अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो साता तीन वटा खाडी मुलुकको भ्रमण गर्ने भएका छन्।
उनले साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्सको भ्रमण गर्न लागेका हुन्।
मंगलबार साउदी अरबबाट भ्रमण सुरू हुने अमेरिकी मिडिया सिएनएनले जनाएको छ। साउदी अरबबाट कतार र त्यहाँबाट संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमण गरी ट्रम्प मे १६ मा फर्कने सिएनएनले जनाएको छ।
ट्रम्पले भ्रमण गर्न लागेका यी तीनै ऊर्जा समृद्ध राष्ट्र हुन्। यी तीनै देशले गजा, युक्रेन र इरानजस्ता ट्रम्पले समाधान गर्न चाहेका द्वन्द्वहरूमा मध्यस्थकर्ताको भूमिका खेलेका छन्।
अमेरिकामा यी देशले ठूलो लगानीसमेत गरेका छन्।
साउदीमा ट्रम्पले खाडी सहयोग परिषद्का ६ मुलुकका नेताहरूसँग शिखर सम्मेलन आयोजना गर्नेछन्। जसमा द्वीपक्षीय मुद्दाहरू, लगानी, हतियार विक्री र आर्टिफिसियल इन्टेलिजेन्स सहकार्यमा केन्द्रित हुने सिएनएनले जनाएको छ।
कतार भ्रमणमा सिरियाको मुद्दालाई प्राथमिकता दिने अपेक्षा गरिएको छ। युएईसँग पनि प्रविधि र व्यापारसम्बन्धी छलफल र सहमति हुने बताइएको छ।