पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले जम्मू-कास्मिरको पहलगाम घटनाको निष्पक्ष छानबिनमा सहयोग गर्न तयार रहेको बताएका छन्।
गत मंगलबार भारतको पहलगामस्थित पर्यटकीय क्षेत्रमा आतंकवादी समूहले २६ जनाको हत्या गरेको थियो। उक्त घटनापछि भारत र पाकिस्तानको सम्बन्ध बिग्रिएको छ।
यसैबीच शनिबार प्रधानमन्त्री शरीफले काकुलस्थित पाकिस्तानी सैनिक एकेडेमीको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै छानबिनमा सघाउन तयार भएको बताएको पाकिस्तानी समाचारपत्र डनले जनाएको छ।-
‘पहलगाममा भएको हमलापछि भारतले निराधार आरोप लगाएको छ, तर यो रोकिनुपर्छ। हामी यस मामिलामा निष्पक्ष जाँचमा जस्तोसुकै सहयोग गर्न तयार छौं,’ उनले भने।
यद्यपि आफ्ना सैनिकहरू आफ्नो सार्वभौमसत्ताको रक्षा गर्नका लागि सक्षम र तयार रहेको पनि उनले बताए।
पहलगाममा भएको हमलाको जिम्मा द रेसिस्टेन्ट फ्रन्ट (टिआरएफ)ले लिएको छ। टिआरएफलाई पाकिस्तानको सैन्य र गुप्तचर निकायले समर्थन गरेको आरोप छ। भारत-पाकिस्तानबीच बढ्दो तनावबीच संयुक्त राष्ट्रसंघले दुवै देशलाई अधिकतम संयम अपनाउन र वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेको छ।
पाकिस्तानले आफ्नो आकाशमा भारतीय जहाजलाई प्रतिबन्ध समेत लगाएको छ।
यो पनि: पाकिस्तानी आकाशमा भारतीय जहाजलाई प्रतिबन्ध