नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरले वीरहरूले बलिदानी दिएर प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रलाई सिध्याइदिन्छु भन्ने दुस्साहस नगर्न राजावादीहरूलाई चेतावनी दिएका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै प्रमुख सचेतक घिमिरेले यस्तो चेतावनी दिउका हुन्।
विभिन्न प्रलोभनमा दुई/चार हजार मान्छे जम्मा पारेर तोडफोड, आगजनी र लुटपाट गर्दैमा व्यवस्था नपल्टिने उनको भनाइ छ। यदि कसैले तोडफोड, लुटपात र आगजनी गर्दैमा व्यवस्था पल्टाइदिने कुरा गर्छ भने त्यो जत्तिको अराजनीतिक मान्छे अरू कोही नहुने उनको जिकिर छ।
उनले अराजनीतिक मान्छेबाट व्यवस्थालाई कुनै पनि चुनौती नरहेको समेत बताए।
उनले भने, ‘आज एकाएक समाजमा जन्मिएका नेपाली समाजले पत्याउन पनि नसकेको एउटा झुण्डले यो देशमा बलिदानी वीरहरूले लोकतान्त्रिक गणतन्त्रलाई मिति तोकेरै सिध्याइदिन्छु भन्ने दुस्साहस नगरे पनि हुन्छ। आन्दोलन गर्ने विषय कति कठिन छ त्यो त गरेकाहरूलाई नै थाहा छ। बच्चा जन्माउनुको पीडा बच्चा जन्माएकी आमालाई मात्रै थाहा हुन्छ। चैत १५ गते झैं विभिन्न प्रलोभनमा दुई/चार हजार मान्छे जम्मा पारेर तोडफोड, आगजनी र लुटपाट गर्दैमा कसैले व्यवस्था पल्टाइदिन्छु भन्छ भने त्यो जति अराजनीतिक मान्छे कोही पनि हुँदैन। यस्ता अराजनीतिक मानिसहरूबाट यो व्यवस्थालाई कुनै चुनौती हुन सक्दैन। त्यसकारण लोकतन्त्र कुनै वाद, व्यवस्थाभन्दा पनि जीवनपद्धति र संस्कार हो। त्यसकारण यति धेरै अधिकारसहितको जीवनपद्धति अंगालिसकेको नेपाली जनतालाई केही समय र केही संख्यालाई भ्रममा राख्न सकिएला। तर नेपाली जनतलाई सकिन्न भन्ने कुरा बुझ्न म आग्रह गर्न चाहन्छु।’
उनले नेपाली कांग्रेस स्थिरताको पक्षमा दृढतापूर्वक उभिने पक्षमा रहेको बताए।
अहिले सरकार ढल्ने भनेर भइरहेको चर्चामा कुनै सत्यता नरहेको उनको जिकिर छ। —न्युज एजेन्सी नेपाल