नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माको संयोजन र निमन्त्रणा जेठ ३ गते शनिबार सगरमाथा बेसक्याम्पमा `जलवायु परिवर्तन, हिमाली जीवन र सरकारसँगको अपेक्षा´ विषयमा विशेष संवाद सम्पन्न भएको छl
शर्माको निमन्त्रणामा गृहमन्त्री रमेश लेखक र पर्यटन मन्त्री बद्री पाण्डे सगरमाथामा बेसक्याम्प पुगेका थिए।
३१ पटक सगरमाथा आरोहण गरेका किर्तिमानी आरोही कामिरिता शेर्पालाई सम्मान गरेर शुरु गरिएको विशेष संवादमा सरकारले तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने १६ बुँदे कार्यहरू बारे स्थानीयका तर्फबाट आरोही बाबू शेर्पाले वाचन गरेका थिए।
लुक्लादेखी ५ दिन लगातार पदयात्रा गरेर सगरमाथा बेसक्याम्प पुगेका महामन्त्री शर्मा यो साता आरोहण प्रशिक्षण गरे। उनले हिमाली क्षेत्रका नागरिक एवं हिमाल आरोहण क्षेत्रले भोग्नुपरेका समस्या पहिचान गरेर फिल्डबाटै सम्बन्धित मन्त्रीहरुको ध्यानाकर्षण पनि गराए।

१६ बुँदा ग्रहण गर्दै गृहमन्त्री लेखकले अहिलेको सरकार जलवायु परिवर्तन र हिमाली जीवनको मुद्दामा गम्भीर ढंगले कार्य गर्न समर्पित रहेको बताए।
पर्यटन मन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रको समग्र विकास गर्न दिइएका १६ बुँदाको कार्यान्वयनमा आफू विशेष सक्रियताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे।
शर्माले बेसक्याम्पमा संचार टावर, भरियाको बिमा, सुरक्षा युनिट जस्ता विषयमा सरकारले अविलम्ब ध्यान दिनुपर्नेमा जोड दिँदै कार्बन उत्सर्जन बढी गर्ने ठूला रास्ट्रहरुमाथी दबाब बढाउन साना रास्ट्रहरुको नेतृत्व नेपालले गर्नुपर्ने बताए l
कार्यक्रममा किर्तिमानी आरोही कामिरिता शेर्पां, डा आशिष पौडेल, मिङमा छिरिङ शेर्पा, दावा शेर्पा, पासाङ भोटे लगायतले सगरमाथा क्षेत्रले भोग्दै आएको संकट समाधान गर्न सरकारले बिशेष योजना बनाउनु पर्नेमा ध्यानाकर्षण गराए।