गुड फ्राइडे सिनेमा
गार्गी एक मध्यमवर्गीय परिवारकी जेठी छोरी हुन्। युवा उमेरकी उनकी सानी बहिनी छन्।
उनकी आमा घरबाटै चामलको पिठो बेच्ने काम गर्छिन्। बुबा एक अपार्टमेन्टमा सुरक्षा गार्डको काम गर्छन्।
गार्गीको आफ्ना प्रेमीसँग बिहे हुन लागेको छ।
उनीहरू सबैको जीवन सामान्य र खुसीसाथ बितिरहेको हुन्छ। तर एक दिन यो सामान्य जीवनमा असामान्य उथलपुथल आउँछ।
गार्गीका बुबा ब्रह्मानन्दम एक बालिकाको सामूहिक बलात्कारको आरोपमा पक्राउ पर्छन्। गार्गीलाई कुनै हालतमा यो आरोपमा विश्वास हुँदैन। उनका बुबा उनका लागि प्रेरणा र 'आइडल' हुन्छन्।
उनी आफ्ना बुबाको निर्दोषिता प्रमाणित गर्न कानुनी सहायता खोज्छिन्। तर सञ्चार माध्यमहरूमा यो घटनाले आगो बालिसकेको हुन्छ। उनका बुबाको नाम सार्वजनिक भएपछि समाजले उनको परिवारलाई बहिस्कार र दुर्व्यवहार गर्न थाल्छ।
गार्गीले चिनजानका एक अनुभवी वकिललाई उनका बुबाको मुद्दा लडिदिन भन्छिन्। तर संवदेनशील मुद्दा भएकाले सामाजिक दबाब धेरै हुन्छ। यस कारण ती वकिलले मुद्दा लिन अस्वीकार गर्छन्।
कतैबाट साथ नपाएकी गार्गी निराश हुन्छिन्। अन्ततः कहिल्यै मुद्दा नलडेका एक नयाँ वकिल इन्द्रन्सले उनलाई सघाउँछन्।
गार्गी र इन्द्रन्स मिलेर घटनाबारे अनुसन्धान सुरू गर्छन्। तर मिडियाको सनसनीपूर्ण रिपोर्टिङ, समाजको पूर्वाग्रह र न्याय प्रणालीको जटिलताका कारण उनीहरूका अगाडि निरन्तर चुनौती आइपर्छ।
अर्कातिर पीडितको परिवारको पीडा र असमञ्जसले पनि उनलाई धक्का दिइरहन्छ।
यसबीच गार्गी आफैले बाल्यकालमा भोगेको यौन दुर्व्यवहार सम्झिन्छिन्। त्यो बेला उनका बुबाले दिएको आड र भरोषा सम्झिन्छिन्। त्यसैले उनको यो लडाइँ कानुनी मात्र नभएर, व्यक्तिगत र भावनात्मक पनि हुन्छ।
समाजको पूर्वाग्रह, मिडियाको दबाब र आफ्नै भावनात्मक पीडासँग जुध्दै उनी न्यायको खोजी गरिरहन्छिन्।
के गार्गी बुबाको निर्दोषिता प्रमाणित गर्न सफल हुन्छिन्?
के न्याय प्रणालीले वास्तविक अपराधी पत्ता लगाउँछ?
वा, पूरै कथाले अर्कै मोड लिन्छ?
यो सबै जान्न हेर्नुहोस् गौतम रामचन्द्रनद्वारा निर्देशित तमिल फिल्म 'गार्गी'।
साई पल्लवीको मुख्य भूमिका रहेको यो फिल्मको समीक्षकहरूले एकदमै प्रशंसा गरेका छन्। यसले विभिन्न विधामा ८ वटा अवार्ड पनि जितेको छ।
जम्मा चार करोड भारूमा बनेको यो फिल्मले झन्डै ७५ करोड भारू कमाएको थियो।
साई पल्लवीको दमदार अभिनय, छायांकन र संगीतले कथाको गम्भीरता र संवेदनशीलतालाई निकै प्रभावशाली बनाएको छ। त्यस्तै सत्य र झुटको पत्तै नहुने गरी गरिएको यो फिल्मको निर्देशन तारिफयोग्य छ।
अनि यो फिल्मले दर्शकको मथिंगल हल्लाउँछ र सोच्न बाध्य पार्छ — के हामी आफू नजिकका मानिसहरूलाई पूर्ण रूपमा चिन्छौं? के हाम्रो विश्वास सधैं सही हुन्छ?