अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व हेर्ने विशेष दूत स्टिभ विटकफले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन्।
शुक्रबार मस्कोमा राष्ट्रपति पुटिन र विटकफबीच झन्डै तीन घन्टा छलफल भएको हो।
दुई हप्तायता पुटिन र विटकफबीच भएको यो दोस्रो छलफल हो भने यो वर्षको चौथो भेट हो।
प्रत्येक भेटमा ट्रम्प र पुटिनबीच लामो छलफल हुन्छ। अघिल्लो छलफलमा उनीहरूबीच चार घन्टा कुराकानी भएको थियो।
शुक्रबार पनि तीन घन्टा कुराकानी भएको र छलफल सकारात्मक ढंगले अगाडि बढेको क्रेमलिनले जनाएको छ।
बैठकमै सहभागी भएका रूसी राष्ट्रपति पुटिनका विशेष सल्लाहकार युरी उशाकोवले छलफल रचनात्मक र सकारात्मक भएको प्रतिक्रिया दिएका छन्।
यद्यपि दुवै पक्षले के-कस्ता विषयमा छलफल भएको भन्ने खुलाएको छैन।
क्रेमलिनका प्रवक्ता दिमित्री पेशकोभले छलफल लामो भएको जानकारी दिएका छन् तर कहाँ पुग्यो भन्ने विषयमा केही बताएका छैनन्।
'विषय गम्भीर र जटिल छ। त्यसकारण लामो छलफल हुनु स्वाभाविक हो,' उनले रूसी समाचार संस्था ताससँग भनेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि छलफल सकारात्मक दिशामा अगाडि बढेको बताएका छन्। उनले छिट्टै निचोडमा पुगिने र सहमति हुनेमा पुनः विश्वास व्यक्त गरेका छन्।
रूसले यसअघि तीस दिनको अस्थायी युद्धविराम अस्वीकार गर्दै आएको थियो। उसले युक्रेनी रूसले कब्जा गरेको युक्रेनी भूभागहरु रूसकै हुने, युक्रेनको सैन्य क्षमतलाई सिमित बनाउने लगायतका मागहरू राखेको थियो।
पछिल्लो समय भने रूसले हालको नियन्त्रण रेखाको आधारमा सहमति गर्न तयार भएको भनेको थियो। यसलाई अमेरिकाले रूसले देखाएको अहिलेसम्मको लचकता भन्दै आएको छ।
क्राइमियाको विषयमा भने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सहमत छैनन्। उनले क्राइमियालाई युक्रेनेले रूसी भूभागको भनेर नचिन्ने भनेपछि ट्रम्पले रिसाएर युक्रेनले चिनिदिइरहनुपर्दैन भनेका थिए।
जेलेन्स्कीलाई उक्त भूभाग रूसले ११ वर्षअघि नै लैजाँदा त्यतिबेला किन नलडेको भनेर प्रश्न समेत गरेका थिए।
शान्ति स्थापनाको प्रयास भइरहँदा रूसले युक्रेनको राजधानीमै आक्रमण गर्दा १२ जनाको मृत्यु भएको थियो। यो घटनापछि ट्रम्पले पुटिनलाई आक्रमण रोक्न आग्रह गरेका थिए।
शुक्रबार भएको छलफल निष्कर्षमा भने पुगेको होइन। अझै छलफल र संवाद जारी रहने भनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।