अमेरिका र चीनबीच स्वीट्जरल्याण्डको जेनेभामा भएको व्यापार वार्तामा उल्लेखनीय प्रगती भएको बताइएको छ।
जेनेभामा शनिबार र आइतबार दुई दिनसम्म अमेरिका र चीनबीच भएको वार्ताबाट सकारात्मक र ठोस प्रगती भएको दुवै देशका प्रतिनिधिहरूले बताएका छन्।
यद्यपि दुवै पक्षले के-के सहमति भयो भनेर सार्वजनिक गरेका छैनन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार सोमबार दुवै पक्षले संयुक्त वक्तव्य सार्वजनिक गर्दैछन्।
चिनियाँ पक्षले वार्ता सकिएको र छिट्टै संयुक्त वक्तव्य जारी हुने भनेको छ।
'चीन र अमेरिकाले वार्तामा भएका विषयहरूलाई अन्तिम रूप दिएर छिट्टै सार्वजनिक गर्नेछन्,' चिनियाँ प्रतिनिधिले सार्वजनिक गरेको वक्तव्यमा भनिएको छ।
'उक्त वक्तव्यमा उल्लेख हुने विषयहरू विश्वका लागि खुशीको खबर हुनेछ,' व्यापार वार्तामा सहभागी भएका चीनका वाणिज्य उपमन्त्री ली चेङगाङले भनेका छन्।
वार्तामा अमेरिकाबाट अर्थमन्त्री स्कट बेसेन्ट र व्यापार प्रतिनिधि जेमिसन ग्रीर तथा चीनबाट उपप्रधानमन्त्री हे लाइफेङ र वाणिज्य उपमन्त्री चेङगाङ सहभागी थिए।
वार्तापछि अमेरिकी अधिकारीहरूले अमेरिकालाई व्यापार घाटा नपर्नेगरी सहमति भएको दाबी गरेका छन्। चिनियाँ अधिकारीहरुले भने पर्याप्त सहमति भएको बताएका छन्।
छलफलपछि अर्को व्यापार संवाद संयन्त्र बनाउने सहमति भएको रोयटर्सले जनाएको छ।
अमेरिकाले चीनमाथि लगाएको १४५ प्रतिशत र चीनले अमेरिकामाथि लगाएको १२५ प्रतिशत भन्सार कटौती गर्ने विषयमा पनि दुवै पक्षले केही खुलाएका छैनन्।
छलफलपछि प्रतिनिधिहरूले पत्रकारहरूसँग संक्षिप्त कुराकानी गरेका थिए। उनीहरूले वार्ताबाट पर्याप्त सहमति जुटेको बताएका थिए भने पत्रकारहरूबाट प्रश्न नलिने भनेका थिए।
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरले दुई देश छिट्टै सहमतिमा पुगेको बताए।
'हामी कति छोटो समयमा सहमतिमा पुग्यौं। यसले हामीबीचका मतभेद सोचेजति ठूला थिएनन् भन्ने देखाउँछ,' उनले भने। उनले चिनियाँ उपप्रधानमन्त्री र वाणिज्य उपमन्त्रीलाई कठिन वार्ताकार पनि भनेका छन्।
अमेरिका र चीनबीचको वार्ता सकारात्मक भएको खबरपछि दुवै देशको शेयर मार्केट बढ्न थालेको अमेरिकी मिडिया सिएनएनले उल्लेख गरेको छ।
ट्रम्पले चीनसँग सुरू गरेको व्यापार युद्धले अमेरिकी मात्रै नभएर विश्व अर्थतन्त्रमै नकारात्मक असर परेको छ। सारा संसारलाई आर्थिक मन्दीमा धकेल्ने गरी विश्वका सबभन्दा ठूला दुई अर्थतन्त्र यो आत्मघाती व्यापार युद्धमा अल्झिन हुँदैन। यो कुरा दुवै पक्षलाई थाहा पनि छ। तर ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङ दुवैले पहिले नझुक्ने मनस्थिति बनाएकाले स्थिति बिग्रिएको थियो।
ट्रम्पले अप्रिल २ मा सबै देशलाई १० प्रतिशत भन्सार महसुल र प्रतिस्पर्धीहरूलाई उच्च 'रेसिप्रोकल' (पारस्परिक) महसुल लगाउने घोषणा गरेका थिए। उनले आठ वटा देशलाई ४० प्रतिशतभन्दा बढी भन्सार लगाउने घोषणा गरेका थिए। मुख्य प्रतिस्पर्धी चीनलाई ३४ प्रतिशत र भारतलाई २७ प्रतिशत भन्सार तोकेका थिए। अमेरिकासँग घनिष्ठ सम्बन्ध भएको युरोपियन युनियनलाई पनि २० प्रतिशत भन्सार लगाएका थिए।
ट्रम्पले ७० वटाभन्दा बढी देशलाई लगाएको पारस्परिक भन्सार ९० दिनका लागि रोकेका थिए। ती देशले अमेरिकी कर नीतिको विरोध नजनाएको, जबाफी भन्सार नलगाएको र छलफलका लागि तयार रहेको भन्दै जुलाईको पहिलो सातासम्म रोकेका हुन्। त्यतिन्जेलका लागि उनले सबै देशलाई विश्वव्यापी १० प्रतिशत भन्सार दर मात्रै लगाएका छन्।
उनले चीनलाई लगाएको भन्सार दर भने नरोकेर बारम्बार बढाएका थिए। पटक पटक अमेरिका र चीनले जबाफी कदम चालेर थप महसुल लगाएका कारण ट्रम्पको दोस्रो कार्यकालमा चिनियाँ वस्तुमा लगाएको भन्सार महसुल बढेर १४५ प्रतिशत पुगेको छ। चीनले पनि जबाफमा अमेरिकी उत्पादनमा १२५ प्रतिशत भन्सार महसुल लगाएको छ।
ट्रम्पले त्यसपछि चीनबाट आयात हुने स्मार्टफोन लगायत इलेक्ट्रोनिक्स सामानमा रेसिप्रोकल भन्सार दर नलगाउने भनेका छन्। तर यो छुट पनि अल्पकालीन मानिन्छ।
चीनले पनि भन्सार महसुल मात्रै नबढाएर अमेरिकालाई नोक्सानी हुने खालका अनेक कदम चालेको छ। विमान निर्माता बोइङको जहाज खरिदमा रोक लगाउनेदेखि लिएर केही दुर्लभ खनिज पादर्थ बेच्नेसम्म प्रतिबन्ध लगाएको छ।
यसरी अमेरिका र चीनबीच सारा व्यापार नै रोकिने गरी व्यापार युद्ध सुरू भएको थियो।
ट्रम्पका सामु झुकेर सम्झौता गर्यो भने उनले हेपेर पछि झन् कडा माग अघि सार्छन् भन्ठानेर चीनले यसपालि डटेर सामना गरिरहेको छ। आफूलाई अब्बल सौदागर र अमेरिकी इतिहासकै सबभन्दा महान राष्ट्रपतिमध्ये एक ठान्ने ट्रम्पलाई पनि चीनसामु झुक्न अप्ठ्यारो छ।
तर राष्ट्रपति सी कसै गरी नझुक्ने देखेपछि ट्रम्प आफैले खुट्टा कमाउन थालेको देखिएको छ। उनले चीनलाई लगाएको १४५ प्रतिशत भन्सार दरमा व्यापक कटौती गर्न आफू तयार रहेको बताएका थिए। शुक्रबार उनले चीनमाथि लगाइएको भन्सार घटाएर ८० प्रतिशतमा झार्न सकिने बताएका थिए।