अर्थ मन्त्रालयमा गभर्नर सिफारिस समितिको बैठक जारी छ।
मंगलबार दिउँसो गभर्नर सिफारिस गर्न समितिको बैठक बसिरहेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जनाएको छ।
सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ।
नेकपा एमाले र नेपाली कांग्रेसबीच अर्थविद्समेत रहेका विश्व पौडेललाई गभर्नर बनाउन सहमति जुटेको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पौडेललाई गभर्नर बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रस्ताव राखेका थिए।
वैशाख २९ गते र आज बालुवाटारमा भएको कुराकानीमा सभापति देउवाले पौडेललाई गभर्नर बनाउन प्रस्ताव गरेकोमा प्रधानमन्त्री ओलीले सहमति जनाएका हुन्।
आजै मन्त्रिपरिषदको बैठक बस्दैछ। सोही बैठकले गभर्नर नियुक्ति गर्नेछ।
अमेरिकाबाट अर्थशास्त्रमा पिएचडी गरेका विश्व पौडेल पछिल्लो समय काठमाडौं विश्वविद्यालयको 'स्कुल अफ म्यानेजमेन्ट'का प्रोफेसर थिए।
केयुको प्राध्यापक हुने बेलादेखि नै उनी कांग्रेसको क्रियाशील राजनीतिबाट अलग भएका थिए।
गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर रिक्त छ। डेपुटी गभर्नर नीलम ढुंगानालाई अर्थमन्त्री पौडेलले कायममुकायम गभर्नरको जिम्मेवारी दिएका छन्।
नेपाल राष्ट्र बैंकको ऐनअनुसार गभर्नरको कार्यकाल सकिनुभन्दा एक महिनाअघि नै गभर्नर सिफारिस हुनुपर्ने हो तर यसपालि ढिलाइ हुँदा आलोचना भइरहेको छ।
गभर्नर सिफारिस समितिको सदस्य रहेका विश्व पौडेलले पदबाट राजीनामा दिएका थिए।
यसअघि सभापति देउवाले प्रधानमन्त्री ओलीसँग राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउन प्रस्ताव गरेका थिए।
तर नेकपा (एमाले) का कतिपय नेताहरूले शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला कार्यकारी निर्देशक युवराज खतिवडालाई गभर्नर नियुक्त नगरेको नजिर देखाएपछि ओलीले अर्को नाम मागेका थिए। त्यसपछि देउवाले विश्व पौडेलको नाम प्रस्ताव गरेका थिए।
विश्व पौडेल २०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई चितवन क्षेत्र नम्बर १ मा चुनाव लडेर पराजित भएका थिए।
पौडैल अर्थ मन्त्रालयको आर्थिक सल्लाहकार, योजना आयोगको उपाध्यक्ष र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को समेत आर्थिक सल्लाहकार भइसकेका छन्।