प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजित गर्ने मनशायले पार्टी भित्रकै नेताहरु सक्रिय भएपछि पार्टी जोगाउनका लागि कदम कडा कदम चाल्नुपरेको बताएका छन्।
शनिबार बल्खुमा मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी एकीकरणबाट नेकपा बनाएपछि त्यतिबेलै झन्डै दुई तिहाइको मजबुत पार्टी बनाए पनि पार्टीभित्र अन्तरविद्रोह पैदा गराएर पार्टी ध्वस्त पार्न खोजिएको बताएका हुन्।
'नेतृत्वमै रहेका थुप्रै व्यक्तिहरु त्यसलाई ध्वस्त पार्न अर्कोतिर संगठित हुने र अरुकै निम्ति काम गरेर पार्टीभित्र अन्तरविद्रोह पैदा गर्ने काम भयो । अन्तिममा कहिले अदालत गुहारेर, कहिले के गरेर, पार्टी भित्रका समस्या पार्टीभित्र होइन बाहिर चल्ने..,' उनले भने।
उनले त्यतिबेला एकीकरण गर्न आउनेहरुको मनशाय एमालेलाई ध्वस्त पार्नु रहेको बताए।
'दलको नेताविरुद्ध अविश्वासको प्रश्ताव ल्याउन नसक्ने, नल्याउने, अनि गएर संसदमा अरु विभिन्न प्रकारका तत्वहरुसँग मिलेर अविश्वासको प्रश्ताव राख्न खोज्ने र पार्टी ध्वस्त पार्ने, सिध्याउन खोज्ने भएपछि हामीले कार्यनीतिक रुपमा केही कडा कदम चाल्नुपर्यो,' उनले भने।
प्रधानमन्त्री ओलीले पार्टी पुनः हैसियतका साथ उभिएको बताए।
'आज हैसियतका साथ छौँ । तीन वर्षअघि जहाँबाट लखेटिएको थियो, तीन वर्षपछि हामी फेरि त्यही सरकारको नेतृत्वमा छौं,' उनले भने। -न्युज एजेन्सी नेपाल