पाकिस्तानले आफ्नो आकाशमा भारतीय जहाजलाई प्रतिबन्ध लगाएको छ।
मंगलबार भारतप्रशासित जम्मू-कश्मिरको पहलगाममा २६ जनाको मृत्यु हुनेगरी भएको आतंकवादी हमलापश्चात दुई देशबीच बढ्दै गएको तनावकाबीच पाकिस्तानले भारतीय जहाजलाई आफ्नो आकाशमा उडान प्रतिबन्ध लगाएको हो।
पाकिस्तानको यो निर्णय भारतले सिन्धु जलसम्झौता निलम्बनको निर्णयपछि आएको हो।
पहलगाम घटनाको समयमा युएई भ्रमणमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमण छोट्याएर फर्किएको भोलिपल्ट सुरक्षा क्याबिनेट बैठक बोलाएर सिन्धु जलसम्झौता तत्कालका लागि निलम्बन गर्ने लगायतका पाँच निर्णय गरेका थिए।
त्यसको जबाफमा बिहीबार पाकिस्तानले पनि सिमला सम्झौता, भारतसँगको सबै द्वीपक्षीय सम्झौता र व्यापारसमेत तत्कालका लागि रोक्ने निर्णय गरेको थियो।
त्यस्तै भारतीय जहाजहरुलाई पाकिस्तानी आकाश उपयोग गर्न प्रतिबन्ध लगाइने निर्णय पनि सोही दिन भएको थियो।
यसबाट भारतको ठूला एयरलाइन्सहरू एयर इन्डिया र इन्डिगो प्रभावित हुनेछन्। बिहीबार पाकिस्तानले त्यो निर्णय लिँदा दुई एयरलाइन्सका केही जहाजहरू पाकिस्तानकै आकाशमा थिए।
निर्णय सार्वजनिक भएपछि जहाज डाइभर्ट गरेर पुनः भारत फर्काइएको थियो भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
पाकिस्तानले भारतीय जहाजहरूलाई आफ्नो आकाश प्रयोग गर्न नदिने भएपछि यी जहाजका अन्तर्राष्ट्रिय उडानहरू अब लामो दूरी भएर जानुपर्ने भएको छ। जसले विमानको खर्च बढ्ने र उडान समय लम्बिने भएको छ।
विशेषगरी नयाँ दिल्लीबाट युरोप, मध्यपूर्व र उत्तर अमेरिकी मुलुकहरूको उडानमा भारतीय जहाजहरूले पाकिस्तानको आकाश प्रयोग गर्थे। पाकिस्तानको कदमपछि एयर इन्डिया र इन्डिगोले न्युयोर्क, अजरबैजान र दुबईजस्ता गन्तव्यमा लामो हवाइ मार्ग प्रयोग गर्न थालिसकेका छन्।
इन्डिगोको दिल्ली-बाकु उडान बुधबार पाकिस्तानी आकाश प्रयोग गरी जाँदा ५ घन्टा पाँच मिनेटमा गन्तव्यमा पुगेको थियो। बिहीबार भने सोही गन्तव्यमा पुग्न ५ घन्टा ४३ मिनेट लागेको रोयटर्सले जनाएको छ।
यसले इन्धन खर्च बढ्ने र कार्गो ढुवानी घट्ने बताइएको छ। इन्धनले मात्रै एयरलाइन्सको खर्चको ३० प्रतिशत हिस्सा ओगट्छ।
त्यति मात्रै होइन चालक दलका सदस्यहरूका कार्यतालिका पनि परिवर्तन गर्नुपर्ने र उडानको समय बढी भएपछि स्वाभाविक रूपमा उनीहरूको तलब भत्तामा फेरबदल गर्नुपर्ने अवस्था आउँछ।
अन्य देशबाट भारत आवतजावत गर्ने जहाजहरूलाई भने प्रतिबन्ध नलगाइएको बताइएको छ। भारतीय जहाजहरूको हकमा भने कम्तिमा मे महिनाको २३ तारिखसम्म प्रतिबन्ध कायम रहनेछ।
यसअघि सन् २०१९ मा पनि पाकिस्तानले भारतीय जहाजलाई आफ्नो आकाशमा प्रतिबन्ध लगाएको थियो। त्यतिबेला भारतीय एयरलाइन्सहरूलाई झन्डै ६४ मिलियन डलर नोक्सानी ब्यहोरेको भनेर रोयटर्सले लेखेको छ।
भारत र पाकिस्तान सरकारले एक अर्काविरूद्ध प्रतिबन्ध लगाउँदै गर्दा सिमानामा दुई देशका सैनिकहरूबीच गोली हानाहान भइरहेका छन्।
जम्मू-कश्मिरको नियन्त्रण रेखा (एलओसी)मा भारतीय र पाकिस्तानी सेनाबीच बिहीबार रातिदेखि नै गोली हानाहान भएको हो।
दुई सेनाबीच शुक्रबार रातभरि पनि गोली हानाहान भएको भनेर भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
गोली हानाहानमा दुवै पक्षबाट हताहती भएको विवरण सार्वजनिक भएको छैन।
भारतले मंगलबारको आतंकवादी हमलामा पाकिस्तानको हात रहेको दाबी गर्दै आएको छ। उसको त्यो आरोप पाकिस्तानले इन्कार गरिरहेको छ।
मंगलबारको आक्रमणको जिम्मा द रेसिस्टेन्ट फ्रन्ट (टिआरएफ)ले लिएको छ। टिआरएफलाई पाकिस्तानको सैन्य र गुप्तचर निकायले समर्थन गरेको आरोप छ।
भारत-पाकिस्तानबीच बढ्दो तनावबीच संयुक्त राष्ट्रसंघले दुवै देशलाई अधिकतम संयम अपनाउन र वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेको छ।