जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक वीरेन्द्रप्रसाद महतोले बजेट ल्याउँदा जसको हात, उसैको जगन्नाथ नहोस् भनेर टिप्पणी गरेका छन्।
शुक्रबारको प्रतिनिधिसभाको बजेट अधिवेशनलाई सम्बोधन गर्दै उनले यसवर्ष बजेटले रोजगारीको अवसर सिर्जना गर्न सक्नुपर्ने बताए।
कृषिमा आधारित ठूलो जनशक्तिलाई लाभ हुनेगरी बजेट ल्याउन र शक्तिको आधारमा बजेटको दुरूपयोग नहोस भन्ने पनि महतोको आग्रह छ।
‘जसको हात, उसैको जगन्नाथ नहोस्। राजश्व संकलनको लक्ष्य भेटाउन सकेको छैन। त्यसतर्फ सरकारले ध्यान दिओस्,’ उनले भने।
उनले अर्थतन्त्रलाई चलायमान बनाउन पनि सरकारले नीतिगत हस्तक्षेप बढाउनुपर्ने सुझाव दिएका छन्।
साथै, पूर्व अर्थसचिव रामेश्वर खनाल नेतृत्वको आयोगले बुझाएको प्रतिवेदनलाई महत्व दिन पनि उनको आग्रह छ।
‘सरकारले अर्थतन्त्रलाई चलायमान बनाउनको लागि नीतिगत हस्तक्षेप बढाउनैपर्छ। हालै अर्थविद् रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सुझाव सहितको प्रतिवेदन सरकारलाई बुझाएको छ। त्यसप्रति पनि सरकारको ध्यान जाओस्,’ उनले भने।