तीन प्रमुख दलका शीर्ष नेताहरूको बैठक सुरू भएको छ।
शनिबार अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरू छलफलमा जुटेका हुन्।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहभागी छन्।
त्यस्तै गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नी खरेल पनि बैठकमा सहभागी छन्।
बैठकमा संक्रमणकालीन न्यायलाई टुंग्याउने विषयमा छलफल हुने प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।
संक्रमणकालीन न्यायसम्बन्धी कानुन बने पनि कार्यान्वयनका लागि आवश्यक सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग बन्न सकेको छैन।
संक्रमणकालीन न्यायसँग सम्बन्धित दुवै आयोगमा पदाधिकारी नियुक्ति सिफारिसका लागि सर्च कमिटीसमेत गठन भएको थियो।
उक्त कमिटीले पदाधिकारी सिफारिस नगरी समय गुजारेको थियो।
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको त्यस समितिले आवेदन आह्वान गर्ने, सूची बनाउने र आवेदकहरूसँग अन्तर्वार्ता गर्ने लगायतका प्रक्रिया पूरा गरे पनि नियुक्तिका लागि नाम सिफारिस गरेन।
पछि पुनः ओमप्रकाश मिश्रकै सोही सर्च कमिटीलाई नै पदाधिकारी र सदस्य छान्ने जिम्मेवारी दिइएको छ।
प्रधानमन्त्री ओलीले अग्नि खरेललाई संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार नियुक्त गरेपछि उनले शीर्ष नेताहरूसँग छलफल थालेका थिए।
दुवै आयोगका पदाधिकारी नियुक्तिलगायत अड्किएका विषय टुंग्याउने गरी शीर्ष नेता छलफलमा जुटेका हुन्।