सत्तारूढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले ऋणभार बढ्दैमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताएका छन्।
शुक्रबारदेखि प्रतिनिधि सभा बैठकमा बोल्दै घिमिरेले जिडिपीको ४०/४२ प्रतिशत ऋणभार हुँदैमा आँत्तिहाल्नुपर्ने अवस्था नरहने बताएका हुन्।
'तर त्यो ऋण प्रतिफलयुक्त परियोजनामा कति खर्च भयो भएन चाहीँ महत्त्वपूर्ण हुन्छ। अन्तर्राष्ट्रिय लगानी नबढाइ हामीले समृद्धि हासिल गर्न सक्दैनौं,' उनले भने।
घिमिरेले स्रोत व्यवस्थापनका क्रममा लागेको खर्चलाई ऋण नभई लगानी सम्झनुपर्ने पनि बताए।
'मुलुक बनाउनका लागि स्रोत व्यवस्थापन गर्नैपर्छ। स्रोत व्यवस्थापका क्रममा लागेका ऋणलाई खर्च नभई लगानी सम्झिन उचित हुनेछ,' उनले भने, ' सही ढंगले स्पष्ट मार्गचित्रका साथ मुलुकलाई अगाडि बढाउन सके सम्पन्नता खोज्न अर्को मुलुक रोज्न पर्दैन।'
प्रमुख सचेतक घिमिरेले शान्ति प्रक्रियाको २० वर्षमा मुलुकमा केही नभएको भन्ने भाष्य र तर्क गलत रहेको बताए।
उनले यसलाई जिडिपीमा मारेको फड्को, प्रतिव्यक्ति आम्दानी, सरदर आयु, साक्षरता प्रतिशत, बाल मृत्युदर, मातृ मृत्युदरमा उल्लेखनीय प्रगतिले प्रमाणीत गर्ने बताए।
त्यस्तै सडक सञ्जालले ७७ वटै जिल्लालाई जोडिएको र ९८ प्रतिशत नागरिकको घरमा बिजुली पुगेका लगायत आर्थिक र सामाजिक रूपमा भएका विभिन्न परिवर्तनहरूले शान्ति प्रक्रिया यता केही पनि काम नभएको भन्ने भाष्यलाई गलत साबित गर्ने उनले बताएका हुन्।