नेकपा (माओवादी केन्द्र) विराटनगर महानगर कमिटीमा उपमहासचिव जनार्दन शर्मा समूहले प्यानलै जितेको छ।
चुनाव हुन नदिनकै लागि संस्थापन पक्षले एक साता अधिवेशनको बन्द सत्र स्थगित गरेको थियो।
महानगरको अधिवेशन उद्घाटनका लागि आएका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सहमतिमा नेतृत्व छान्न निर्देशन दिँदै गुटबन्दी नगर्न भनेका थिए। महानगरमा छानिएका ८१ सदस्यले पदाधिकारी छान्न शनिबार मतदान गरेका थिए।
निर्वाचन परिणाम अनुसार दिनेश राजवंशी देव ४६ मत ल्याएर अध्यक्षमा जितेका छन। प्रचण्ड पक्षबाट उम्मेदवार बनेकी नमिता न्यौपानेले ३५ मत मात्रै प्राप्त गरिन्।
उपाध्यक्षमा राजवंशी प्यानलकै सनोजकुमार यादव, धर्मलाल माझी, चन्द्रबहादुर वन सचिवमा सोनु केवट, सहसचिव दिनेशकुमार यादवले जितेका छन।
जनार्दन समूहका नेता शिवकुमार मण्डलले यो समूह जिताउन भूमिका खेलेका थिए भने प्रचण्ड पक्षलाइ जिताउन सांसद अमनलाल मोदी, जीवन आचार्य, कुलप्रसाद साम्बा लगायतका नेताहरु खटिएका थिए।
तर, मन्डल नेतृत्वमा रहेको जनार्दन समूहले विराटनगरमा बाजी मारेको हो।