अवैध रूपमा नेपाल प्रवेश गरेको अभियोगमा चैत १६ देखि थुनामा रहेका चार जना भुटानी शरणार्थी युवा शुक्रबार थुनामुक्त भएका छन्।
सर्वोच्च अदालतको बिहीबारको आदेश अनुसार अध्यागमन विभागले उनीहरूलाई झापा पठाएको छ।
‘आज साढे तीन बजेको फ्लाइटबाट प्रहरीको साथ लगाएर झापा पठाएका छौँ,’ अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालले भने, ‘उहाँहरूलाई आजै अधिकारवादीको रोहबरमा शरणार्थी शिविरमा पुर्याइनेछ।’
ढकालका अनुसार आशिष सुवेदी, सन्तोष दर्जी र अशोक गुरुङले दमकको बेलडाँगी शिविरमा बस्ने इच्छा गरेका छन् भने रोशन तामाङ मोरङको पथरी शनिश्चरे शिविरमा बस्नेछन्। उनीहरूकै सहजता अनुसार बस्ने सुविधा दिइएको उनले जानकारी दिए।
बेलडाँगीमा रहने तीन जनाले दमक नगरपालिका भरी मात्रै हिँड्डुल गर्न पाउनेछन् भने पथरीमा बस्नेले पथरी शनिश्चरे नगरपालिका भरी आवातजावत गर्न पाउनेछन्।
सर्वोच्चले ‘स्थान हद’ तोक्न भने अनुसार यसो गरिएको हो। शिविरमा रहँदा बस्दा यी चारै जना शरणार्थीले हरेक सात दिनमा नजिकको प्रहरी कार्यालयमा गएर भौतिक रूपमै उपस्थित हुनुपर्नेछ।
२८ दिनदेखि नेपाल प्रहरीको थुनामा रहेका भुटानी शरणार्थी युवाहरुलाई थुनामुक्त गर्न माग गर्दै आशिष सुवेदीका बुवा नारायणकुमार सुवेदीले बुधबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
बिहीबार न्यायाधीशहरू बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले शरणार्थीहरूलाई स्थान हद तोकेर प्रहरी कार्यालयबाट स्थानान्तरण गर्न र ६० दिन भित्र अनुसन्धान सक्न आदेश दिएको थियो।
चैत १५ मा अमेरिकाले डिपोर्ट गरेर भुटान पुर्याएका १२ जना शरणार्थीलाई भुटानले नेपालतिरै पठाइदिएको थियो। कागजात खोसेर भुटानले नेपाल पठाएका उनीहरू अवैध रूपमा नेपाल प्रवेश गरेको अभियोगमा थुनामा थिए।
अमेरिकाले डिपोर्ट गरेर भुटानलाई जिम्मा लगाएका थप पाँच जना शरणार्थी पनि भुटानबाट लखेटिएका छन्। उनीहरू पनि लुकेर नेपालमै बसिरहेका छन्।
अमेरिकाले आपराधिक गतिविधिमा संलग्न भन्दै ६३ जना भुटानी शरणार्थी डिपोर्ट गर्ने सूची बनाएको छ।
तीमध्ये यसअघि नै डिपोर्ट गरेका १३ जना र थप ५ गरी अहिलेसम्म १८ जना शरणार्थी भुटान सरकारलाई बुझाइसकेको छ। अमेरिकासँग आफ्नै नागरिक भन्दै जिम्मा बुझ्ने भुटान सरकारले ती १८ जनालाई भुटानबाट फकाएर र धम्क्याएर फेरि देश निकाला गरिसकेको छ।