लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापनाका लागि प्रदेश सरकारले प्रक्रिया अगाडि बढाएको छ।
शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा बनेको विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेपछि प्रतिष्ठान गठनको कानुनी प्रक्रिया अघि बढेको हो।
अब उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका तर्फबाट प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक प्रदेशसभा बैठकमा पेस हुने उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले बताए।
‘लुम्बिनी प्रज्ञा प्रतिष्ठानको स्थापना र सञ्चालन गर्ने सम्बन्धमा बनेको विधेयक प्रदेशसभा बैठकमा पेस गर्ने निर्णय मन्त्रिपरिषद बैठकबाट भएको छ,’ मन्त्री न्यौपानेले भने, ‘अब यो विधेयक प्रदेश सभामा पेस हुन्छ र प्रतिष्ठान स्थापना र गठनको कानुनी प्रकृया अगाडि बढ्छ।’
विधेयक प्रदेश सभामा पेस भएपछि संसदले यसलाई पारित गर्नुपर्ने हुन्छ। संसदबट पारित भएको विधेयक प्रमाणिकरणका लागि प्रदेश प्रमुख समक्ष पुग्नेछ। प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि ऐनको रूपमा जारी हुने छ। ऐन निर्माण भयो भने सरकारलाई प्रतिष्ठान स्थापना र सञ्चालनका लागि प्रक्रिया अगाडि बढाउन बाटो खुला हुनेछ।
भाषा, साहित्य, लोक साहित्य, संस्कृति, ललितकला, नाट्यकला, संगीतको संरक्षण, सम्वर्धन र विकास गर्ने लक्ष्यसहित प्रतिष्ठानको स्थापना गर्न थालिएको मन्त्री न्यौपानेले बताए।