नेपालकै सात हजार मिटरभन्दा अग्लो हिमाल आरोहण गरेको व्यक्तिले मात्र सगरमाथा आरोहणको अनुमति पाउने गरी सरकारले पर्यटन विधेयक संसदमा दर्ता गराएको छ।
आरोहीको लामो लाइन लागेपछि केही समययता विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न हिमाल आरोहणको अनुभव अनिवार्य गर्नुपर्ने माग उठ्दै आएको छ।
हालको पर्यटन ऐन र नियमावलीमा भने सगरमाथा आरोहणका लागि आवश्यक अनुभवको विषयमा केही उल्लेख छैन।
‘सगरमाथा चढ्न केही अनुभव चाहिन्छ भन्ने तर्क उठ्ने गरेको छ,’ पर्यटन विभागका निर्देशक हिमाल गौतमले सेतोपाटीसँग भने, ‘नयाँ विधेयकमा ७ हजार मिटरको हिमाल चढेको व्यक्तिले मात्र सगरमाथा चढ्न पाउने प्रस्ताव गरिएको छ। त्यसो गर्दा नेपालका अन्य हिमालहरू पनि प्रमोट हुन्छ।’
आरोहीले ८ हजार मिटर माथिका अग्ला हिमाल मात्र आरोहणका लागि रोज्न थालेपछि त्यो भन्दा कम उचाइँको हिमालमा आरोही बढाउन सरकारले यस्तो नीति लिएको हो।
‘सरकारले नयाँ हिमालहरूमा पनि आरोहण खुला गरेको छ। तर आरोहीको चासो कम छ,’ गौतमले भने, ‘अब नेपालका थप हिमालहरूको पनि प्रमोट हुन्छ।’
सगरमाथा आरोहण गराउने पायोनियर कम्पनी सेभेन समिट ट्रेकका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईंले अहिले सगरमाथा आरोहणका लागि कुनै अनुभव नतोकिको बताए।
‘बेला बखत ६ हजारदेखि ७ हजार मिटर उचाइँको हिमाल चढेको हुनुपर्छ भन्ने बहस हुने गरेको छ। तर कानुनी रूपमा यस्तो कुनै प्रावधान छैन,’ गुरागाईंले भने, ‘हामीले हिमाल चढ्न चाहने व्यक्तिलाई तालिम गराउने गरेका छौं। यदि कोही ‘बेस्ट एथलेट’ छ भने मात्र अवसर दिन्छौं।’
राष्ट्रिय सभामा दर्ता भएको पर्यटन विधेयक २०८१ । विधेयकले हिमाल आरोहण गर्न जाने व्यक्तिको स्वास्थ्य परीक्षण प्रमाणपत्र सन्तोषजनक नदेखिए त्यस्तो व्यक्तिलाई पर्वतारोहण गर्ने वा पर्वतारोहण दलसँग जाने अनुमति नदिने व्यवस्था गरेको छ। आरोहणमा जाने व्यक्तिलाई पछिल्लो एक महिना भित्रको स्वास्थ्य परीक्षण प्रमाणपत्र अनिवार्य गरिने भएको छ।
राष्ट्रिय सभामा दर्ता भएको विधेयकले हिमाल आरोहण गर्ने दलले विभागबाट अनुमति प्राप्त भन्दा फरक बाटो हिँड्न नपाउने व्यवस्था गरेको छ। कसैले अर्को मार्ग प्रयोग गर्नु परेमा त्यसका लागि पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ।