेका छौं। वनारस, दिल्ली, लखनऊ, कलकत्रा उडान गर्न सके पनि पर्याप्त हुन्छ।’
काठमाडौंपछि सबैभन्दा धेरै पर्यटक पोखरा आउने गरेको भन्दै उनले पोखरामा क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको बताए।
भारतीय पर्यटक काठमाडौं हुँदै पोखरा आएर मुक्तिनाथ जाने गरेको भन्दै पोखराबाट भारतका सहरहरूमा उडान भए मुक्तिनाथ जान आउने भारतीयको पनि खर्च घट्ने उनले बताए ।