प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले उधारो असुली कानुन बनाउन माग गरेका छन्।
आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै पराजुलीले उधारो असुली कानुन नहुँदा मझौला र साना व्यवसायीहरू मारमा परेकाले सरकारले त्यस्ता कानुन ल्याउनुपर्ने बताएका हुन्।
उनले उधारो असुली गर्न नसक्दा तिर्नै नसक्नेगरी ऋण बढेपछि व्यवसायीहरू डिप्रेसन हुँदै आत्मदाह गर्नुपर्ने अवस्थामा पुगेको बताए।
'उधारो व्यवसाय भित्रको शृंखला भए पनि यसलाई कानुनले नचिनेका कारण कारोबार डुबेर कैयौं प्रेम आचार्यहरूले आज पनि चुपचाप जीवन त्यागिरहेका होलान्।ठूला र घराना उद्योगी व्यवसायीहरूले पहुँचका कारण उधारो असुल गर्न सक्लान तर साना अति साना र मझौला उद्योगी व्यवसायीको पीडा र उधारो असुलीको बारेमा कसले बोल्दिने?,' उनले भने।
त्यसकारण देशभित्र तथा अन्तर्राष्ट्रिय तहमा गरिने व्यवसायिक कारोबारलाई मर्यादित बनाउन उधारो कारोबारलाई कानुनी श्रृंखलाभित्र जोड्नका लागि तत्काल उधारो असुली कानुन बनाउन उनले सरकारको ध्यानाकर्षण गराए।