शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले नेपाल शिक्षक महासंघसँग वार्ताका लागि आफू पर्खिरहेको बताएका छन्।
शिक्षक महासंघले भने वार्ता टोलीलाई सिंहदरबारको दक्षिणी गेटमा प्रहरीले रोकेको बताएका छन्।
‘प्रहरीले रोकेको खबर पाएपछि मैले पिएसओ र सहसचिव कृष्णप्रसाद काफ्लेलाई पठाएको छु’, शिक्षा मन्त्री पन्तले सेतोपाटीसँग भने, ‘प्रहरीले रोकेको भए गाडीमा राखेर भित्र ल्याउनुस् भनेको छु।’
शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले मन्त्रीसँग वार्ता गर्न जान लागेको टोली शिक्षक महासंघले तयार नपारेको बताएका छन्।
‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली नेपाल शिक्षक महासंघले तयार नगरेको ब्यहोरा जानकारी गराउँछौं’, सुवेदीले फेसबुकमा लेखेका छन्, ‘वैशाख १२ गते नवनियुक्त मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौं तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं।’
मन्त्री पन्तले भने आफूले शिक्षकका मागबारे सबैसँग कुराकानी गर्ने बताए।
‘वार्ताका लागि सरकार खुला छ। जो-जो सँग कुरा गर्नुपर्छ गर्ने हो’, पन्तले भने, ‘अदालतको पनि आदेश आइसकेको छ। त्यसलाई पनि सम्मान गर्नुपर्यो। मैले आफ्नो तर्फबाट प्रयत्न जारी राख्छु।’
विद्यालय शिक्षा ऐन जारीको माग गर्दै चैत २० गतेदेखि शिक्षकहरू काठमाडौंकेन्द्रित आन्दोलनमा छन्।
शिक्षा मन्त्रालयले नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित २५ जनालाई वार्ताका लागि सिंहदरबार आउनुपर्ने भएकोले गेटमा समन्वयका लागि आग्रहसमेत गरेको थियो।
