गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशको सीमा क्षेत्रमा तस्करी बढेको गुनासो गरेपछि सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म रानी नाकाका डिएसपी तानिएका छन्।
वैशाख ३१ गते कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी उद्घाटन सत्रमा गृहमन्त्री लेखकले तस्करी ३० दिन भित्र नियन्त्रण लिन निर्देशन दिएका थिए।
उनले तस्करी बढेको भन्दै असन्तुष्टि जनाएपछि सशस्त्र प्रहरी बलले रानी नाकाका सशस्त्र प्रहरी बलका डिएसपी ऋषिकेश राउतलाई तानेको हो।
उनको सन्तोषजनक काम नदेखिएकाले अर्कै डिएसपीलाई पठाएको नं. १ बराह बाहिनीका प्रमुख डिआइजी कुमार न्यौपानेले जानकारी दिए।
‘रानी नाकामा भइरहेको काम कारबाहीहरू सन्तोषजनक नभएपछि उनलाई तानिएको हो। अर्को डिएसपीलाई पठाइसकेँ,’ उनले भने।
डिएसपी राउतको सट्टामा डिएसपी अमर खत्रीलाई पठाइएको छ।
केही समयअघि मात्रै सशस्त्र प्रहरी बलका प्रमुख आइजिपी राजु अर्यालले कमाण्डमा जान लागेका बाहिनीपति तथा शिक्षालयका समादेशकहरूलाई परिणाममुखी काम गर्न नसके कमाण्डबाटै फिर्ता गर्ने चेतावनी समेत दिएका थिए।
उनले मातहत कर्मचारीले गल्ती गरे सम्बन्धित बाहिनीका बाहिनीपतिहरूलाई कारबाही गर्ने समेत चेतावनी दिएका थिए।
त्यस्तै बाहिनीदेखि गण, गुल्मसम्मका स्थायी कार्यालयहरूको प्रत्येक ३-३ महिनामा कमाण्डको पुनरावलोकन तथा पुनर्मूल्यांकन गरिने पनि उनले बताए। त्यसमा कमजोर देखिए कमाण्ड हेरफेर तथा फिर्तासम्म गरिने उनको भनाइ थियो।