पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे संसदीय छानबिन उपसमितिको प्रतिवेदन कार्यान्वयन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश समितिले ध्यानाकर्षण गराएको छ।
रास्वपा गण्डकी प्रदेश समितिले नागरिक उड्डयन कार्यालय पोखरामार्फत् नागरिक उड्डयन प्राधिकरण र सार्वजनिक लेखा समितिलाई ज्ञापन पत्र पठाएको हो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्यता अध्ययनदेखि निर्माण सम्पन्न हुँदासम्म नीतिगत, प्रक्रियागत र कार्यान्वयनमा संलग्न निर्णयकर्ता पदाधिकारीमाथि छानबिन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको बताउँदै रास्वपाले त्यसउपर कारबाही प्रक्रिया अघि बढाउन ध्यानाकर्षण गराएको हो।
‘यसका साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अवधिका विभिन्न निर्णय प्रक्रियामा संलग्न राजनीतिक नेतृत्वहरूलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने देखिएको हुँदा तत्कालीन अवस्थाका निर्णय प्रक्रिया र कार्यान्वयनको तहमा रहेका राजनीतिक नेतृत्वहरूलाई समेत छानबिनको दायरामा ल्याउन संसदको चौथौ ठूलो दलको हैसियतमा जोडदार माग गर्दछौं,’ ज्ञापनपत्रमा भनिएको छ।
सार्वजनिक खरिद ऐनविपरीत थप लागतमा ठेक्का स्वीकृत गरिएको, मूल सम्झौताविपरीत कर छुट दिनका लागि नयाँ सम्झौता गरिएको, रिठ्ठे डाँडा कटान, एसी जडान, रनवे, ट्याक्सी वे, बाँध तथा नाली निर्माणका क्रममा अनियमितता देखिएको सन्दर्भमा छानबिन उपसमितिको प्रतिवेदन तत्काल अघि बढाउन पनि रास्वपाले ध्यानाकर्षण गराएको छ।
‘दोषी उपर कारबाहीको लागि आवश्यक प्रक्रिया सुरूआत गर्न माग गर्दछौं। अन्यथा जनताको विश्वासीलो शक्तिको आधारमा सडक र सदनबाट यस विषयलाई कार्यान्वयनका लागि थप दबाबका कार्यक्रम गरिने जानकारी गराउँदछौं,’ रास्वपाले भनेको छ।