सिरेटो
अत्याधुनिक समयकाल भनिएको वर्तमानमा मानिसहरू अपेक्षा र आकांक्षाको वायुपंखी घोडामा सवार छन्।
अकासिँदो आकांक्षा र आफू उभिएको राष्ट्रको आकांक्षालाई थाक्रो दिने ल्याकतबीचको नापतौलमा राष्ट्रिय सामर्थ्यको निरीहता देखेपछि मानिसहरू आकांक्षामा पाइन लगाउन देशै बदल्ने कठोर निर्णयको अधैर्यपूर्ण बतासमा समाहित भइरहेका छन्।
जन्मेको देशको सीमा नाघ्दै नयाँ देशमा नयाँ परिचय जोड्ने उपाय सहजै हात नलागे जोखिमपूर्ण र विषालु राफिला मार्गहरूमा बाँकटे हान्दै, घस्रँदै आप्रवासनको विश्वव्यापी लहरमा समाहित हुन अघि बढिरहेका भेटिइन्छन्।
हालैका दिनमा मैले लगातारजसो आप्रवासीहरूको चलायमान ओहोरदोहोरबारे डकुमेन्ट्री, भिडिओ रिपोर्टहरू हेरेँ। एउटा भूगोललाई गन्तव्यको निसाना बनाएर अघि बढिरहेका आप्रवासी कोही डुंगा डुबेर महासागरमा बिलाएका छन्। कोही 'डंकी रूट' मा भोकले निस्लाम डामिएर जीवनको आखिरी श्वास बलपूर्वक घ्यारघ्यार गर्दै निचोरिरहेका छन्। कोही जोखिमपूर्ण तवरले नदी पार गर्दागर्दै डुंगा पल्टिएर मरेका छन्। कहीँ तस्करहरूको यातनाले मरेका छन्। कोही मालवाहक लरीहरूमा मुला खाँदिएझैं खादिँदा निसास्सिएर मरिरहेका छन्।
एउटा देशबाट अर्को देश, अर्को देशबाट अर्को देश गर्दै गोलचक्कर लगाइरहने र ऋणको पासोले मनको किलकिले कस्दै लगेपछि कोही अत्यासले हर्ट अट्याक भएर, ब्रेन स्ट्रोक भएर मरेका छन्; अत्यन्तै कारूणिक हालतमा पुगेका छन्।
अनुकूलता र सहजताको खोजी गर्दै एउटा भूगोलबाट अर्को भूगोलमा, एउटा देशबाट अर्को देशमा आप्रवासनमा हिँड्नेहरूको ताँती उस्तै छ। त्योसँग त्यसरी आफ्नो भूगोलमा आइपुगेका नयाँ मानिसलाई आफ्नो हिस्साको अवसर र सुविधाहरू खोस्न आइपुगेको मानिसका रूपमा लिँदै 'डेविल एलियन' का रूपमा प्रचारित गर्ने काम पनि शासकीय र सामाजिक स्तरमा एकसाथ चलिरहेकै छ।
बलिया र सामर्थ्यवान राष्ट्रहरूले आप्रवासनको यो विश्वव्यापी लहरबाट आफूमा नयाँ सामाजिक अन्तरविरोध र असन्तोषहरूको जन्म हुन नदिन बलपूर्वक आप्रवासनको लहरमाथि लगाम लगाउने प्रयासलाई सक्रिय तुल्याएका छन्, क्रूरताको एउटा हदमा आफूलाई उभ्याएर।
यी तमाम प्रयास र प्रतिरोधका बाबजुद पनि आप्रवासनको लहर रोकिने कुनै सम्भावना छैन। सहजता र अनुकूलताको खोजी मानव समाजको 'ब्लूप्रिन्ट' मै छ। जतिसुकै क्रूर र कठोर अवरोध र असहजताहरूलाई पनि सम्याउँदै र पन्छाउँदै सहजता र अनुकूलताको खोजीमा निरन्तर अघि बढ्नु नै मानव समाजको आदिम कालदेखिको परिचय हो।
प्रकृतिको अकल्पनीय अवरोध छिचोल्दै जीवन जोगाउने जिजीविषालाई भर्याङ दिने मृगतृष्णाको पछि लागेर कंकालको चाङ लगाएर आँसु र चित्कारको द्वार निर्माण गर्दै अफ्रिकाबाट बव–एल–मण्डेब हुँदै एसिया छिर्ने प्रयासका क्रममा हाम्रा पुर्खाहरूको अकल्पनीय संख्याले जीवनाहुति दिएको थियो भन्ने विवरण पढेपछि मानव निर्मित अवरोधहरूले सहजताको खोजी गर्ने मानव समाजको 'कोर' लाई स्थायी तवरले भत्काउन सक्छ भन्ने मलाई लाग्दैन।
मानव समाजको 'ब्लूप्रिन्ट' बनिसकेको यो 'कोर' एकरातमा या एकदिनमा बनेको होइन। हजारौं हजार वर्षदेखिको निरन्तर आप्रवासनको अभ्यासले यसको जग बनेको छ। त्यो जगको पार्श्वकथा अनेकन असफलता र त्यसका बाबजुद गरिएको निरन्तर तर कष्टसाध्य प्रयासहरूको उत्कर्षमा खिचिएको सफलताको योगले लेखिएको छ।
यस क्रममा आप्रवासनको जुन 'कोर' आजका आधुनिक भनिने मानव समाजको 'ब्लूप्रिन्ट' बनेर खिपिएको छ, त्यसमा 'होमो सेपियन्स' अघिका अन्य मानव प्रजातिको आप्रवासनको अभ्यासको पदचाप समेत प्रतिध्वनित छ।
प्राचीन डोब
अफ्रिकाबाट होमो सेपियन्स निर्णायक आप्रवासनमा निस्कनुअघि अफ्रिकाबाहिरको केही भूगोलमा होमो इरेक्टस, नियण्डरथल, डेनिसोवन, हब्बिट्सहरू मौजुद त थिए, तर तिनका जोर पाइतालाले पनि सिँगो विश्वको चक्कर लगाउन सकेको थिएन। होमो सेपियन्स अफ्रिकाबाट निस्किएर कालान्तरमा विभिन्न समूहमा विभाजित भयो र एसिया, युरोप, अस्ट्रेलिया हुँदै अमेरिकासम्म जोर पाइतालाको डोब लगाउन पुग्यो।
त्यस क्रममा तिनले पृथ्वीको विभिन्न स्थानमा विभिन्न समयमा अनेकन सभ्यताहरूको जग खने। प्रतिकूलता खेपे र त्यसलाई त्यागेर अघि बढे। पहिले विभाजित कैयन हाँगाहरू अनेकनपटक एकअर्काको सम्पर्कमा आए। ज्ञान साटासाट गरे। जीवन साटासाट गरे। आफूलाई परिमार्जित गरे। भिन्न–भिन्न आप्रवासीहरूको मिलाप र जुगलबन्दीको परिणाममा आफूमा चेतना, ज्ञान, सीप, बुझाइ, शारीरिक बनावट र खोपडी समेतमा कायाकल्प गरे। यो निरन्तर चलिरहने प्रक्रिया हो। आज पनि जारी छ।
कमसेकम सत्तरी हजार वर्षदेखि हामी आधुनिक मानव भनिने होमो सेपियन्सहरू एकपछि अर्को अत्यासलाग्दो आप्रवासनको अन्त्यहीन सिलसिलाको भेलमा बग्दै बाँचिरहेका छौं। यसर्थ सत्तरी हजार वर्षयताको मानव समाजको इतिहास अन्त्यहीन आप्रवासनको इतिहास हो। त्यही आप्रवासन क्रममा सहजताको खोजी गर्दै अफ्रिकाबाट निस्किएका मानिसले बाँकी विश्वको भूगोलमा आवाद गुल्जार बनाए। कहीँ अडिएर एउटा सभ्यता निर्माण गरे। समयकालमा त्यहाँ नयाँ चुनौतीहरू आए र त्यसलाई त्यागेर आप्रवासनलाई निरन्तरता दिँदै अघि बढे।
अमुदर्य, सिन्टास्था, एड्रोनोवो, मिश्र, यल्लो रिभर, हित्ति, यमन्या, भोल्गा, क्यातल ह्यूक, अनातोलिया, मेसोपोटामिया, सिन्धु उपत्यका, लेवान्त, इन्का, ओल्मेकजस्ता सभ्यता त्यही क्रममा बने र इतिहास बने। कति ब्युँतिएर नयाँ परिचयका साथ अघि आए।
सहजताको खोजी गर्दै आप्रवासनका यात्रामा अग्रसर हुने प्राणी मानव मात्र होइन। हरेक प्राणीको 'ब्लूप्रिन्ट' मा छ, सहजताको खोजी गर्दै गरिने आप्रवासन। मौरीले रस भएको फूल नै खोज्छ। नपाए जतिसुकै घना जंगल भए पनि छाड्छ, अन्यत्र जान्छ। जनावरले पनि चरन र खोला भेटेन भने बासस्थान बदल्छ। चराले सहज मौसम, वातावरण खोज्दै हजारौं हजार माइल पार गरेर साइबेरियाबाट हामीकहाँ उडान भर्छ। चितुवाले सिकारको सहजताको खोजीमा बासस्थान बदलिरहन्छ। मानिस त झन् किन त्यसबाट अलग हुँदो हो र!
सहजताको खोजी गर्दै आजको नेपाली जनसंख्याको निकट विगतका पुर्खाहरू कोही पूर्वी एसियाबाट यता आइपुगे, कोही क्यास्पियन स्टेप्सबाट मध्य एसिया अर्थात् इरान, अफगानिस्तान हुँदै। अझै निकट विगतको कुरा गर्ने हो भने कोही तिब्बत–चिनियाँ भूगोलबाट त कोही आजको भारतका विभिन्न स्थानबाट विभिन्न समयमा। कोही पहिले यता आएर फर्किएर भारत, चीनतिर पनि पुगे होलान्। उताबाट यता आउने तर यताबाट उता नजाने भन्ने कुरै भएन।
कसैका पुर्खा पाँच हजार वर्षअघि आइपुगे त कसैका तीन हजार वर्षअघि। कतिको पाँच सय वर्षअघि। जो जति बेला आएको भए पनि ती रक्तीय रूपमा एकापसमा मिश्रण भए। सबभन्दा पहिले आएकामा सबभन्दा पछि आएकाहरूको रक्त मिश्रण भयो। सबभन्दा पछि आएकामा सबभन्दा पहिले आएकाको रक्तमिश्रण भयो। हामी कोही विशुद्ध प्रथम र विशुद्ध अन्तिम आप्रवासी रहेनौं आनुवंशिक तवरले। संस्कृति र सभ्यता भने आफ्नो आप्रवासन इतिहासको कथावाचक बनेर बाँचिरहेकै छ भिन्न–भिन्न पहिचानसहित, परिमार्जित स्वरूपमै भए पनि।
निरत यात्रा
आजको नेपाली भूगोलमा आएपछि पनि आन्तरिक आप्रवासनहरू चलिरह्यो, खासगरी मैदानी भेगबाट उपत्यकातिर र पश्चिम नेपालबाट अर्थात् खस सभ्यताबाट बाँकी नेपालमा।
मेरै पुर्खाहरू बढीमा तीन सय वर्षअघि गोरखाका पहाडी भिराला पाखाहरूमा आवाद गुल्जार गराउँदै फिँजारिएका थिए। गोरखामा पनि अझै सहज र अनुकूल भूगोल खोज्दै मेरा बाजे रविलाल देवकोटाले बास थामेको पन्द्रुङ जराङमा हाम्रो दुई पुस्ता पनि अडिएन।
हजुरबा पनि तन्नेरी भएपछि त्यहाँ पुगेका थिए। हाम्रा बाहरू छँदै त्यहाँ लगभग आखिरी घरको ढोका लाग्ने तरखर गर्दै हामी दरसन्तानहरू अन्यत्र भौंतारिएका छौं। लगभग हाम्रा तमाम पहाडी रस्तीबस्तीको कथा उस्तै छ। एउटै छ। पहाडबाट तराई, तराईबाट काठमाडौं। काठमाडौंबाट अब अस्ट्रेलिया, अमेरिका, युरोप या अन्यत्र।
आप्रवासनको यो लहरले संक्रामक स्वरूप लिएको छ। सारा गाउँहरू या त रित्तिएका छन् या सहाराविहीन, उदासीले भरिएका टिठलाग्दा बूढाबूढीले थामिबसेका छन्। यस्तो लाग्छ, साराका सारा गाउँहरू खडेरी लागेर पानी सुकिगएको खोलाको उराठ बगरजस्तो भएको छ। उदासी, बेचैनी र सन्नाटाको सिरेटो खेप्न नसकेर आत्महत्या गर्न तम्तयार दुखियाजस्ता लाग्छन् गाउँघरहरू। राष्ट्रिय सामर्थ्य कमजोर हुँदै गएपछि तीव्रत्तर भइरहेको नागरिक पलायनको यो आँधीले कतै देशै रित्याएर मानिसलाई उडिजाने बसमा चढाएर लैजाने त होइन भन्ने बहस पनि सघन भइरहेको छ।
यसरी बदलिँदो आकांक्षा, आवश्यकता र सहजतालाई थाक्रो बन्ने सामर्थ्य नराखेपछि आज तमाम भिराला पहाडी रस्तीबस्तीहरू रित्तिँदै गइरहेका छन्। उसो त सिँगो नेपाली समाजले निर्माण गरेको सामर्थ्यले नागरिक आकांक्षा र आवश्यकतालाई भरथेग गर्न नसकेपछि विष्फोट भएको आप्रवासनको लहरले सलहझैं फिँजारिएर विश्वका हरेक कुनामा नेपाली परिचयको विस्तार गरिरहेको छ। यो सबै सहजता खोजीको निरन्तरताको परिणाम हो।
हामीले स्विकार्नपर्ने तथ्य हो – नेपाली समाजले मानिसहरूको आकांक्षा र आवश्यकता भरथेग गर्ने सहज र अनुकूल सामर्थ्य निर्माण गर्न सकिरहेको छैन। सकेको भए हामी अन्य भूगोलमा बतासिएझैं अरू पनि आउँदा हुन् ताँती लागेर सहजताको धुरी खाबो अड्याउन हामीकहाँ।
गोरेटो
जब मानव समूह हतियार प्रयोग गरेर सिकार गर्ने र सिकार संग्रह गर्ने सिपमा निपुण बन्दै गयो, त्यसले अफ्रिकाको उर्वर क्षेत्रमा मानव जनसंख्या उल्लेखनीय रूपमा वृद्धि गरायो। आगो प्रयोग गर्ने र आगोमा पोलेर खाने अभ्यासमा अभ्यस्त हुन थालेपछि खाना पचाउन सहज भयो मानिसलाई। औजार प्रयोगले सिकारमा लाग्ने समय बचत गरायो। मासु पर्याप्त मात्रामा उपलब्ध गरायो। यसले उल्लेखनीय तवरले जनसंख्या वृद्धिमा भूमिका खेल्यो।
जनसंख्या वृद्धिले स्वाभाविक रूपमा प्राकृतिक स्रोत र बासस्थानको कमी हुन गयो। त्यसले उनीहरूमाथि खाद्य स्रोतको पर्याप्तता हुने प्राकृतिक स्रोतको खोजीका लागि थप भूगोलमा विस्तारित हुने दबाब सिर्जना गर्यो। जलवायु परिवर्तनले पूर्वी र उत्तरी अफ्रिकामा सुख्खापन वृद्धि गरायो। हरिया घाँसे मैदानहरू बिस्तारै जर्जर मरूभूमिमा रूपान्तरित हुन थाले। जीवन अड्याउने थाँक्रो नै ढलेजस्तो हुन गयो त्यहाँका बासिन्दालाई। केही त्यहीँको बदलिँदो अवस्थासँग आफूलाई अनुकूलन गराउनेतिर लागे। त्यसको विकल्प नखोज्दा अस्तित्व नै संकटमा पर्ने अनुभूत गर्यो केही समूहले।
यसरी जब जलवायु प्रतिकूलता उपस्थित भयो, उक्त राफिलो संकटबाट बच्ने सियालको जोगाड मिलाउन मानिसहरूको समूह अफ्रिकाबाट बाहिरतिर थप उर्वर भूमिको खोजीमा विस्तारित हुन बाध्य भयो।
त्यस्तो चुनौतीबाट निस्कन होमो सेपियन्स (आधुनिक मानव) अनेकन साना–साना समूहमा बाँडिएर फिरन्ते सिकारी स्वरूपमा अफ्रिकाभर घुमफिर गरिरह्यो हजारौं हजार बर्षसम्म। त्यसपछि अलिकति जिज्ञासा र अलि बढी चुनौतीहरूको घालमेलले उत्प्रेरित भएर अफ्रिकाबाहिरको अनिश्चित भूगोलतिरको निर्णायक बसाइँसराइमा अघि बढ्यो।
बसाइँसराइको ज्ञान त्यस बखतको चेतनामा नभए पनि आवश्यकता, बाध्यता, जिज्ञासा र सहजताको खोजीले एउटा भूगोलबाट अर्को अनिश्चित भूगोलको लम्बे यात्रामा अघि बढ्ने यात्री बन्यो। प्रचलित अभ्यासबाट माथि उठेर जोखिम मोल्ने साहसिक बाटोमा अग्रसर भयो। अफ्रिकाबाहिर सहज भूगोलको खोजी गर्ने क्रममा एसियातिर अघि बढ्नुअघि होमो सेपियन्सले आधा विश्वको यात्रा गरिसकेको थियो।
होमो सेपियन्सभन्दा पहिल्यै होमो इरेक्टसले अफ्रिकाबाट निस्किएर बाँकी भूगोलमा आफ्नो जोर पाइतालाको डोब लगाइसकेको थियो। तिनै होमो इरेक्टस थिए, जसले चिनियाँ भूगोलमा आइपुगेर छाडिगएको ब्लूप्रिन्टका कारण उनीहरू यता पेकिङ मानवका रूपमा पनि चिनिए।
होमो सेपियन्स पहिलोपटक करिब २ लाख २० हजार वर्षपहिले अफ्रिकाबाट निस्किएको प्रमाण प्राप्त भएको छ। त्यसपछि पनि अनेकन भंगालोमा आधुनिक मानव अफ्रिका बाहिर निस्किइ नै रह्यो। तर त्यसरी अनेकन हुलमा अफ्रिका बाहिर निस्किएको समूहको उत्तराधिकार अफ्रिका बाहिर रहन सकेन।
त्यस बखत अफ्रिकाबाहिरको भूगोल खासगरी एसिया र युरोपमा नियण्डरथल र डेनिसोवनहरूको बिगबिगी थियो। स–सानो झुण्डमा पहिले त्यसरी निस्किएको आधुनिक मानव सम्भवतः नियण्डरथल र डेनिसोवनसँगको संघर्षमा टिक्न नसकेर या नयाँ भूगोलको हावापानीसँग एकाकार हुन नसकेर या पर्याप्त खाद्यान्न जोहो गर्न नसक्दा आफ्नो अस्तित्व टिकाउन सकेन र बिलुप्त भयो।
तमाम प्रतिकूलताहरू सामना गर्दै अन्ततः लगभग सत्तरी हजार वर्षअघि निर्णायक आप्रवसनमा निस्किएको समूहले भने बाँकी समयका लागि अफ्रिकाबाहिर आफ्नो उत्तराधिकार सुरक्षित गर्ने सफलता प्राप्त गर्यो।
'अफ्रिका निष्क्रमण' सिद्धान्तअनुसार आज विश्वभर विस्तारित भएर रहेको जनसंख्या करिब ५८ देखि ८० हजार वर्षअघि अफ्रिकाबाट आप्रवासनमा निस्किएको समूहका उत्तरधिकारी हुन्, जसलाई करिब ७० हजार वर्षअघिको साझा समयकालका रूपमा उल्लेख गर्ने गरिन्छ।
समयरेखा
एक लाख पचास हजार वर्ष अघिसम्म आज संसारभर छरिएर रहेका आधुनिक मानव पुर्खाको हाप्लोग्रुप समान थियो, एल (L)। एल माइटोक्रन्ड्रिअल हाप्लोग्रुप एक लाख पचास हजार वर्षअघि विकसित भएको हो।
त्यसयता उनीहरूको समूह विभाजित भयो। आनुवंशिक उपसमूहहरू निर्माण हुँदै गयो। आज विश्वभर (अफ्रिका बाहिरका) का मानिसको माइटोकन्ड्रिअल डिएनए (mtDNA), जो आमाबाट सन्तानमा हस्तान्तरण हुन्छ, अफ्रिकामा उद्भव रहेको L3 हाप्लोग्रुपलाई साझा बनाएर विस्तारित भएको पाइन्छ। यसको अर्थ अफ्रिकाबाहिरको जति पनि मौलिक जनसंख्याको धारा विस्तारित भएको छ, उनीहरूको वंशज रेखा L3 mtDNA हाप्लोग्रुप भएकी एक जना साझा 'जिजुआमा' बाट उद्विकास भएको हो।
L3 हाप्लोग्रुप ६० देखि ८० हजार वर्षअघि पूर्वी अफ्रिकामा उदय भएर पश्चिम एसिया हुँदै दक्षिण/दक्षिणपूर्वी एसियामा विस्तारित भएको पाइन्छ। वाई क्रोमोजोमको वंशरेखा हेर्दा अफ्रिकन तीनवटा हाप्लोग्रुप (सी, डी र एफ) बाट बाँकी विश्वको जनसंख्या वृद्धि भएको पाइन्छ जो ६० देखि ८० हजार वर्ष पहिले व्युत्पन्न भएको पैत्रिक CT हाप्लोग्रुपबाट विकसित भएको हो। अर्थात्, आजको अफ्रिकाबाहिरको मानवको मौलिक जनसंख्या वाई क्रोमोजम हाप्लोग्रुप CT भएको पुरूषबाट विस्तारित (वृद्धि) भएको हो।
यसले के प्रमाणित गर्छ भने अफ्रिकाबाट बाहिर धेरैपटक मानिसहरूको समूह बाहिरिए पनि ७० हजार वर्षभन्दा पहिले बसाइँ सरेको आधुनिक मानवको समूहको अस्तित्व आजको पृथ्वीमा छैन। आज जति पनि मानिस छन् अफ्रिकाबाहिर, ती सबै ८० हजारदेखि ५८ हजार वर्षबीच अफ्रिकाबाट बाहिरिएको L3 mtDNA हाप्लोग्रुप र Y Chromosome CT हाप्लोग्रुप भएको एकल साझा पुर्खाबाट विस्तारित भएको पाइन्छ।
नवीन निरन्तरता
नयाँ भूगोल र नयाँ परिस्थितिमा आफ्नो अस्तित्व रक्षा गर्न प्राणीहरूले आफूलाई अनुकूलन गराउने प्रयास गर्छन्। यस क्रममा अनेकन चुनौती र प्रतिकूलताहरू सामना गर्छन्। तर निष्कर्षमा अलिक भिन्नै अनुभव, चेतना, विचार, ज्ञान, सीप र मनस्थितिसहित शारीरिक रूपमा समेत भिन्न तवरले आफूलाई परिमार्जित गराउँछन् र नयॉ चुनौती सामना गरेर बाँच्न सक्ने स्तरमा आफूलाई कायाकल्प गराउँछन्। डार्विनको प्राकृतिक छनौटको सिद्धान्त, क्रमिक विकास, संघर्ष र बाँच्ने क्षमताको विकासले यही समग्र प्रक्रियालाई व्याख्या गरेको पाइन्छ।
ननिस्किएको भए अफ्रिकाबाट मानिस र बसिरहेको भए अफ्रिकामा मात्र के हुन्थ्यो होला! अफ्रिकाबाट निस्किएर पनि अनेकनपटक विश्वका अनेकन भाग पुग्दै फेरि एकापसमा एकाकार र सम्मिश्रण नभएका भए हाम्रा पुर्खाहरू! बसिरहेको भए टाकुरामा मात्र या मैदानमा मात्र! जो जहाँ छ त्यहीँ मात्रै अडिरहेको भए! के मानव समाजले निर्माण गर्न सक्थ्यो होला जति जम्मा भएको छ सामर्थ्य, त्यो यही रूपमा?
चेतना, शारीरिक, मानसिक, संवेगात्मक, औद्योगिक, वैज्ञानिक जति पनि सामर्थ्य बनाएको छ मानव समाजले, बन्थ्यो होला त यति नै, यसरी नै?
बन्थे होलान् अनेकन सभ्यता भिन्न–भिन्न समयमा भिन्न स्थानमा?
आप्रवासनको ऐतिहासिक निरन्तरता नै यसको पछाडि प्रमुख कारकका रूपमा उपस्थित छ। यो यथार्थ हो।
आजको नेपाली भूगोलबाट बाँकटे हानेर अमेरिका, अस्ट्रेलिया, युरोप, क्यानडा या अन्य देशमा पुगेका मानिससँग जति नयाँ अवसर हुन्छ, उत्तिकै दुरूह चुनौती पनि एकसाथ खडा भइरहेको हुन्छ। त्यो चुनौती सामना गर्दै उक्त नयाँ भूगोलमा रत्तिन उसलाई केही समय लाग्छ नै। त्यहाँको समाज, जीवन, व्यवस्था, अवस्था, संस्कृति, परम्परा, प्रणालीसँग भिजेर एकाकार हुन चुनौती हुन्छ नै।
तर त्यस अनुकूल आफूलाई परिमार्जित गर्दै हाम्रा मानिस त्यहाँ अडिएका छन्। अघि बढेका छन्। विवाह गरेका छन् त्यहीँका मानिससँग र रक्त सम्मिश्रण गरेर मानिसमा निरन्तर चलिरहेको आनुवंशिक सम्मिश्रणको यात्रालाई निरन्तरता दिएका छन्।
यसरी हेर्दा सहजताको खोजीभन्दा बलियो मानव समाजको ब्लूप्रिन्टमा अर्को कुनै उत्प्रेरक सूचालक उपस्थित नै छैन। यसको छनौट व्यक्तिसँग उपलब्ध ज्ञान, चेतना, सोच्ने र कल्पना गर्ने विवेकको फराकिलोपन आदिले निर्धारण गर्छ।
हामीलाई भव्य लागेको अमेरिकाको मानिस क्यानडा बसाइँ सर्न चाहलान्। जापानको मानिस नर्वे, नर्वेको मानिस फिनल्यान्ड, फिनल्यान्डको मानिस स्विट्जरल्यान्ड, स्विट्जरल्यान्डको मानिस डेनमार्क, चीनको मानिस अमेरिका बसाइँ सर्न चाहलान्। कोही आफू जन्मेकै ठाउँमा प्राण त्याग्न चाहलान्। कोही देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्न चाहलान्।
यो एकदमै नियमित, साधारण र परम्परागत चरित्र हो मानव समाजको।
काँचो वायु
आप्रवासनको यो विश्वव्यापी र प्रागऐतिहासिक विरासतको निरन्तरताको यथार्थ विपरीत हामीकहाँ आज आप्रवासनलाई लिएर निकै गरमागरम बहस किन चलिरहेको छ भन्नेमा पनि ध्यान दिन जरूरी छ।
हिजोका दिनमा हामीकहाँ आप्रवासन आन्तरिक रूपमा मात्रै व्यापक थियो। खासगरी 'कमन एरा' को नवौं शताब्दीपछि वर्तमान भारतको सरहदबाट नेपालतिर र चौधौं शताब्दीतिरपछि पश्चिम नेपालबाट पूर्वी नेपालतिर मानिसहरूको आप्रवासनले सघन आकार लिन थालेको पाइन्छ। पृथ्वीनारायणको नेतृत्वमा आरम्भ भएको गोरखा राज्य विस्तार अभियानको आरम्भको हाराहारीमा खस राज्यले चर्चेको भूगोलबाट बाँकी नेपाली सरहदमा आप्रवासनको लहर चल्यो। त्यसपछि तराईबाट मलेरिया उन्मूलन भएपछि पहाडबाट तराईमा पनि त्यही सघनतामा आन्तरिक आप्रवासनको लहर चल्यो।
पञ्चायत कालमा भारतीय सीमातिरका भूगोलमा खासगरी नारायणी पश्चिमका नवलपरासीदेखि कञ्चनपुरसम्म पहाडी भेगका अवकासप्राप्त फौजीहरूलाई राज्य योजनामा आप्रवासन गराइयो। पचासको दशकपछि भने देशमा जारी सशस्त्र लडाइँले दोहोरो बन्दुकको निसाना बन्नबाट बच्न गाउँ छाड्ने बाध्यतात्मक अवस्थाले नेपाली समाजलाई निचोर्यो। त्यसपछि नेपालीहरूमा निश्चित सहर केन्द्रित र त्यो क्रम अझै बढ्दै गएर बाह्य देशमा आप्रवासनका लागि अग्रसर हुने प्रवृत्ति रूढ हुन गएको पाइन्छ।
पञ्चायत कालसम्म नेपाली समाजको औपचारिक शैक्षिक सामर्थ्य खासै बनिसकेको थिएन। विदेशमा पढ्न जानेहरू उच्च घरानिया सम्भ्रान्तहरू या तीसँग पहुँच बनाउन सकेका मानिसहरू थिए। नेपालीहरूको विशाल हिस्सा भारतीय श्रम बजारमा निकृष्ट श्रमको क्षेत्रमा आप्रवासी मजदुरका रूपमा श्रमशक्ति बेच्न विवश थिए। अधिकांश ग्रामीणको जीवन एक जोर सुकिलो कपडा र सेतो चामलको भात खान पनि चाडबाड कुनुपर्ने र त्यसका लागि पनि गाउँका जमिनदार, जिम्वाल, साहु–खलकसँग तीनपैसे ब्याजमा ऋण काढ्नुपर्ने हालतमा थिए।
चाडबाड, दुःखबिमारमा लिएको चोके धनको ब्याज र स्याजको पासोमा परेर भएको एक फोगटा खेत र दस धोती लामो खोरिया पनि साहुलाई बुझाएर एउटा आधा रित्तो ट्याङ्का र निस्लो ज्यान बोकेर लालाबाला च्याप्दै बसाइँ हिँड्नेहरूको कथाव्यथा बेग्लै थियो। पहाडका जुम्से जमिनदार, जिम्वालसँग लिएको चोके तिर्न पुस्ता दरपुस्ता तिनै साहुकहाँ हलिगोठाला बस्नुपर्ने, जुनसुकै बेला सपरिवार साहुको सेवामा हाजिर हुनुपर्ने एक किसिमको नारकीय र अमानवीय जीवन पचासको मध्य दसकसम्म निरन्तर थियो।
आन्तरिक सशस्त्र द्वन्दले तरंगित बनाएको नयाँ परिस्थितिले निर्धाहरूमाथि सामाजिक दलनविरूद्धको आवाजलाई आकार दिन थालेपछि मात्रै त्यसरी मानिसको घरबारै उठाउने खालको ऋणको पासोको जालो ग्रामीणहरूको जीवनबाट एक हदसम्म च्यातिएको थियो।
मानिसलाई रैती बनाउन माथिदेखि तलसम्म 'मालिक' हरू मौजुद थिए। सारा आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक परिपाटी र स्कुल मानिसलाई रैतीभन्दा माथि उठेर सोच्न नसक्ने गरी कज्याउन पूरै सामर्थ्यका साथ परिचालित थिए। मानिसहरू गरिबी, शोषण र अन्यायको अत्यासलाग्दो रहमा डुबेर निसास्सिँदै बाँचिरहेका थिए। यसका बाबजुद पनि त्यसो गर्नुपर्ने राज्यको अक्षमता र अयोग्यताका कारण हो भन्ने उनीहरूको चेतनामा थिएन। भाग्यवादको विशालु भाष्यले डामिएका मानिसहरू आफ्नो गरिबी, दरिद्रता र बेहालत यथार्थ राज्य, सत्ता र शासकको सामूहिक अयोग्यताको परिणाम हो भन्ने नै ठान्थेनन्। त्यस्तो ठान्ने चेतना उपस्थित नै थिएन।
जे भएको छ, त्यो सबै भाग्यको खेल हो, भगवानको खेल हो भन्ने भाष्यको बन्धक थियो समाज। उनीहरू आफ्नै पुर्पुरोलाई दोष दिन्थे। भावीले ललाटमा लेखिदिएको वासलात चुकाइरहेको ठान्थे र निकृष्ट र नारकीय जीवनका लागि सत्ता व्यवस्थाको भूमिकाप्रति औंल्याउने गरी सामाजिक चेतना उठेको थिएन।
अर्कातिर, समाज निरंकुश सामन्ती दलनको सिकार थियो। भित्ताको पनि कान हुन्छ भनेर सत्ता व्यवस्था र शासकका अकर्मण्यता र अयोग्यता उपर कुरा गर्नु जीवनकै सवालका रूपमा लिइन्थ्यो। औपचारिक शिक्षाका हिसाबले अपठित र अर्धपठितहरूको सघनता रहेको समाजमा निरंकुश सत्तासँग आँखा जुधाउने साहस नहुनु अन्यथा पनि थिएन।
समाजको औपचारिक शैक्षिक सामर्थ्य बढ्दै गएपछि र विभिन्न राजनीतिक आन्दोलन र संघर्षहरूले नागरिकमा चेतनाको विस्तार भएको छ। विश्वको शैक्षिक बजार र श्रम बजारमा प्रवेशको पहुँच अब मुठीभर परम्परागत सम्भ्रान्तहरूको मात्र पेवा रहेन। दूर देहातका, ग्रामीण भूगोलका झुत्रेझाम्रेका छोराछोरी पनि अब हिजो सत्ता सम्भ्रान्त (पावर एलिट) हरूको मात्रै पहुँच रहेको हार्वर्ड, अक्सफोर्ड, स्ट्यान्फोर्ड, येल, टोकियो जस्ता विश्वविद्यालयमा पुग्न थाले।
भारतीय श्रम बजारमा या ग्रामीण जमिनदारकोमा निकृष्ट स्तरका श्रमदास बन्न विवश हरितन्नम नेपालीहरूका लागि कमसेकम खाडीको श्रम बजार एकस्तरको आर्थिक आधार प्रदान गर्ने विकल्प बन्यो। हिजो गुजारा गर्न कमैया, हलिया, श्रमदास बन्न विवश मानिसहरूसँग पनि बाँकी विश्वका श्रम बजारमा गएर अलिअलि कमाएर छोराछोरीलाई शिक्षा दिने विकल्प उपस्थित भयो। पचासको दशकमा अरबका बाफिला मरूभूमिमा गएर पठाएको पैसाले पढाएका छोराछोरीहरू पहिलो विश्वमा पुग्न थाले।
विश्वभरका कुना कुनामा फिँजारिँदै गएपछि, त्यहाँको समाजले गरेको भौतिक, आर्थिक तरक्की र त्यसको कारणको खेलो बुझेपछि हिजो आफूमाथि लादिएको अविकास, उत्पीडन, गरिबी भाग्यको खेल हो भन्ठान्ने समाज आज अलिकति चेतना, अलिकति शिक्षा र बाँकी विश्वसँगको उसको पहुँचले यो भाग्यका कारण होइन, अकर्मण्य, अयोग्य शासकका कारण हो भन्ने बोध गर्ने भएको छ।
अब ऊ भाग्यलाई दोष दिएर बस्ने होइन, शासकविरूद्ध प्रतिवादको मार्ग अवलम्बन गर्न अग्रसर छ। विश्व समाज नै 'डिजिटाइजेसन' मा गएपछि बाँकी विश्वको भौतिक विकासको 'बुलेट' गति हेर्दा नेपाल शताब्दीऔं पछि परेको र आफूहरू संसारको सबभन्दा दरिद्र हालतमा रहनुपरेको ज्ञान मानिसले घरमै बसेर 'डिजिटल पेज स्क्रोल' गरेर जान्ने अवसर प्राप्त गरे।
आफूहरूलाई विश्व दौडबाट पछि पार्ने र बदलामा उखानटुक्का फलाकेर आफ्नो अयोग्यतामा रंग भर्ने र देश र जनताको बेहालतलाई बेवास्ता गर्दै आफू र आफ्नो मण्डलीको अयसमा केन्द्रित हुने अकर्मक पात्रहरूप्रति नागरिकमा रोषको राप बढ्नु अन्यथा पनि छैन।
त्यसैले बलिदानीपूर्ण संघर्षबाट सामाजिक लोकतन्त्रको दिशामा देशलाई अग्रसर गराएपछि त्यही खुकुलो शासन व्यवस्थाको हकभोग गर्दै आज देशलाई अयोग्यता र अकर्मण्यताको बन्धक बनाउँदै संसारकै हिनतर र दरिद्र राष्ट्र बनिरहन विवश बनाउने शासकविरूद्ध न्यूयोर्कदेखि दुबईसम्म, टोकियोदेखि सिड्नीसम्म त्यस्ता प्रवृत्ति र पात्रहरूप्रति अयस प्रदर्शन गर्दै मुर्दावादको नारा घन्काउन अग्रसर छ।
सामाजिक सञ्जालदेखि विचार निर्माणका मोर्चाहरूसम्म देशको गति धिमा बनाउने र बदलिँदो विश्व विकासको दौडबाट नेपाललाई निकै धिमा गराउने योजना, सपना र कार्ययोजनाविहीन शासक र तिनका भजन मण्डलीविरूद्ध सार्वजनिक प्रतिवाद र प्रतिरोधको मार्ग अवलम्बन गरिरहेका छन्।
लोकतन्त्र र आप्रवासन
समाज जतिसुकै सम्पन्न भए पनि आप्रवासनले त्यहाँ मौजुद सामाजिक लोकतन्त्रको आधारलाई चिहाइरहेको हुन्छ। त्यहाँ गएपछि प्राप्त हुने रोजगारी, आर्थिक र सामाजिक सुरक्षाका लागि राज्य कति मानवीय रूपमा प्रस्तुत हुन्छ भन्ने ख्याल गरिरहेको हुन्छ। अन्यथा, विश्वको दोस्रो ठूलो अर्थतन्त्रसँग साँध जोडिएका नेपालीहरू चीन नताकी किन अनेकन हण्डर, जोखिम र चुनौती सामना गर्दै युरोप, अमेरिका ताकिरहेका हुने थिए र!
विश्व बजारमा ग्रस नेसनल ह्यापिनेसको भ्रम बेचिरहेको र दक्षिण एसियामा सबभन्दा उच्च प्रतिव्यक्ति आय भएको तेस्रो देशमा पर्ने जम्मा साढे सात लाख जनसंख्या रहेको भुटानीहरूमा आज भुटान छाडेर अन्यन्त्र आप्रवासनका लागि भौंतारिइरहेकाहरूको संख्या बढोत्तरी भइरहेको हुने थिएन।
लोकतन्त्र र सामाजिक सामर्थ्यसहितको आर्थिक विकासको यात्रा समानान्तर भएन भने पनि त्यसले आप्रवासनको पैमानामा तलबितल पैदा गर्छ। किनकि हरेक मानिस सामाजिक रूपमा आत्मस्वाभिमानको सुरक्षा खोजिरहेको हुन्छ भने आर्थिक रूपमा भविष्यमुखी सुरक्षाको सुनिश्चितता खोजिरहेको हुन्छ। आजको दिनमा नेपाली समाजले न त नागरिकलाई आत्मस्वाभिमानपूर्ण आर्थिक सुरक्षा प्रदान गर्ने सामर्थ्य निर्माण गर्न सकेको छ, न त भविष्यमुखी सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन सकेको छ।
यसको परिणाममा आज गाउँ छाडेर सहर र देशै छाडेर विदेश पलायन हुने लहर तीव्र भएको छ। हिजोको आप्रवासन पढ्ने, सीप सिक्ने र अर्थोपार्जन गरेपछि देश फर्कने उद्देश्यबाट उत्प्रेरित थियो। आज देशै त्याग्ने र नफर्कने गरी (फर्किए पनि पर्यटकका रूपमा फर्कने) आप्रवासनमा हिँड्नेहरूको लर्को लागेको छ।
आज ग्रामीण भिराला बस्तीहरू वृद्ध बाआमाहरूले जीवनको आखिरी घिड्घिडो कुरिबसेका टिठलाग्दा स्थान बनिरहेका छन्। अबको केही दशकमै आप्रवासनको यही लहर चलिरहे यो सुनामीले आजको दिनका आकर्षक हैसियत निर्माण गरेका सहरहरूमा नै आजका गाउँहरूले भोगेको दृश्य दोहोरिनेछ।
यसविपरीत विश्व समाजमा नयाँ तरंग पैदा गरिरहेको यान्त्रिक बौद्धिकताले श्रमको क्षेत्रबाट मानवीय श्रमशक्तिलाई विस्थापित गरिदियो भने विश्वभरका श्रम बजारमा फिँजारिएका नेपालीहरू बाध्यकारी रूपमा पछि हट्न विवश हुनेछन्। विश्व श्रम बजारमा श्रमशक्ति बेच्ने अवसर छिनिएपछि विश्वभरका मानिसहरूमा परम्परागत कृषिको क्षेत्रमा केन्द्रित हुने नयाँ लहर आउनेछ। निश्चय नै विश्व श्रम बजारमा गएका नेपालीहरू भावनाको सन्दुकमा बसेर मीठो स्मृतिदंशका साथ कुत्कुत्याइरहने आफ्नै थातथलो खोज्दै फर्कने अवस्था आउन सक्नेछ। त्यसो भयो भने नेपाली ग्रामीण रस्तीबस्तीले फेरि गुल्जार हुने अवसर प्राप्त गर्नेछ।
उसै पनि आप्रवासन अर्थात् बसाइँसराइ एक जना व्यक्ति या एउटा परिवारका लागि त्यति सजिलो कुरा होइन। यसमा उनीहरू एउटा स्तरमा भावना, सम्बन्ध र अन्यौलहरूको अत्यन्तै जटिल मनस्थितिबाट गुज्रनु परिरहेको हुन्छ। आफ्ना पुर्खाको सालनाल गाडिएको र आफ्नै साल गाडिएको, आफ्ना आफन्त, मित्रमण्डली र परिचितहरूबाट अलग्गिएर नचिनेको, नजानेको भूगोलमा अज्ञात भविष्यको त्राससहित सुसाउँदै, अमिलिँदै अघि बढ्नु सोचेजति सरल र सहज विषय होइन नै।
आफू जन्मिएको, हुर्किएको र जीवनको एउटा कालखण्ड गुजारेको भूगोलसँग मानिसको भावना जोडिएको हुन्छ। एकपटक हिँडेको बाटो, एकाधझमट भेटेको मानिस त मनको सन्दुकको कुइनेटोमा सम्झनाको डाली बनेर फर्फराइरहेका हुन्छन् भने आफूले पालेका गाईबाख्रा, हुर्काएको बोटबिरूवा, चहारेको रनबन, भारापर्म गर्न हिँडेका दौंतरी, खनजोत गरेको खेतखलियानसँग भावनात्मक लगाव हुनु स्वाभाविकै छ।
गाउँ छाडेर सहरमा घर बनाए पनि गहिरिएर हेर्यो भने एक हल पखो बारी, एक फोगटो खेत र जराजीर्ण भए पनि एउटा घर मानिसले गाउँमा बेचबिखन नगरी राखिरहेको हुन्छ।
मैले कुराकानी गरेका कमसेकम दुई दर्जन मानिसले गाउँमा जायजेथा नबेची राख्नुको कारणबारे उनीहरूले भनेको साझा धारणा थियो – गाउँसँग पूर्ण रूपमा अलग हुनु भेट्नुबाट चुँडिएर पलापला खसिरहेको पातजस्तै हुनु हो। गाउँ हाम्रो जरा हो। त्यो जराबाट अलग हुन मन मान्दैन। खासमा यो एक किसिमको भावुक अर्थात् भावनात्मक लगाव हो। यो लगावबाट आफूलाई हमेसाका लागि बेदखल गर्नु सजिलो कुरा होइन।
आज नेपाल छाडेर विश्वभर फिँजारिएर उतैको नागरिकता लिए पनि नेपाली मूल परिचय भएका उनीहरू जन्मिएको देशबारे चिन्तन गरिबस्नुको कारण आफू जोडिएको जरासँगको भावनात्मक लगाव हो। कागजले जुन देशको परिचय जोडे पनि भावनात्मक जरा यतै छुटेको, जोडिएको हुन्छ। आफ्नो जरा जोडिएको, साल गाडिएको भूमि/देश तैबिसेक गतिलो भइदिए हुन्थ्यो भन्ने भावनात्मक लगावले भेट्नुबाट चुँडिएर बतासिँदै जहाँ पुगे पनि आफूले ज्यान भिरेको हाँगोको मायाबाट उनीहरूलाई अस्तित्व धान्न दिइएको नयाँ कागजातले टुटाउन सक्ने कुरै भएन।
यद्यपि भावना, संवेदना, आदर्शहरू बेग्लै कुरा हुन्। वर्तमानको कठोर यथार्थ सामना गर्न मानिस पलपल आफूलाई निचोर्दै सम्भावना र सहजताको खोजीका लागि भावनाको सारा कशा चुँडालेर आप्रवासनको राफिलो मार्गमा पाइताला घिसार्न अग्रसर छ। मनभित्रका तमाम चिच्याहट, आर्तनाद र पीडाहरूलाई मनभित्रै बाध्यताको छपनीले चेपाएर आफूले आफैलाई बाध्यताको दाम्लोमा बाँधेर विश्वका अनुकूल श्रम बजारमा बेच्न पुर्याएको छ, आगन्तुक आप्रवासीका रूपमा।
भावनालाई एकछिन थकान मेटाउन बसाएर मानव समाजको ऐतिहासिक 'ब्लूप्रिन्ट' को 'पोस्टमर्टम' गरी हेर्दा कुनै पनि भूगोलमा मानिसहरू आउनेजाने एउटा नियमित प्रक्रिया हो। सम्पूर्ण जीवहरूको अस्तित्व यही अज्ञेय कालदेखि जारी आप्रवासनको अभ्यासका कारण सम्भव भएको छ।
***