नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अहिले अहिले माओवादीहरुसँग बन्दुक नभएकाले प्रचार संयन्त्रमार्फत नै बुर्जुवाहरुसँगको लडाइँ लड्नुपर्ने बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिले आफूहरुसँग बन्दुक नरहेकाले प्रचारमार्फत नै बुर्जुवाहरुसँग लड्नुपर्ने बताएका हुन्।
उनले अहिले बन्दुक चलाएर अगाडि जाने परिस्थिति पनि नभएको बताए।
‘अहिले हामीसँग बन्दुक छैन । बन्दुक चलाएर अगाडि जाने परिस्थिति पनि होइन । त्यसकारण हामीसँग अब प्रचार संयन्त्रमार्फत नै हामीले बुर्जुवाहरुसँग लडाईं लड्नुपर्छ,' उनले भने।
उनले प्रचार संयन्त्रमार्फत नै वैदेशिक प्रतिक्रियावाद, देशभित्रका सबै यथास्थितिवादीसँग र प्रतिगामी षड्यन्त्रका बिरुद्ध लड्न आवश्यक रहेको बताए।
'त्यसैले यो क्षेत्रलाई पार्टीले उच्च प्राथमिकतामा राखेको छ । पार्टीको यो प्राथमिकतालाई ठिक ढंगले नै बुझ्नुभएको महसुस मैले गरेको छु,’ कार्यकर्ताहरूलाई प्रचण्डले भने।