प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीले केही दशकमा आफ्नो बानी व्यवहारमा आमूल परिवर्तन गरेको बताएका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पहिले प्रहरीले धेरै छाडा बोलेर बदनाम भएको र अहिले त्यो सुधार गरेर आमूल परिवर्तन गरेको बताएका हुन्।
उनले पहिले पहिले धेरै छाडा बोल्ने मान्छेहरूलाई 'पुलिसको हवलदारजस्तो' भनेर तुलना गरिने पनि स्मरण गरे।
'अहिले पुलिसको हवलदार त्यस्ता हुँदैनन्। अहिले प्रहरीले त्यस्तो छाडा बोल्दैन। पहिले-पहिले असाध्यै बदनाम थियो प्रहरी । छुट्टिमा छोरा आयो भने के बोल्दिने हो मुखबाट के निकाल्ने हो लाजमर्दो हुने भयो भनेर घरका मान्छे थर्कमान हुन्थे। बानी भनेको त्यस्तो हुन्छ,' उनले भने।
५० वर्षअघिको प्रहरी र अहिलेको प्रहरी तुलनै गर्न नमिल्नेगरी फरक रहेको प्रधानमन्त्री ओलीले बताए।
'त्यसकारण सभ्य ढंगले बोल्ने गर्यो भने त्यसरी नै बोल्ने बानी बस्छ। असभ्य ढंगले बोलियो भने त्यसरी नै बोल्ने बानी बस्छ,' प्रधानमन्त्री ओलीले भने।